व्यंग्य : मुखमा जन, मनमा धन

डिसी नेपाल
१२ चैत २०७८ ९:५७

नयाँ संविधान बनेपछि, यसलाई संसारकै उत्कृष्ट भनेर सबैले भनेपछि र झण्डै एक दशक लगाएर छ सय एकजना संसारकै सबैभन्दा विद्वानहरुले झण्डै दशपन्ध्र अरब खर्च गरेर रचना गरेको महान ग्रन्थमा गनेपछि यस अन्तर्गत भएको स्थानीय निर्वाचनको अवधिपनि पाँच बर्ष पुग्न लागिसकेको सुन्दा जनता खुसी भएका छन्।

त्यो निर्वाचनभन्दा अगाडि बिभिन्न दलका र स्वतन्त्र उम्मेदवारहरुले पेश गरेका ज्यादै बेश घोषणा पत्रहरुमा लेखिएका र जित्ने उम्मेदवारहरुले तत्काल काम सुरु गरेको देखिएका सबैजसो कामहरु शतप्रतिसत नै पूरा भएको कुरा अहिले आएर ससाना भुरालेपनि बुझिसकेका छन्।

दिनगन्तिको हिसाबले हेर्ने हो भने बेदव्यासले महाभारतको रचना गरेभन्दापनि बढि समय लिएर छ सय एकजनाले दुईदुई कार्यकालको अमूल्य समय दिएर रचेको र रचना गर्नेहरुले नै यसको पालना नगर्दापनि अहिलेसम्म बचेको अनि यसैलाई भजाएर खानसक्नेले जति खाएपनि मजाले पचेको दस्ताबेज अनुसार फेरि भोट हाल्न पाउँदा खुसी नहुने को होला र?

आफ्नो बुद्धि, विवेक, क्षमता, योग्यता र इमानदारिता देखाउनुभन्दा बिभिन्न तडक भडक देखाएर सडक तताउने र आफूभन्दा गतिलो यो संसारमै कोही छैन भनेर आफैं बताउने जमातले जनतालाई भ्रममा राखेर र बिदेशीबाट प्राप्त डलरको स्वाद चाखेर बनाएको संविधान भनेर केही अबुझहरुले आरोप लगाउने गरेको देखिएपनि कुनै बिश्वास नगरि सोही अनुसार लुसुलुसु गएर खुसुखसु भोट खसालेर स्थानीय तहको कुर्सीमा बसालेको र आँखा चिम्लेर खान सकिने ठाउँमा पसालेकोपनि पाँच बर्ष बितिसकेछ।

यो भन्दा अगाडिको निर्वाचनमा घोषणापत्र, बिभिन्न माध्यम, भाषण, भेटघाट, आमसभा आदिमार्फत जनताको लागि यो गर्छौँ उ गर्छौँ, यस्तो गर्छौँ उस्तो गर्छौँ भनेर ठूलोठूलो स्वरमा कराएको र धेरैजस्तो ठाउँमा भने अनुसारको काम गर्नबाट हराएको देख्दा स्थानीय तहका पदाधिकारी भएर जनताको काम गर्न किन डराएको भन्ने प्रश्न तेस्र्याउनेहरुलाई मुर्खको कोटीमा राख्न उचित हुन्छ।

स्थानीय तहका उम्मेदवारहरुले संसदको उम्मेद्वारहरुले जस्तै आश्वासन र मिठामिठा सपनाहरु बाँडेर र त्यसैमार्फत प्रतिस्पर्धीको भनाइलाई भाँडेर आफ्नो दुनो सोझ्याएका थिए। सलल बग्ने सडक, घरघरमा मात्रै नभएर जनताको मुखमुखमा पानी, गाउँ पिच्छे सम्पूर्ण आधुनिक सुबिधासहितका अस्पतालहरु, ज्यादै सस्तो लगानिमा अन्तर्राष्ट्रिय स्तरको उच्च स्तरीय शिक्षा, रोजगारी जाबो त भोभो चाहिएन भन्दापनि अकुत आमदानीसहितको रोजगारीको ग्यारेन्टी, संसारकै नमुना खाले सुग्घर सफाइ, आफ्नो पालिकाका सबैलाई पाँचतारे स्तरको खाना खानसक्ने बनाउने ग्यारेन्टी, मातृशिसु कल्याण सेवा संसारकै नमुना स्तरको, कृषि उत्पादन अहिलेसम्मको सबैभन्दा उन्नत खालको, ब्यबसायिक खेतीलाई प्राथमिकता, पशुपालनमा ज्यादै जोड दिएर पूर्ण आत्मनिर्भर, अति राम्रो शान्ति सुरक्षा, विभिन्न खालका ब्यबसायिक तालिमहरुबाट दक्ष जनशक्तिको ब्यापक उत्पादन, स्वच्छ सफा हराभरा र सुन्दर गाउँ शहर र बस्तीहरुको जोडदार निर्माण, आदि आदि त सामान्य कुरा नै भइहाले।

त्यसै गरेर मोनो रेल,मेट्रो रेल, अरु केके जाति रेल,भ्यू टावर, पुल पुलेसा, पिच ढलान सुरुङ मार्ग आदि, जनतालाई आवश्यक सम्पूर्ण सुबिधाहरुको ग्यारेन्टी, सबैको जीवनस्तर उठाउने कुराहरुको ग्यारेन्टी, महँगी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, स्थानीय श्रोत साधनहरुको ब्यापक सदुपयोग, पालिकाहरुमा फ्रि वाइफाइ, पालिकाबासीलाई कुनै कुराको कमी महसुस हुन नदिइने, स्थानीयको निर्माण कार्यहरुलाई सरलता र सहयोग आदि आदि जस्ता आश्वासन र सपनाहरुको पुरै तालिका उल्लेख गर्ने हो भने संसारमा कतै हुन नसकेको काम पालिकामा हुने पक्का ठहरिन्छ। यस बाहेक पनि आश्वासन र सपनाका पोका अझ कति हो कति धेरै भएको हुनाले जनताले धोका पाइयो भन्ने सम्झन हुँदैन।

यही र यस्तै आश्वासनका फेहरिस्त सुनेर र त्यसैको आधारमा आफ्ना होनहार प्रतिनिधिहरुलाई चुनेर स्थानीय सरकारको कुर्सीमा बिराजमान गराएकोपनि पाँच बर्ष बितिसकेछ।

निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो बाचा पूरा गर्न दिलोज्यान दिएर काम गरिसक्दापनि जनताले अझै असन्तुष्टि मात्रै ओकल्ने र दिनको पचास चोटी उनीहरुकै कुरा काटेर मुख खोकल्ने गरेको सुन्दा र देख्दापनि जन प्रतिनिधिहरुले खासै माइन्ड गरेजस्तो देखिन्न। हुन त माइन्ड गर्नको लागि आफूसित माइन्ड नामक बस्तुपनि हुन पर्ला कि? भन्नेहरुको कुरा सुन्ने कुरै आउँदैन र जनताले यस्ता कुरा थाहै पाउँदैन जस्तो उहाँहरुलाई लाग्नु सही नै हो।

धेरैजसो स्थानीय पदाधिकारीहरुले आफ्ना वा परिवारका नाममा स्थानीय स्तरकै आधारमा सिंहदरबार सरहकै घर निर्माण गरेर चन्द्र शमशेर पारामा बसोबास गर्ने हैसियत बनाउन सकेको हुनाले गाउँगाउँमा सिंहदरबार पुर्‍याउने बाचा राम्रैसित सफल भएकोमा जनप्रतिनिधि र जनता दुबैथरि दंग परेका छन्।

पाँच बर्ष पछिको चुनाव आउन र जनताले भोट हाल्ने मौका पाउन धेरै समय बाँकि नहुँदा पनि पहिले जस्तो आश्वासन र सपनाका कुरा कुनै दलका नेताहरुबाट सुन्न नपाउँदा पहिलेका सबै बाचाहरु पूरा भइसकेछन् र त्यही अनुसार कार्यान्वयनमा गइसकेछन् भनेर बुझ्न ढिला गर्न हुँदैन।

पहिलेको चुनावमा जनताको लागि यो गरिन्छ उ गरिन्छ र त्यस्ता कामहरु गर्न अघि सरिन्छ भनेर फलाक्दै हिँड्ने परम्परा रहेकोमा यसपाली चुनावको मुखैमा आइपुग्दा समेत कुनैपनि दलले जनताको बिषयमा ठ्याम्मै केही बोलेको र त्यस्ता बिषयमा मनपेट खोलेको नपाउँदा अब जनताको लागि गर्न पर्ने कुनै काम बाँकि नै रहेनछ भनेर सबैले बुझिदिन पर्छ।

जनताको लागि गर्न पर्ने कुनै काम बाँकि नभएर नै होला आगामी स्थानीय तहको निर्वाचनको लागि देश दौडाहामा निस्केका सबै दलका शिर्ष नेताहरु एकअर्काको तारिफ गर्दै जिस्केका देख्न पाउँदा जनताले निर्वाचन अगाडि बाटै खुब मनोरन्जन गर्न पाएका छन्।

आफू ठिक अर्को बेठिक भन्दै सिंह, भेडा, हात्ती, कुकुर, चमेरो, मुसा, कचौरे, मगन्ते, कहिले कसको कहिले कसको ढोका धाउने, अर्काले भरिदिएको भाँडो हेरेर दंग पर्ने, गठबन्धन नगरि हुँदै हुँदैन, गठबन्धन गर्नै हुँदैन, एक्लै चुनाव लड्ने औकात नभएका, आफ्नो खुट्टामा उभिन नसक्ने, गठबन्धनको कुनै भर नभएकोले आफ्नै बलबुतामा चुनाव लड्न तयार हुन पर्ने, आफ्नो दल एक नम्बरमा आउने र सबैतिर बहुमत पाउने, आफ्नो बिरोधी यो चुनावमा पुरै साफ हुने आदि आदि भनेको दिनदिनै सुन्दा यसपाली चुनावको घोषणा पत्र नै नआउने रहेछ भन्ने जनतालाई लागेको छ। खाली एकअर्काको खुट्टा तान्ने र सत्तो सराप गर्दै ब्यंग्यबाँण हान्ने अनि आफ्नो खास काम बाहेक सबैथोक जान्ने शिर्षहरुको चुनाव प्रचार तयारीको शैली बदलिएको देखेर पुराना र नयाँ मतदाता दंग छन्। यसपाली अरु सबैथोक छोडेर सबैले सबैलाई गरेको गाली सुन्ने र जसले धेरै राम्रो गाली दिन सक्छ उसैको दललाई स्थानीय जनप्रतिनिधि चुन्ने बिचारमा जनता रहेका छन् जस्तो देखिन्छ।

आफ्नो दलले अरु सबैलाई चक्मा दिएर निर्वाचित जनप्रतिनिधिको तक्मा आफ्नै उम्मेदवारले पाउने पक्का भएकोले बिरोधीलाई धक्का दिन खासै केही मेहनत गर्न पर्दैन भन्ने स्वघोषित महान नेता खुमलटारे कामरेड र स्वघोषित अत्यन्त नैतिक नेता कोटेश्वरे कामरेडलाई सबै तहमा गठबन्धन नभइ नभएको कारण चाहिँ जनताले बुझ्न सकेका छैनन्।

सत्ता गठबन्धनको ठूलो दलवाला बुढानिलकण्ठे सभापतिले प्रष्ट नबोलेको र दल भित्रकै बिरोधीहरुका कारणले मुख नखोलेको हुनाले दुई कामरेडहरुको छाति भत्भती पोलेको देख्दादेख्दै हत्पती गठबन्धन बारे राम्ररी मुख नखोलेर हैरान पारेकोले दुबै कामरेडले कार्यकर्तालाई अब एक्लै चुनाव लढ्ने र त्यही अनुसार अगाडि बढ्ने निर्देशन दिन थालेका छन्। यही कुरा बुझेर होला बुढानिलकण्ठे सभापतिलेपनि अब सबै चुनावमा गठबन्धन कायम रहन्छ भनेर बोलेको र आफ्नो अप्ठ्यारो खुलाउने बाटोपनि खोलेको हुनाले दुबै कामरेडलाई अलिअलि निद्रा लाग्न थालेको हुनपर्छ।

सत्ता गठबन्धनमा रहेका सबै दलले गठबन्धन गरेर चुनावमा उत्रेपनि सबैलाई धुलो चटाएर स्थानीय तहमा सबैभन्दा ठूलो दल बन्ने र बिरोधीले ज्यादै थोरै मतमात्रै गन्ने निश्चित छ भनेर फलाक्दै हिँडेका बालकोटे कामरेडका कुरा सुनेर उनकै कार्यकर्तापनि हाँस्न थालेका देखिन्छन्। उनको मनोबल देखेर तारिफ गर्नेहरु कम नभएपनि चुनावमा भोटकोमात्रै दम हुने भएकोले कार्यकर्ता अचम्ममा परेका होलान्। उनले गठबन्धनको योजना नराखेका भने होइनन्।

आबश्यक पर्‍याे  भने स्थानीय तहमा जोजोसित मिल्छ त्यो त्योसित गठबन्धन गर्ने छुट रहेको निर्णय गरेका यिनले अरुको झुट नपत्याएर जन समर्थनबाटै भोटको लुट गर्न सकिने आत्मबिश्वास देखाउने गरेका छन्। सत्ताका गठबन्धनवालाले मिलेर चुनाव भिडेमा अरु सबैलाई निलेर स्थानीय तह कब्जा गर्ने सोच राखेका हुनाले यिनलेपनि कतै नबिकेका र गठबन्धन बाहेक अर्थोक नसिकेका झिनामसिना दलहरुसँग तालमेल हो कि गठबन्धन गरेर र त्यस्ताको भर परेर सबैभन्दा ठूलो दल हुने सपना देख्नु ज्यादै राम्रो कुरा हो।

यी बाहेकका अरु दल पनि एक्लै चुनावी मैदानमा उत्रिने अबस्था नभएकोले पुरानो नाता सोझ्याउँदै अरु दलको छाता ओढेर भएपनि जति सकिन्छ त्यति हात पारेर आफ्नो खाता बलियो बनाउने र राजनीतिमा उपस्थिति जनाउने उद्देश्यमा लागेका देखिन्छन्। गएको पाँचबर्ष यस्तै लुछाचुँडी गरेर राजनैतिक रमितामा बिताएका र यसैगरि सधैंभरि जनतालाई अल्मल्याएर खान सकिने चिताएका शिर्ष भनिनेदेखि लिएर अन्य नेतामा गनिने सबैलाई यो स्थानीय चुनाव सारै ठूलो सकस भएको हो कि जस्तो देखिन्छ।

यसअघि आफू र आफ्नो दलले गरेका राम्रा कामहरु देखाएर वा जनताका सबै आबश्यता पूरा गर्ने प्रतिबद्धता लेखाएर जनतासित भोट माग्ने र चुनावको मुखैमा आइपुग्दा त्यसतर्फ जाग्ने अनि जनहितमै लाग्ने तयारी वा कार्यान्वयन त्यति नदेखिएपनि सबै दलहरु नम्बर एक दल हुने पक्का भएकोमा जनता ढुक्क छन्।

हिजो अस्तिसम्म दलको ठूला पदाधिकारी भएर मस्ती गर्न सकिन्छ भनेर आफूखुसी दल फुटाउने र आफूलाईमात्रै फाइदा जुटाउने अनि ब्यक्तिगत स्वार्थको लागि देश र जनताको नाममा जेपनि लुटाउने हदसम्म पुगेकाहरु स्थानीय तहको चुनावमै यसरी भौँतारिएर हिँडेको देख्दा नेतृत्वको क्षमतामा जनता बिश्वस्त छन्। सबै नेताका मुखमा जन वा जनता बाहेक केही नभए पनि मनमा भने धन र त्यो उपलब्ध हुने स्थानमा पुग्ने बाटो गठबन्धन बाहेक अरु केही नभएको हो कि भन्नेहरुका कुरालाई जनताले पत्याएका छैनन्।

स्थानीय निर्वाचन नजिक आएको र यही तरिकाले आफ्नो खैरियत छैन भन्ने चाल पाएको हुनाले शिर्ष नेताहरुको देश दौडाहा सुरु भएर यिनीहरुको मनमा औडाहा भएको बुझ्न सकिन्छ। कोही गाडीमा, कोही हवाइ जहाजमा, कोही हेलिकप्टरमा, कोही पैदल आदि गरेर मतदातालाई प्रभाबित पार्न र सकेसम्म बढी भोट झार्न मेहनत पूर्बक लागेका देखिन्छन्। हरेक समय र तहको चुनावको मुखमा देखिने यी दृश्य नौला होइनन्।

यसपालीको फरक भनेकै जनता र जनताका आबश्यकताका कुनै कुरा नगरिकन खाली एकअर्कालाई गाली गर्ने र गठबन्धनको लागि एकोहोरो रोइकराइ गर्न अघि सर्ने बाहेक अरु केही नदेखिएको हुनाले यसपालिको प्रचार प्रसारको तरिका पहिले पहिलेभन्दा फरक देखिएको मात्रै हो। यसबाट केही फाइदा भएको छ।

यही सिलसिलामा स्वघोषित महान नेताले आफूलाई धनयुद्धमा सहयोग गर्दा घाइते भएर उपचार गराइरहेकालाई अस्पतालमै पुगेर भेट्नुका साथै उनीहरुको उपचार र अन्य ब्यबस्थाको लागि सरकार प्रधानलाई भन्न भ्याए छन्।

त्यसैमा मरेका आफ्नो निर्बाचन क्षेत्रका ब्यक्तिको घरमा गएर एकछाक खाना खाइदिएर ठूलो राहत पुर्याए छन्। यसअघि त्यस्तालाई बेवास्ता गरेर गिन्तीमा नराखेपनि चुनावको मुखमा उनीहरुलाई देखाएर केके न गरेँ भन्दै भोटको लागि विन्ती गर्ने तरिकालाई ज्यादै जनमुखि कार्यको रुपमा लिइदिन पर्छ र यसरी नै सबैको भोट उनलाई नै झर्छ।

स्थानीय चुनावमै यसरी आफूद्वारा बनाइएका घाइते, बेपत्ता, अपाङ, बिधवा, टुहुरा आदिको सम्झना आउन थालेपछि संसदको चुनावमा अझ केकेको सम्झना आउने होला भनेर त्यस्ता ब्यक्तिहरु खुसी भएका छन्। चुनाव सकिनु र त्यस्ता मान्छेपनि छन् र? भनेर बहकिनु एकैचोटि होला कि भनेर कसैले सोचेका छैनन्।

चुनावको मुखमा एकअर्कालाई सत्तोसराप गरेर जनतालाई हँसाएर मनोरन्जन गराउने र सबै ठाउँमा गठबन्धन नगरिकन हाम्रो अस्तित्व नै रहँदैन भनेर कराउने शिर्षलगायतका नेता कार्यकर्ताको कुरा सुन्दा जनता ज्यादै प्रभाबित भएका छन्।

हुन त सबैले गठबन्धन भनेको ठिकै हो। स्थानीय तहमा सानोदेखि ठूलोसम्मका योजनाहरु कार्यान्वयन गर्न त्यहाँ भएका सबै दलको गठबन्धनबाटै बजेट झ्वाम पार्ने कार्य भइरहेको र सबैतिर शानदार तरिकाले यहि पद्धति संस्थागत रुपले गइरहेको छ रे भन्ने हल्लामा बिश्वास गर्ने कुरै आएन।

त्यसैगरि प्रदेशदेखि केन्द्रसम्म पनि सबै ठाउँमा भागबन्डामात्रै भएकोले गठबन्धनलाई संस्थागत रुपमा नै स्वीकार गरिएको र खानेपाउने ठाउँमा यसो नगरि हुँदै हुँदैन भन्ने भ्रम छरिएको छ रे भनेर त झन् पत्याउनै भएन। त्यसैले गठबन्धन नगरि भागबन्डामा चुनाव जित्ने काम अगाडि नबढाएमा तलदेखि माथिसम्मका सबैको खानपिन समेत बित्ने हुनाले गठबन्धन सबैतिर अनिवार्य नै रहेछ भनेर सबैले बुझिदिन पर्छ र यसले मात्रै सबैको हित गर्छ जस्तो सबैलाई लागेको छ।

आफ्नो दलको बिचार, क्षमता, दक्षता र कार्य कुशलता देखाएर जनताको मत लिनुभन्दा जनताले राम्ररी देखिसकेका आफ्ना कमजोरी लाजै नमानी लुकाउने र अर्काको कमजोरीको पेटारो मात्रै फुकाउने गरेर बिरोधीलाई झुकाउने नेतृत्वको स्वार्थपूर्तिको लागि जनताले ठूलो मूल्य चुकाउने सारै राम्रो परिपाटी बस्दै गएको अनि यसले सबैलाई कस्दै लगेकोमा जनता प्रफुल्ल भएका छन्।

यतिसम्मका हुतिहारा परजिबी नेता कार्यकर्ताहरु त संसारका अन्य कुनैपनि ठाउँमा भएको देखिएको वा सुनिएको नहुनालेपनि हामीले यसमा गर्व गर्न र आफ्नो उत्थानको लागि उनिहरुकै भर पर्न कहिल्यैपनि छोड्न अनि उहाँहरुको कुर्सीमोहलाई कुनपनि हालतमा तोड्न हुँदै हुँदैन।

उनीहरुको मनमा धन बाहेक अरु कुनै कुरा नभएपनि मुखमा भने सधैंभरि जन मात्रै भएकोले जनताले उनिहरुलाई सधैं साथ दिइराख्ने र उनिहरुले यसबाट फाइदा लिइराख्ने कार्य मजाले परम्पराकै रुपमा सदासर्बदा चलिरहन पर्छ भन्ने जनताको चाहना छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *