टर्कीमा भइरहेको रूस युक्रेन वार्ता सफलता उन्मुख, युक्रेनमा आक्रमण ‘धेरै कम’ गर्न रूस तयार

डिसी नेपाल
१६ चैत २०७८ १०:५१
320
Shares

काठमाडौं। रुसले गएको २४ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि दुई देशबीच कैयौं पटक भएका वार्ताहरुमा खासै प्रगति हुन सकेको थिएन । यसैबीच मंगलबारदेखि टर्कीको इस्तानबुलमा सुरु भएको वार्ताले भने केही सफलताका संकेत देखिएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनको मध्यस्थतामा मंगलबारदेखि इस्तानबुलमा रुस र युक्रेनका प्रतिनिधि मण्डलबीच शान्ति वार्ता भइरहेको छ ।

इस्तानबुलमा जारी वार्ताका क्रममा रुसले युक्रेनमा सैन्य युद्ध अभियानलाई धेरै कम गर्ने बताएको छ । यद्यपि रुसको यो प्रतिबद्धताप्रति पश्चिमी देश भने आश्वस्त देखिएका छैनन् र रुसको यो प्रतिबद्धताप्रति शंका गरिरहेका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले इस्तानबुलमा आफ्नो कार्यालयमा रुस–युक्रेनबीच यो वार्ताको आयोजना र सहजीकरण गरिरहेका छन् ।

रुसले यो शान्तिवार्तामा युक्रेनको राजधानी किभ र चेयरनिभमा आफ्नो आक्रमणलाई ‘धेरै कम’ गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिका र बेलायतले रुसको यो प्रतिबद्धतालाई लिएर ‘सावधानी अपनाउन’ अपिल गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सतर्क रहन चेतावनी दिँदै भने ‘जबसम्म मैले यो देख्दिन कि उनीहरु यो प्रतिबद्धताप्रति के एक्सन गरिरहेका छन् तबसम्म मैले यो बयानमा केही देख्न सकिरहेको छैन ।’

बाइडेनले यी प्रतिबद्धताहरुको जमिनी स्तरमा पालना हुन्छ कि हुँदैन भन्ने कुरा हेर्नु जरुरी रहेको बताएका छन् । अर्कोतर्फ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले रुसले जे भन्छ र जे गर्छ त्यसमा फरक हुने बताएका छन् । यद्यपि कूटनैतिक सन्दर्भमा टर्कीमा जारी यो शान्ति वार्तालाई ‘सार्थक रुपले प्रगतितर्फ बढिरहेको’ बताइएको छ । मंगलबार भएको यो वार्ता ३ घण्टासम्म चल्यो तर यसबाट छानिएर निकै कम जानकारी मात्र मिडियामा आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *