पश्चिमा नेताहरू युक्रेनलाई थप अस्त्र दिन सहमत

डिसी नेपाल
११ चैत २०७८ ७:५८
648
Shares

बीबीसी। पश्चिमा देशहरूको सैन्य गठबन्धन नेटो, युरोपेली सङ्घ ईयू अनि सम्पन्न देशहरूको समूह जी सेभेनको अभूतपूर्व शिखर सम्मेलनहरूमा पश्चिमा नेताहरूले रुसविरुद्ध एकता प्रदर्शन गरेका छन्। पुटिनले विनाकारण आक्रमण गरेको भन्दै उनीहरूले युक्रेनलाई थप सैन्य सामग्री उपलब्ध गराउने सहमति गरेका छन्।

युक्रेनमा रुसले अतिक्रमण गरेको ठीक एक महिना पछाडि डाकिएको नेटो, ईयू र जी सेभेन सम्मेलनको एक अभूतपूर्व दिनमा पश्चिमा देशहरूले रुसी राष्ट्रपति पुटिनविरुद्ध ऐक्यबद्धता प्रदर्शन गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडन र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले रुसले विनाकारण गरेको अनुचित युद्धका सामु उनीहरू एकताबद्ध भएको बताए।

ब्रसल्समा ती सम्मेलनहरूमा ३० जनाभन्दा बढी विश्व नेताहरू सहभागी भएका थिए। उनीहरूले रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने र पूर्वी युरोपका चार नेटो सदस्य देशमा थप फौज परिचालन गर्न सहमति जनाए।

साथै युक्रेनलाई थप अस्त्र उपलब्ध गराउन पनि उनीहरू सहमत भए। ब्रिटेनले युक्रेनलाई दिने क्षेप्यास्त्रको सङ्ख्या दोबरले बढाउने बताएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै थप मद्दतका निम्ति आह्वान गरेका थिए। उनले ट्याङ्कहरू एवं लडाकू विमान माग गरे।

तर बीबीसीकी उत्तर अमेरिका सम्पादक स्यारा स्मिथ भन्छिन् नेटो नेताहरूले चाहिँ युक्रेनमा नेटो फौज परिचालन गरिए त्यसले सङ्कट झन् चर्कने र विश्वयुद्धको खतरा बढ्ने आफ्ना भनाइ दोहोर्‍याए।

राष्ट्रपति बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्रुरको संज्ञा दिँदै मस्कोले अतिक्रमणबाट चाहेको भन्दा विपरीत अवस्था पाइरहेको बताए। रुसविरुद्ध आर्थिक प्रतिबन्धमा समन्वय गर्नुका साथै अमेरिका र ईयूले ऊर्जा आपूर्तिमा सहयोग वृद्धि गर्ने अनि विश्वव्यापी खाद्य सुरक्षा सुधार्न योजना बनाउने सहमति गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *