रुसले युक्रेनमा ‘आक्रमण कम गर्ने’ प्रतिबद्धता जनाएपछि जेलेन्स्कीले के भने ?

डिसी नेपाल
१६ चैत २०७८ १२:०६
928
Shares

काठमाडौं। रुसले टर्कीको इस्तानबुलमा भइरहेको शान्ति वार्तामा युक्रेनमा आक्रमण कम गर्ने प्रतिबद्धता जनाएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसबारे प्रतिक्रिया दिएका छन् । जेलेन्स्कीले रुसी प्रतिबद्धताप्रति टिप्पणी गर्दै युक्रेनी जनता अबुझ नभएको बताए । यसअघि मंगलबार इस्तानबुलमा भएको वार्तामा रुसले किभ र चेयरनिभमा आक्रमण धेरै कम गर्ने भनेको थियो ।

जेलेन्स्कीले रुसको नियतमाति शंशय जनाउँदै भने ‘वार्ताबाट हामीले सुरुवाती संकेत सकारात्मक पाएका थियौं तर रुसको तर्फबाट प्रहार भइरहेका गोला उसको प्रतिबद्धता अनुरुप छैनन् ।’ यसअघि अमेरिका, बेलायत, जर्मनी र इटलीले पनि रुसको बयानप्रति सन्देश व्यक्त गर्दै युक्रेनलाई चेतावनी दिएका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सतर्क रहन चेतावनी दिँदै भनेका थिए ‘जबसम्म मैले यो देख्दिन कि उनीहरु यो प्रतिबद्धताप्रति के एक्सन गरिरहेका छन् तबसम्म मैले यो बयानमा केही देख्न सकिरहेको छैन ।’ बाइडेनले यी प्रतिबद्धताहरुको जमिनी स्तरमा पालना हुन्छ कि हुँदैन भन्ने कुरा हेर्नु जरुरी रहेको बताएका छन् ।

अर्कोतर्फ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले रुसले जे भन्छ र जे गर्छ त्यसमा फरक हुने बताएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले इस्तानबुलमा आफ्नो कार्यालयमा रुस–युक्रेनबीच यो वार्ताको आयोजना र सहजीकरण गरिरहेका छन् । कूटनैतिक सन्दर्भमा टर्कीमा जारी यो शान्ति वार्तालाई ‘सार्थक रुपले प्रगतितर्फ बढिरहेको’ बताइएको छ । मंगलबार भएको यो वार्ता ३ घण्टासम्म चल्यो तर यसबाट छानिएर निकै कम जानकारी मात्र मिडियामा आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *