भारतले ठूलो परिमाणमा सस्तो मूल्यमा रुसी तेल किन्यो, नेपालमा पनि मूल्य घट्ने संकेत

डिसी नेपाल
१० चैत २०७८ १४:४१

काठमाडौं। भारतको सबैभन्दा ठूलो तेल कम्पनी इण्डियन आयल कर्पोरेसनले बुधबार कच्चा तेलको ठूलो परिमाणको खरिद प्रक्रिया पूरा गरेको छ । यो खरिदमा रुसबाट सस्तो मूल्यमा खरिद गरिएको कच्चा तेलको परिमाण सबैभन्दा अधिक छ । साथमा इण्डियन आयलले पश्चिम अफ्रिकी कच्चा तेल पनि ठूलो परिमाणमा किनेको छ ।

भारतले रुसबाट सस्तो मूल्यमा तेल खरिद गरेसँगै यसको बिक्री मूल्य पनि कम हुने र भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्ने अपेक्षा गरिएको छ । यसको सीधा असर नेपाली बजारमा पर्नेछ किनकि नेपालले भारतको इण्डियन आयल कर्पोरेशनबाटै प्रशोधित तेल किन्छ । नेपालले कच्चा तेल किनेर प्रशोधन गर्दैन । इण्डियन आयलले कच्चा तेल किनेर प्रशोधन गरेपछि त्यो प्रशोधित तेल नेपालले किन्ने गरेको छ । इण्डियन आयलले छुटमा तेल किनेर सस्तो मूल्यमा आफ्नो बजारमा बिक्री गर्दा नेपालले पनि सस्तो मूल्यमा तेल पाउने सम्भावना उच्च हुन्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भारी वृद्धि हुँदा त्यसको असरले नेपाली बजारमा पनि तेलको मूल्य बढिरहेको छ ।

समाचार एजेन्सी रोयटर्सले सूत्रको हवाला दिँदै जनाएअनुसार भारतको सबैभन्दा ठूलो तेल कम्पनी इण्डियन आयलले रुसबाट ३ मिलियन ब्यारल कच्चा तेल किनेको छ । उसले २ मिलियन ब्यारल पश्चिम अफ्रिकी तेल पनि किनेको छ । कम्पनीले रुसी कच्चा तेल भिटोल नामको कम्पनीपबाट खरिद गरेको हो । रुस–युक्रेन युद्ध सुरु भएपछि इण्डियन आयलले रुसी तेल किनेको यो दोस्रो पटक हो । इण्डियन आयलले यही मार्च महिनाको सुरुवातमा पनि भिटोलसँग ३ मिलियन ब्यारल कच्चा तेल किनेको थियो । पहिले किनेको र अहिले किनेको गरी कूल ६ मिलियन ब्यारल तेलको डेलिभरी मे महिनामा हुनेछ ।

रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेको थियो । यो आक्रमणका कारण रुसले धेरै प्रतिबन्धको सामना गर्नु परिरहेको छ । प्रतिबन्धका कारण रुसलाई अन्तर्राष्ट्रिय व्यापारमा समस्या भइरहेको छ किनकि उसले डलरमा ठिकसँग व्यापार गर्न सकिरहेको छैन । रुसका बैंक र वित्तिय प्रणालीमा पनि यी प्रतिबन्धको असर परेको छ । त्यसैले रुसले कैयौं देशहरुसँग उनीहरुको स्थानीय मुद्रामा व्यापार गर्न सुरु गरेको छ । साथमा रुसले कच्चा तेललाई पुरानो मूल्यमा पनि छुट दिएर उपलब्ध गराइरहेको छ ।

भारतले फरक फरक अवसरमा रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न आह्वान गरिरहेको छ तर भारत र रुसको लामो व्यापारिक, राजनैतिक र साँस्कृतिक सम्बन्ध भएका कारण भारतले रुसको निन्दा गरेको छैन । अन्तर्राष्ट्रिय मञ्चमा पनि भारतले रुसको विरुद्ध मतदान गरेको छैन । भारतले रुसबाट कच्चा तेल आयातमा पनि प्रतिबन्ध लगाएको छैन । भारत विश्वको तेस्रो ठूलो तेल आयात गर्ने देश हो । भारतले आफ्नो आवश्यकताको ८० प्रतिशत तेल आयात गर्छ । अहिले इण्डियन आयलले रुसी र पश्चिम अफ्रिकी तेलका साथै एक्सोन कम्पनीबाट नाइजेरियन उसान अच्चा तेल र अगबामी कच्चा तेल किनेको छ । कम्पनीले यी डीलबारे कुनै प्रतिक्रिया दिएको छैन ।

इण्डियन आयल भारतको सबैभन्दा ठूलो तेल कम्पनी हो । भारतमा पेट्रोलियम पदार्थको खुद्रा बिक्रीमा पनि यो कम्पनीको दबदबा छ । यस्तोमा रुसबाट छुटमा तेल पाएपछि बजारमा पनि पेट्रोलको मूल्य सस्तो हुन सक्छ । नेपाल आयल निगमले पनि इण्डियन आयलबाटै पेट्रोल किन्ने भएकोले नेपालले किन्ने पेट्रोलको मूल्य पनि कम हुन सक्छ । भारतमा ५ राज्यमा विधानसभा चुनाबका बेला १३७ दिनसम्म पेट्रोलियमको मूल्य स्थिर थियो । पछिल्लो समय भारतमा मंगलबार र बुधबार तेलको मूल्य बढेकोमा बिहीबार स्थिर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *