ओस्कार समारोहमा ‘बेस्ट एक्टर अवार्ड’ विजेताले स्टेजमा गएर संचालकलाई थप्पड हाने (भिडियो)

डिसी नेपाल
१४ चैत २०७८ ११:२५
516
Shares

काठमाडौं। सर्वोत्कृष्ट अभिनेताको ओस्कार अवार्ड जितेका विल स्मिथले ओस्कार समारोहको मञ्चमै कार्यक्रम संचालक कमेडियन क्रिस रकलाई थप्पड हानिदिए । विल स्मिथलाई किंग रिचर्ड फिल्मको लागि सर्वोत्कृष्ट अभिनेताको ओस्कार अवार्ड दिइएको हो । थप्पड हानेको घटना भने विल स्मिथलाई अवार्ड दिइनु भन्दा पहिलेको हो ।

खासमा क्रिस रकले कार्यक्रमको क्रममा विल स्मिथकी पत्नी जेडा पिंकेटका विषयमा मजाक गरेका थिए । मजाक सुनेर विल स्मिथ मञ्चमा गए र क्रिस रकलाई थप्पड हानिदिए । कमेडियन क्रिस रकले जेडा पिंकेटको छोटो कपालमाथि टिप्पणी गरेका थिए । उनले भनेका थिए ‘आइ लभ यु जेड । म जीआइ जेन २ हेर्नको लागि व्यग्र छु ।’

जीआइ जेन १९९७ मा रिलिज भएको हलिउड फिल्म हो । यो फिल्ममा मुख्य भूमिका निभाएकी अभिनेत्री डेमी मूरले यो फिल्मको लागि आफ्नो कपाल मुण्डन गरेकी थिइन् । थप्पड हानेपछि विल स्मिथ आफ्नो सिटमा गएर बसे र त्यहीँबाट चिच्याएर आफ्नी पत्नीको नाम नलिन भने । थप्पड खाइसकेपछि पनि क्रिस रक भने मञ्चमै रहे र उनले माहोल सामान्य बनाउने कोसिस गरे । उनले भने ‘यो टेलिभिजन इतिहासमा सबैभन्दा उत्कृष्ट रात हुनेछ ।’

जेडा पिंकेटले कैयौं अन्तरवार्तामा आफ्नो कपाल झर्ने समस्या गम्भीर भएका कारण कपाल मुण्डन गर्नुपरेको बताइसकेकी छिन् । अवार्ड समारोहमा थप्पडको घटना भएको केही समयपछि विल स्मिथलाई किंग रिचर्ड फिल्मको लागि बेस्ट एक्टर अवार्ड दिइयो । अवार्ड पाएपछिको आफ्नो सम्बोधनमा विल स्मिथ रोए र क्रिस रकलाई थप्पड हानेकोमा माफी मागे । किंग रिचर्ड फिल्ममा विल स्मिथले टेनिस स्टार सेरेना विलियम्सका पिता किंग रिचर्डको भूमिका निभाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *