पूरै देशमा गँगटाको कब्जा, सडक, भित्ता जताततै गँगटा, हेर्नुहोस् १० तस्वीरहरु
काठमाडौं। क्यारेबियन देश क्युबा अहिले गँगटाको समस्यासँग जुधिरहेको छ । क्युबाका कैयौं तटीय क्षेत्रमा गँगटाहरुले आक्रमण थालेका छन् । राता, काला, पहेंला र बैजनी रंगका गँगटाहरुले खाडीदेखि जंगलसम्म र सडकदेखि घरका भित्तासम्म कब्जा जमाएका छन् । गँगटाको कब्जाबाट सबैभन्दा धेरै बे अफ पिग्स क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको छ ।

हुन त यहाँ गँगटाहरु आउनु समस्या होइन, यहाँ हरेक वर्ष गँगटाहरु आउँछन् । तर, यस पटक यी गँगटाहरु धेरै चाँडै बाहिर आएका छन् । सरकार र स्थानीय जनताले यी गँगटाहरुलाई रोक्न तयारी गर्न नपाउँदै उनीहरु बाहिर आएपछि समस्या भएको छ । यी गँगटाहरुलाई यति धेरै बनाउन कोरोनाकालले पनि ठूलो भूमिका खेलेको छ ।

कोरोनाकालमा लकडाउनका कारण २ वर्षसम्म कानवीय गतिविधि लगभग बन्द रह्यो । जंगल, समुद्री क्षेत्र र सडकमा मानिसहरुको आवतजावत लगभग बन्द जस्तै भएपछि यी गँगटाहरुलाई प्रकृतिले कहीँ पनि आवतजावत गर्ने र जतासुकै प्रजनन गर्ने अवसर दियो । यसको नतिजा यहाँ गँगटाहरुको संख्या ठूलो मात्रामा बढ्यो ।

सामान्य अवस्थामा गाडी चल्ने सडकहरु लकडाउनमा खाली भएपछि स्वतन्त्र भएका गँगटाहरुले ठूलो संख्यामा नयाँ गँगटा जन्माए । अहिले बे अफ पिग्स क्षेत्रमा करोडौंको संख्यामा गँगटाहरु छन् । बे अफ पिग्सको एकातिर समुद्र, छेउमा जंगल र जंगलको बीचमा भएको सडकको फाइदा गँगटाहरुलाई भयो । यो क्षेत्र क्युबाको दक्षिणी किनारामा छ ।

सामान्य अवस्थामा यी गँगटाहरु बाहिर निस्किँदा गाडीले किचिएर मारिन्थे । तर, विगत २ वर्षयता गाडीको आवतजावत निकै कम भएपछि यी गँगटाहरु मरेनन् । विगत २ वर्षयता गँगटाहरु सुरक्षित रहनुको नतिजा अहिले यिनीहरु तुलनात्मक रुपमा ठूला भएका छन् र संख्यामा पनि अत्यन्तै धेरै भएका छन् ।

एक गाडी पार्किङको सुरक्षा गर्ने ४६ वर्षका गार्ड एन्जेल इराओलाले समाचार एजेन्सी रोयटर्ससँग भने ‘अहिले ट्राफिक कम छ । विगत २ वर्ष अझै कम रह्यो । पर्यटन पनि निकै कम थियो । जसका कारण गँगटाहरुको साम्राज्य बढ्दै गयो । खाडीको किनारा हुँदै गएको यो सडक पर्यटनको हिसाबले उत्कृष्ट ठाउँ थियो तर २ वर्षयता यहाँ मानिस होइन केवल गँगटा मात्र देखिन्छन् ।’

क्युबाको वातावरण मन्त्रालयका वैज्ञानिक रिनाल्डो सन्टाना एग्विलर ले भने ‘वैज्ञानिकहरुले यो पत्ता लगाउने कोसिस गरिरहेका छौं कि यिनीहरु यति छिटो बाहिर किन र कसरी आए । यो कोरोनाकालमा यिनीहरुको संख्या बढेका कारण भएको हो वा अन्य कुनै किसिमको प्राकृतिक परिवर्तन हो । यिनीहरुको संख्या बढ्नुको कारण त बुझिएको छ तर यो समय यिनीहरुको विस्थापन बुझ्न सकिएको छैन । यिनीहरु यो समयमा विस्थापित हुँदैनन् ।’










डिसी नेपाल







Facebook Comment