मसानघाट बन्यो युक्रेनको मारियुपोल सहर, कम्तीमा ५ हजार मानिसको मृत्यु (तस्वीरहरुसहित)

डिसी नेपाल
१५ चैत २०७८ ११:३९
1.6k
Shares

काठमाडौं। युक्रेनमाथि रुसको आक्रमणमा सबेभन्दा धेरै विनाश युक्रेनको मारियुपोल सहरमा भएको छ । रिपोर्टका अनुसार यो सहरमा रुसको आक्रमणमा ५ हजार मानिस मरिसकेका छन् । यहाँका हजारौं जनता घरबारविहीन भएका छन् । अस्पताल घाइतेहरुले भरिएका छन् । कतिबेला कुन बमले पलभरमै जिन्दगी अन्त्य गरिदिन्छ भन्ने त्रास त्यहाँका जनतामा छ । अवस्था यस्तो भएको छ कि मृतकहरुलाई पार्क र स्कुलहरुमा गाडिएको छ । यहाँका ९० प्रतिशत भवनहरु खण्डहर बनिसकेका छन् । ४० प्रतिशत भवनहरु पूर्ण रुपमा ध्वस्त भएर ढलिसकेका छन् ।

यो त्यही मारियुपोल सहर हो जहाँ रुसले सबैभन्दा पहिले युद्धबिरामको घोषणा गरेको थियो । त्यतिबेला रुसले युद्धका क्रममा फसेका मानिसहरुलाई यहाँबाट बाहिर निकाल्ने बताएको थियो । मानिसहरु निकाल्नको लागि मानवीय कोरिडोर बनाइने, सुरक्षित पास उपलब्ध गराइने भनिएको थियो ताकि मानिसहरु सजिलै यहाँबाट निस्किन सकुन् । तर, यसको ठिक विपरित भयो । यही सहरमा रुसी सैनिकले सडकमा उत्रिएर मानिसहरुमाथि अन्धाधुन्ध आक्रमण गरे । रुसी विमानले यति एयरस्ट्राइक गरे कि वातावरणमा बारुदको गन्ध र घरहरुमा धुवाँ उडिरहेको देखिएको छ ।

युक्रेनले मारियुपोल सहरको तुलना सिरियाको ओलोप्पो सहरसँग गरेको छ । यहाँ मृतकहरुलाई चिहानघाटसम्म लैजान पनि कठिनाइ भइरहेको दावी गरिएको छ । मृतकलाई पार्क र स्कुलहरुमै गाडिएको बताइएको छ । मारियुपोलमा संचार सेवा पनि ठप्प छ । मानिसहरुले आफ्ना परिवारसँग कुरा गर्न सकिरहेका छैनन् । कुनै पनि किसिमको जानकारीको लागि मानिसहरु सामाजिक संजालमै निर्भर भएका छन् ।

युद्धको सुरुवातमा रुसले युक्रेनको राजधानी किभलाई निशाना बनाएको थियो । लगातार आक्रमण गरिरहँदा रुसले केवल सैन्य अड्डाहरुलाई मात्रै निशाना बनाएको दावी गरेको थियो । तर, पछि रुसले ‘युद्धमा सबैथोक जायज हुन्छ’ भन्ने उखान चरितार्थ गरिदियो । रुसी सैनिकहरुले आवासीय क्षेत्रमा पनि आक्रमण गरे । किभपछि खारकिभको पालो आयो जहाँ रुसले अन्धाधुन्ध आक्रमण गर्यो । यहाँ कैयौं मानिसहरुको ज्यान गयो तर सबैभन्दा भयानक विनाश मारियुपोलमा भयो ।

मारियुपोलमा रुसले त्यो पुललाई ध्वस्त पारिदियो जसले सहरलाई राजधानी किभसँग जोड्थ्यो । युद्ध बढ्दै जाँदा रुसी सैनिक सहरभित्र पस्दै गए र विनाश मच्चाउँदै गए । मारियुपोलका मेयरका प्रवक्ताले भने ‘हामीले ५ हजार जनता गुमाएका छौं । एउटा हाँस्दै खेल्दै रहेको सहर बर्बाद भएको छ । यहाँ अवस्था निकै खराब छ । ९० प्रतिशत भवनहरु खण्डहर बनेका छन् ।’

रुसको आक्रमणसँग जुधिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही दिनअघि अतिरिक्त ट्यांकहरु, विमानहरु र एन्टि एयरक्राफ्ट मिसाइलबिना मारियुपोललाई बचाउन असम्भव भएको बताएका थिए । उनले भनेका थिए ‘हामीले रुसी मिसाइल र जहाजहरुलाई शटगनले त खसाल्न सक्दैनौं । त्यसैले हामीले आवश्यक हतियारहरु लामो समयदेखि पर्खिरहेका छौं ।’ उनले युरोपमा हतियारहरुले गोदाममा धुलो खाइरहेको भन्दै ती हतियार दिन युरोपेली देशहरुलाई आग्रह गरेका थिए ।

रुसी सैनिकहरुको क्रुरता यतिसम्म रह्यो कि उनीहरुले मारियुपोलमा एउटा स्कुलमै एयरस्ट्राइक गरिदिए । यो स्कुलमा ४०० मानिसहरुले शरण लिएका थिए । यसबाहेक रुसले मारियुपोलमा हजारभन्दा धेरै मानिसहरुले शरण लिइरहेको एक नाटकघरमा पनि एयरस्ट्राइक गरेको थियो । जहाँ सयौं मानिसहरु लामो समयसम्म फसिरहेको बताइउको थियो । एक महिनाभन्दा धेरै समयदेखि जारी रुसी आक्रमणका कारण यहाँका जनतालाई खानपिनका कुराहरु पाउन निकै कठिन भएको छ । लामो लाइनमा घण्टौं प्रतिक्षा गरेपछि थोरै खाना पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *