पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान पुर्‍याउनुपर्छ : राष्ट्रपति भण्डारी

डिसी नेपाल
८ चैत २०७८ ७:५१
52
Shares

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान पुर्‍याउनु पर्ने बताएकी छन्।

विश्व पानी दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘पानी र प्रकृतिसँग प्राणी जगत्को अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो। प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए। वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ।’

भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा रहेकाे उल्लेख गर्दै भण्डारीले भनेकी छन्, ‘जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ।’

‘भूमिगत जलस्रोतको महत्व बुझौँ, सबै मिली संरक्षण गरौँ’ भन्ने राष्ट्रिय संकल्पका साथ सरकारले पानी दिवस मनाउँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई पानी दिवसका रूपमा मनाइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *