आक्रमण घटाउने प्रतिबद्धता जनाएको रुसले युद्धबिरामको घोषणा गर्‍यो

डिसी नेपाल
१७ चैत २०७८ ११:३५

काठमाडौं। मंगलबार युक्रेनसँग टर्कीको इस्तानबुलमा वार्ताको क्रममा आक्रमण कम गर्ने प्रतिबद्धता जनाएको रुसको रक्षा मन्त्रालयले युक्रेनको तटीय सहर मारियुपोलमा युद्धबिरामको घोषणा गरेको छ । युद्धबिरामको सुरुवात बिहीबार बिहानदेखि हुनेछ ताकि आम नागरिकहरुलाई सहरबाट सुरक्षित बाहिर निकाल्न सकियोस् ।

रुसले आक्रमण घटाउने प्रतिबद्धता जनाएसँगै बुधबार नै आफ्नो सेना युक्रेनको राजधानी किभबाट पछि हटाएको थियो । समाचार एजेन्सी एएफपीले रुसी रक्षा मन्त्रालयको हवाला दिँदै लेखेको छ ‘यो मानवीय अभियानको सफलताको लागि हामी संयुक्त राष्ट्रसंघको शरणार्थी उच्चायुक्त र अन्तर्राष्ट्रिय रेड क्रस समितिको प्रत्यक्ष सहभागिताको लागि प्रस्ताव गर्दछौं ।’

मारियुपोलदेखि जपोरजियासम्म मानवीय कोरिडोर स्थानीय समयअनुसार बिहान १० बजे खुल्नेछ । युक्रेनले यो घोषणाको विषयमा कुनै प्रतिक्रिया दिएको छैन । मारियुपोलमा युद्धबिरामको लागि पहिले पनि प्रयास भएका थिए तर दुवै पक्षले विश्वसको कमीको आरोप लगाएपछि प्रयास विफल भए ।

रुसमाथि हजारौं युक्रेनी नागरिकलाई रुस वा रुस नियन्त्रित क्षेत्रमा जबरजस्ती लिएर गएको आरोप लगाइएको छ । रुसको यो घोषणाभन्दा पहिले बमबारीमा भएको विनाशको नयाँ स्याटेलाइट तस्वीर सार्वजनिक भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *