पर्यटन प्रवद्र्धनका लागि कञ्चजङ्घादेखि हिल्सासम्मको एकल साइकल यात्रा

डिसी नेपाल
६ चैत २०७८ २३:००

काठमाडौं । नेपालको साहसिक पर्यटन प्रर्वद्धनका लागि नेपाली साइक्लिस्ट मङ्गलकुमार लामाले पूर्वको कञ्चनजङ्घादेखि सुदूरपश्चिमको सिमिकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् । साइकल यात्रामा निस्कन लागेका लामालाई आइतबार पर्यटन बोर्डमा आयोजित कार्यक्रमका बीच बिदाई गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रर्वद्धन र जिएचटी अन ह्वीलको आयोजनामा हुन लागेको यो यात्रा एक हजार ७०० किलोमिटर लामो रहेको छ । यात्री लामालाई विभिन्न सङ्घसंस्थाहरूको पनि सहयोग रहेको छ ।

लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहले नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै लामाको साइकल यात्राले नेपालको साहसिक पर्यटनमा थप टेवा पुग्ने बताए । उनले साहसिक पर्यटन प्रर्वद्धनका लागि प्रदेश सरकार सधैँ सकारात्मक रहेको समेत बताए । यस्तै बोर्डका उपाध्यक्ष चन्द्र रिजालले साहसिक पर्यटन नेपालको पहिचान भएको बताउँदै बोर्डले सीमित स्रोत साधनका बीच काम समग्र पर्यटन प्रवद्र्धनको काम गरेको जानकारी दिए । बोर्डका निर्देशक मणिराज लामिछानेले साहसिक पर्यटन प्रवद्र्धनका लागि बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै यो रुटलाई नयाँ प्रडक्टका रूपमा प्रवद्र्धन गर्न र साहसिक पर्यटनमा सहभागीलाई बोर्डले सक्दो सहयोग गर्ने आश्वासन दिए। बोर्डका प्रबन्धक अर्चना केसी राणाले यस प्रकारका कार्यक्रमले नेपाली पर्यटनमा नयाँ आयाम थप्ने बताइन् ।

साइक्लिस्ट मङ्गलकुमार लामाले आफ्नो पहिचानभन्दा पनि देशको पहिचानको लागि आफूले कठिन र जोखिमपूर्ण यात्रामा निस्कन लागेको बताउँदै यस प्रकारका कार्यक्रममा बोर्डसहित अन्य सरकारी निकायको सहयोग आवश्यक रहेको बताए । लामाले चैत्र १८ अर्थात् अप्रिल १ तारिखदेखि कञ्चनजङ्घाबाट साइकल यात्रा सुरु गर्ने र सो यात्रा ६० देखि ७० दिनसम्मको हुने आयोजकले जानकारी दिएको छ । लामा व्यावसायिक माउण्टेन बाइकर हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *