बर्दिबासको खयरमारामा गएको पहिरोग्रस्त क्षेत्रको अनुगमन

डिसी नेपाल
१४ चैत २०७८ २०:४२

महोत्तरी । महोत्तरीको बर्दिबासस्थित खयरमाराको चुरे पहाडमा भीषण पहिरो गएसँगै अनुगमन गर्ने सम्बन्धित निकाय र भूगर्भविद्को उपस्थिति बाक्लिएको छ ।

बुधबार राति खयरमाराको भित्री वस्ती नजिकै तीनतलेबाट भीषण पहिरो खसेको थियो । मिडियाकर्मीले पहिरोको विषयलाई निक्कै प्राथमिकता दिएपछि संघीय राजधानीबाट घटनास्थल अवलोकन गर्न आउने भूगर्भविद्को उपस्थितिसमेत बाक्लिएको छ ।

पहिरोले खयरमाराको खोला पुरेको छ भने वरपरको वस्तिमा नै जोखिम बढेको छ । पहिरो जानेक्रममा वृद्धि हुँदै गएको हुनाले पनि पहिरोको विषयमा थप अनुसन्धान गर्नुपर्ने भूगर्भविद् प्रकाशराज घिमिरे बताउँछन् ।

कतिपय वातावरणविद्ले तातो र चिसोको सन्तुलन बन्न नसक्दा पहिरो गएको हुनसक्ने बताउँदै आएका छन् । तर पहिरोको तथ्यगत कारणको विषयमा भने भूगर्भविद् आफै अलमलमा छन् ।

पहिरोको विषयमा थप अनुसन्धान गर्नका लागि विशेषज्ञसँग छलफल भइरहेको इन्जिनियरिङ कलेजका उपप्राध्यापकसमेत रहेका घिमिरेले जानकारी दिए ।

आजै जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखले पनि पहिरोग्रस्त क्षेत्रको अनुगमन गरेका छन् । जिल्ला प्रमुख अधिकारी, नेपाल प्रहरी महोत्तरी प्रमुख, सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुखले अनुगमन गरेका थिए ।

पहिरोले खोला नै पुरेपछि छोडके, पिपलदमा, गुरुङ्ग खोला, चनौटे, गर्दिखोला, भाङग्रे झ्याउरे तथा खयरमाराको मुख्य बजारमा नै जोखिम हुन सक्ने स्थानीयको भनाइ छ ।

आजै मधेस प्रदेशका सूचना, सञ्चार तथा संघीय मामिला मन्त्री भरतप्रसाद साहले पनि पहिरोग्रस्त क्षेत्रको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री साहले विज्ञसँग बसेर तत्काल छलफल अगाडि बढाउने बताए । छलफलपछि दीर्घकालीन सावधान खोजिने मन्त्री साहले स्थानीयलाई विश्वास दिलाए ।

अहिले खोलाबाट खयरमारा र बर्दिबास जाने बाटो बन्द भएको छ । सडक सञ्जालको सुविधा नहुँदा खयरमारास्थित भित्री वस्तिका स्थानीय खोलाबाट नै आवतजावत गर्दै आएका छन् ।

पहिरो गएको नजिक र वरपर मात्र झण्डै दुई सय घरधुरी बसोबास गर्दै आएका छन् । यसरी भीषण सुख्खा पहिरो गएको जीवनकाल कै पहिलो अनुभव भएको स्थानीय बासिन्दा बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *