युक्रेनमा आक्रमणको विरोध गर्दै देश छाडेका रुसीहरुको बिचल्ली, अमेरिकाले शरण दिएन

डिसी नेपाल
६ चैत २०७८ १५:३४
1.9k
Shares

काठमाडौं। युक्रेनमा आक्रमणको विरोध गर्दै आफ्नै देशको सरकारविरुद्ध उभिएका रुसी नागरिक ‘घरको न घाटको’ भएका छन् । आफ्नै सरकारको विरोध गरेका कारण उनीहरुले आफ्नो देश रुस छोड्नुपर्यो । अहिले उनीहरुलाई अरु देशले पनि शरण दिइरहेका छैनन् ।

यो पीडा ती ४० रुसी परिवारको हो जो विगत २ हप्तादेखि मेक्सिको सीमाबाट अमेरिका प्रवेशका लागि पर्खेर बसिरहेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले युद्धका कारण देशबाट भागेका युक्रेनी शरणार्थीहरुका लागि आफ्नो ढोका खुला राखेको छ तर यी युक्रेनीहरुको अधिकारको लागि आवाज उठाउने रुसी नागरिकहरुको लागि भने अमेरिकाले प्रवेश निषेध गरिरहेको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि मस्कोकी गणित शिक्षिका इरिना जोलकिनाले २४ फेबुअरीमा युद्ध विरोधी प्रदर्शनमा भाग लिएकी थिइन् । यसको परिणामस्वरुप उनलाई गिरफ्तार गरियो । केही घण्टापछि उनलाई छोडियो तर हिरासतमा उनलाई यति डर देखाइएको थियो कि उनले आफ्ना ४ छोराछोरी र छोरीका ब्वायफ्रेण्डको साथमा रुस नै छोडिन् ।

उनी उज्वेकिस्तानको तास्कंद र टर्कीको इस्तानबुल हुँदै अमेरिकाको क्यालिफोर्नियाको साड डिएकोको पारिपट्टि रहेको मेक्सिकोको सीमावर्ती सहर तिजुआना पुगिन् । आँखाभरी आँसु लिएर इरिनाले रोयटर्ससँग भनिन् ‘यो निकै डरलाग्दो छ । युक्रेनी नागरिकलाई भित्र जान दिइएको छ । हामीलाई प्रतिक्षा गर्न भनिएको छ ।’

संयुक्त राष्ट्रसंघका अनुसार युक्रेनबाट ३० लाखभन्दा धेरै मानिस शरणार्थीको रुपमा अर्को देश गइसकेका छन् । यीमध्ये धेरैजसोले युक्रेनसँग जोडिएका देशमा शरण लिएका छन् । कैयौं हजार रुसी नागरिकले पनि आफ्नो देश छोडेका छन् । केही युक्रेनी नागरिक तिजुआना बोर्डरबाट अमेरिका पनि पुगेका छन् । उनीहरुलाई एक वर्षसम्म अमेरिकामा बस्नको लागि भिसा दिइएको छ । तर, रुसी नागरिकले यो राहत पाएका छैनन् ।

अमेरिकाका होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्द्रो मायोरकासले भने ‘सरकारले युक्रेनबाट भागेका मानिसहरुलाई सहयोग गरिरहेको छ । मानवीय सहायतालाई अरुसम्म बढाउनको लागि अन्य योजनामा पनि विचार भइरहेको छ ।’ मेक्सिको सीमामा पुगेका रुसीहरु खुला आकाशमुनि अमेरिकाको सीमा पर्खालमा आड लगाएर चिसो रातहरु बिताइरहेका छन् । उनीहरु अमेरिकी अधिकारीहरुले आफ्नो संरक्षणको अपिल सुन्ने आशामा त्यहाँ छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *