भारतले ठूलो परिमाणमा सस्तो मूल्यमा रुसी तेल किन्यो, नेपालमा पनि मूल्य घट्ने संकेत
काठमाडौं। भारतको सबैभन्दा ठूलो तेल कम्पनी इण्डियन आयल कर्पोरेसनले बुधबार कच्चा तेलको ठूलो परिमाणको खरिद प्रक्रिया पूरा गरेको छ । यो खरिदमा रुसबाट सस्तो मूल्यमा खरिद गरिएको कच्चा तेलको परिमाण सबैभन्दा अधिक छ । साथमा इण्डियन आयलले पश्चिम अफ्रिकी कच्चा तेल पनि ठूलो परिमाणमा किनेको छ ।
भारतले रुसबाट सस्तो मूल्यमा तेल खरिद गरेसँगै यसको बिक्री मूल्य पनि कम हुने र भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्ने अपेक्षा गरिएको छ । यसको सीधा असर नेपाली बजारमा पर्नेछ किनकि नेपालले भारतको इण्डियन आयल कर्पोरेशनबाटै प्रशोधित तेल किन्छ । नेपालले कच्चा तेल किनेर प्रशोधन गर्दैन । इण्डियन आयलले कच्चा तेल किनेर प्रशोधन गरेपछि त्यो प्रशोधित तेल नेपालले किन्ने गरेको छ । इण्डियन आयलले छुटमा तेल किनेर सस्तो मूल्यमा आफ्नो बजारमा बिक्री गर्दा नेपालले पनि सस्तो मूल्यमा तेल पाउने सम्भावना उच्च हुन्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भारी वृद्धि हुँदा त्यसको असरले नेपाली बजारमा पनि तेलको मूल्य बढिरहेको छ ।
समाचार एजेन्सी रोयटर्सले सूत्रको हवाला दिँदै जनाएअनुसार भारतको सबैभन्दा ठूलो तेल कम्पनी इण्डियन आयलले रुसबाट ३ मिलियन ब्यारल कच्चा तेल किनेको छ । उसले २ मिलियन ब्यारल पश्चिम अफ्रिकी तेल पनि किनेको छ । कम्पनीले रुसी कच्चा तेल भिटोल नामको कम्पनीपबाट खरिद गरेको हो । रुस–युक्रेन युद्ध सुरु भएपछि इण्डियन आयलले रुसी तेल किनेको यो दोस्रो पटक हो । इण्डियन आयलले यही मार्च महिनाको सुरुवातमा पनि भिटोलसँग ३ मिलियन ब्यारल कच्चा तेल किनेको थियो । पहिले किनेको र अहिले किनेको गरी कूल ६ मिलियन ब्यारल तेलको डेलिभरी मे महिनामा हुनेछ ।
रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेको थियो । यो आक्रमणका कारण रुसले धेरै प्रतिबन्धको सामना गर्नु परिरहेको छ । प्रतिबन्धका कारण रुसलाई अन्तर्राष्ट्रिय व्यापारमा समस्या भइरहेको छ किनकि उसले डलरमा ठिकसँग व्यापार गर्न सकिरहेको छैन । रुसका बैंक र वित्तिय प्रणालीमा पनि यी प्रतिबन्धको असर परेको छ । त्यसैले रुसले कैयौं देशहरुसँग उनीहरुको स्थानीय मुद्रामा व्यापार गर्न सुरु गरेको छ । साथमा रुसले कच्चा तेललाई पुरानो मूल्यमा पनि छुट दिएर उपलब्ध गराइरहेको छ ।
भारतले फरक फरक अवसरमा रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न आह्वान गरिरहेको छ तर भारत र रुसको लामो व्यापारिक, राजनैतिक र साँस्कृतिक सम्बन्ध भएका कारण भारतले रुसको निन्दा गरेको छैन । अन्तर्राष्ट्रिय मञ्चमा पनि भारतले रुसको विरुद्ध मतदान गरेको छैन । भारतले रुसबाट कच्चा तेल आयातमा पनि प्रतिबन्ध लगाएको छैन । भारत विश्वको तेस्रो ठूलो तेल आयात गर्ने देश हो । भारतले आफ्नो आवश्यकताको ८० प्रतिशत तेल आयात गर्छ । अहिले इण्डियन आयलले रुसी र पश्चिम अफ्रिकी तेलका साथै एक्सोन कम्पनीबाट नाइजेरियन उसान अच्चा तेल र अगबामी कच्चा तेल किनेको छ । कम्पनीले यी डीलबारे कुनै प्रतिक्रिया दिएको छैन ।
इण्डियन आयल भारतको सबैभन्दा ठूलो तेल कम्पनी हो । भारतमा पेट्रोलियम पदार्थको खुद्रा बिक्रीमा पनि यो कम्पनीको दबदबा छ । यस्तोमा रुसबाट छुटमा तेल पाएपछि बजारमा पनि पेट्रोलको मूल्य सस्तो हुन सक्छ । नेपाल आयल निगमले पनि इण्डियन आयलबाटै पेट्रोल किन्ने भएकोले नेपालले किन्ने पेट्रोलको मूल्य पनि कम हुन सक्छ । भारतमा ५ राज्यमा विधानसभा चुनाबका बेला १३७ दिनसम्म पेट्रोलियमको मूल्य स्थिर थियो । पछिल्लो समय भारतमा मंगलबार र बुधबार तेलको मूल्य बढेकोमा बिहीबार स्थिर छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment