अपठ्यारोमा पाकस्तिानी प्रधानमन्त्री इमरान खान

डिसी नेपाल
१५ चैत २०७८ १२:३३
52
Shares

इस्लामाबाद। पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याएका छन्। खान नेतृत्वको सरकार ढाल्न विपक्षीले अविश्वासको प्रस्ताव ल्याएका हुन्। खान नेतृत्वको सरकारले देशको अर्थतन्त्र अव्यवस्थित गराएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन्।

तल्लो सदन नेसनल एसेम्बलीमा बिहीबारबाट अविश्वासको प्रस्तावमाथि बहस सुरु हुनेछ र सात दिनभित्र मतदान हुनेछ। तल्लो सदनमा विपक्षी नेता सहबाज सरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए।

‘यस सदनको विश्वास गुमाएपछि प्रधानमन्त्री पद रहनुहुन्न,’ अविश्वास प्रस्तावमाथि बोल्दै शरीफले भने। विपक्षी सांसदहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टले खानको गठबन्धनका साझेदारहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको छ। गठबन्धनका केही सदस्यहरू खानको विपक्षमा उभिन सक्ने प्राप्त विवरणहरुमा जनाइएको छ।

३४२ सिट रहेको सदनमा खान सरकारलाई हटाउन आफूहरुलाई आवश्यक १७२ सदस्य रहेका विपक्षीले जनाएका छन्। विपक्षीले केही साताअघि खानविरुद्ध अविश्वासको मत ल्याउने घोषणा गरेपछि राजनीतिक उथलपुथल बढेको छ र सरकार जुन सुकै बेला ढल्न सक्ने खतरा बढेको छ।

यो खानको राजनीतिक जीवनको सबैभन्दा कठिन चुनौती हो। राजनीतिक संकटबीच खानले राजीनामा दिन सक्ने चर्चा बढेको छ। आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित हुने भए त्यसअघि नै खानले पदबाट राजनीनमा दिन सक्ने अनुमान गरिएको छ।

यद्यपी, खानले आफ्नो पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टी र अन्य राजनीतिक दलहरुकाे सहयोगमा अविश्वासको प्रस्ताव बिफल पार्ने बताउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *