सपनामा देखेको घटनाको रिसमा २१ वर्षकी शिक्षिकाको स्कुलको गेटमा घाँटी रेटेर हत्या

डिसी नेपाल
१६ चैत २०७८ १४:१८

काठमाडौं। २१ वर्षकी एक शिक्षिकालाई अन्य तीन महिलाहरुले सपनामा देखेको घटनालाई लिएर स्कुलको गेटमै घाँटी रेटेर हत्या गरिदिएका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा जिल्लाको डेरा इस्माइल खानमा एक मदरसाको ढोकाबाहिर ती महिलाहरुले शिक्षिकाको हत्या गरेको स्थानीय पुलिसलाई उद्धृत गर्दै बीबीसी उर्दूले जनाएको छ । घटना मंगलबार बिहान भएको हो । पुलिसले तीनै जना अभियुक्त महिलाहरुलाई गिरफ्तार गरेर कानुनी कारवाही अगाडि बढाएको छ ।

पीडित शिक्षिकाका काकाले पुलिसलाई बताएअनुसार उनकी भतिजीले पढाउने मदरसाका म्यानेजरले उनलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए । पुलिसले सुरुवाती जाँचका आधारमा बताएअनुसार यी तीन अभियुक्त महिलाका अर्का एक नातेदारले सपनामा पीडित शिक्षिकाले ईशनिन्दा गरेको देखेका थिए । सपनामा देखेको यही घटनाका कारण महिलाहरुले शिक्षिकाको हत्या गरेको बयान दिएका छन् ।

पुलिसले अभियुक्तहरुले बताएझैं कुनै सपनाका कारण हत्या भएको हो वा अन्य कारण छ भन्नेबारे जाँच गरिरहेको बताएको छ । पीडित शिक्षिकाका काकाका अनुसार उनी सूचना पाउनेबित्तिकै घटनास्थल पुग्दा भतिजी मदरसाको गेटमा रक्ताम्य अवस्थामा थिइन् । उनको घाँटी काटिएको थियो र मृत्यु भइसकेको थियो । काकाले प्रत्यक्षदर्शीबाट पाएको जानकारीका आधारमा उनकी भतिजी मदरसा पुग्दा पहिल्यै आरोपी महिलाहरु मदरसाको युनिफर्ममा त्यहाँ पर्खेर बसिरहेको बताएका छन् ।

काकाले आफ्नी भतिजी र आरोपी महिलाबीच कुनै दुश्मनी भएकोबारे आफूलाई जानकारी नभएको बताएका छन् । पीडित शिक्षिकाका पिता र दाजु विदेशमा भएकोले काकाले उजुरी दिएको पुलिसले बताएको छ । पीडित शिक्षिकाले पढाउने मदरसाका म्यानेजर मौलाना शफीउल्लाहका अनुसार पीडित २ वर्षदेखि यो मदरसामा आबद्ध थिइन् । मौलाना शफीउल्लाहले आरोपी महिलाहरु अर्को मदरसाका शिक्षिका र छात्रा भएको दावी गरेका छन् ।

आरोपी महिलाहरुमध्ये दुईवटी साख्खै दिदीबहिनी र अर्की काकातर्फकी बहिनी हुन् । एउटी शिक्षिका भएको पुलिसले पनि पुष्टि गरेको छ । पुलिसका अनुसार हत्याको कारण ईशनिन्दा बताइएको छ तर पुलिसले ईशनिन्दाको पुष्टि गर्न सक्ने कुनै पनि प्रत्यक्षदर्शी नभेटिएको बताएको छ । मदरसाका म्यानेजर मौलाना शफीउल्लाहले पनि कुनै किसिमको इशनिन्दाको घटना नभएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *