अफगानिस्तानमा तालिबानविरुद्ध महिला र बालिकाहरु सडकमा उत्रिए, चर्को विरोध प्रदर्शन
काठमाडौं। अफगानिस्तानमा महिला र बालिकाहरु तालिबानविरुद्ध सडकमा उत्रिएका छन् । केही समयअघि तालिबानले यही मार्च २३ देखि छोरीहरुका लागि पनि स्कुल खुला गर्ने घोषणा गरेको थियो । तर अन्तिम समयमा तालिबान आफ्नो प्रतिबद्धताबाट पछि हटेपछि महिला र बालिकाहरु स्कुल खोल्न माग गर्दै राजधानी काबुलमा सडकमा उत्रिएका हुन् ।
काबुलका सडकमा महिला र बालिकाहरुको प्रदर्शनका केही तस्वीरहरु सार्वजनिक भएमा छन् जसमा उनीहरुले हातमा प्लेकार्ड बोकेका छन् । प्लेकार्डमा स्कुल खोल्ने माग र ‘शिक्षा हाम्रो अधिकार हो’ लगायतका नारा लेखिएका छन् । प्रदर्शनकारीहरुको यो समूहले शिक्षा मन्त्रालय अगाडि प्रदर्शन गरे र ‘शिक्षा हाम्रो अधिकार छोरीहरुका लागि ढोका खोल’ लगायतका नारा लगाए ।
यो प्रदर्शन तालिबानी सशस्त्र बलको अगाडि चलिरहेको थियो तर उनीहरुले कुनै हस्तक्षेप गरेनन् । तालिबानले पहिले प्रदर्शन रोक्ने र प्रदर्शनकारीहरुलाई हिरासतमा लिने गरेको थियो तर यस पटक भने प्रदर्शन जारी रहन दिइयो ।
प्रदर्शनमा सहभागी एक शिक्षिकाले बीबीसीसँग भनिन् ‘जब स्वतन्त्रताको लागि र स्कुल जान चाहने बालिकाहरुको अधिकारको लागि उभिने प्रश्न उठ्छ, म मर्नका लागि तयार छु । हामी आफ्ना बच्चीहरुको शिक्षाको हकको लागि यहाँ छौं । हकबिना त हामी पहिले नै मरिसकेका छौं ।’
गएको अगष्टमा तालिबानले अफगानिस्तानमा नियन्त्रण गरेपछि बालक र बालिकाहरुका लागि प्राथमिक विद्यालय खुला राखेको थियो तर माध्यमिक स्कुलमा छात्राहरुलाई कक्षामा जान अनुमति दिइएको थिएन । हालै तालिबानले माध्यमिक स्कुलका छात्राहरुका लागि पनि स्कुल खोल्ने घोषणागरेको थियो तर तालिबानको केन्द्रीय नेतृत्वले अचानक यो निर्णय उल्ट्याइदियो ।
त्यहाँको शिक्षा मन्त्रालयले पहिले छात्राहरुका सकुल समेत देशभरका सबै स्कुल गएको बुधबारबाट खोल्ने घोषणा गरेको थियो । तर, पछि अर्को आदेशमा भनिएको छ ‘छात्राहरुका सबै स्कुल र ती स्कुल जहाँ छात्राहरु पढ्छन्, अर्को आदेशसम्म बन्द रहनेछन् ।’ सूचनामा छात्राहरुको लागि युनिफर्म तय गरेपछि मात्रै स्कुल खोलिने र यो युनिफर्म शरीयत कानुन र अफगानी परम्परा अनुसार हुने भनिएको छ । युनिफर्मको हवाला दिएर स्कुल नखोल्ने आदेशप्रति कैयौं परिवार असन्तुष्ट छन् ।







डिसी नेपाल







Facebook Comment