अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको सीमाछेउ जाने
काठमाडौं। रुस र युक्रेनको युद्धका बीच अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको सीमाछेउ जाने भएका छन् । ह्वाइट हाउसले गरेको घोषणाअनुसार नेटो र युरोपेली संघका सहयोगीहरुसँगको बैठकपछि बाइडेन शुक्रबार पोल्याण्डको भ्रमणमा जाने भएका छन् । पोल्याण्ड युक्रेनको सीमाछेउको देश हो जहाँ युक्रेनबाट भागेका सबैभन्दा धेरै शरणार्थीहरुले शरण लिएका छन् ।
बाइडेनले युक्रेनमा जारी युद्धको लागि मानवीय प्रतिक्रियाका विषयमा चर्चा गर्नको लागि वार्सामा पोल्याण्डका राष्ट्रपति आन्द्रेजेज डूडासँग भेटघाट गर्नेछन् । ह्वाइट हाउसले जारी गरेको बयानमा भनिएको छ ‘राष्ट्रपति बाइडेनले यो विषयमा चर्चा गर्नुहुनेछ कि अमेरिका आफ्ना सहयोगीहरु र भागीदारहरुको साथमा रुसको आक्रमणका कारण युक्रेनमा उत्पन्न भएको मानवीय र मानवअधिकार संकटमा कसरी प्रतिक्रिया दिइरहेको छ ।
सोमबार बाइडेनले फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटलीका प्रधानमन्त्री मारियो ड्रेगी र बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग फोनमा कुराकानी गर्दैछन् । बुधबार बाइडेन नेटो र युरोपेली परिषदको शिखर सम्मेलनमा भाग लिनको लागि ब्रसेल्स जाँदैछन् । साथमा उनी जी सेभेनको बैठकमा पनि सहभागी हुनेछन् । ह्वाइट हाउसकी प्रवक्ताका अनुसार यो भ्रमणमा बाइडेनको युक्रेन जाने कुनै योजना भने छैन ।







डिसी नेपाल







Facebook Comment