के जेलेन्स्कीले पश्चिमी देशलाई शत्रु ठान्छन् ? जी–७ बैठकअघि भने ‘मित्र र शत्रु अब चिनिन्छन्’

डिसी नेपाल
१० चैत २०७८ ११:५२

काठमाडौं। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी देशहरुलाई चेतावनी दिँदै छिटै आफ्ना मित्र र शत्रुहरुको पहिचान हुने बताएका छन् । बुधबार अबेर राती जारी गरेको भिडियो सम्बोधनमा जेलेन्स्कीले बेल्जियमको ब्रसेल्समा बैठक गर्ने पश्चिमी नेताहरुलाई चेतावनी दिँदै रुसले युक्रेनका सहयोगीहरुलाई युद्धमा हस्तक्षेप गर्नबाट रोक्नको लागि आफ्नो आर्थिक शक्तिको प्रयोग गरिरहेको बताएका हुन् ।

जेलेन्स्कीले बिहीबार ब्रसेल्समा हुने जी–७, नेटो र युरोपेली संघको शिखर सम्मेलनभन्दा पहिले भने ‘हामीलाई थाहा छ कि रुसीहरुले आफ्नो हितको पैरवी सुरु गरिसकेका छन् । यो पैरवी युद्धको पक्षमा छ । हामीलाई थाहा छ कि उनीहरु केही साझेदारहरुसँग काम गरिरहेका छन् । यी तीन शिखर सम्मेलनहरुमा हामी आफ्नो स्थितिको दृढताका साथ प्रतिनिधित्व गर्नेछौं । यी ती सम्मेलनमा प्रस्ट हुनेछ कि साथी को हो, सहयोगी को हो र कसले पैसाको लागि हामीलाई धोका दिन सक्छ ।’

युरोपको लगभग ४० प्रतिशत भाग रुसी ग्यासबाट सञ्चालित हुन्छ । रुसमाथि प्रतिबन्ध बढाउनुभन्दा पहिले युरोपेली नेता ऊर्जाको वैकल्पिक स्रोतहरुको खोजी गरिरहेका छन् । जेलेन्स्कीले भिडियोको माध्यमबाट नेटो शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । उनले विमान र विमान रोधी प्रणाली सहित अधिक उन्नत हतियारहरुको माग गर्न सक्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *