रुस युक्रेन युद्धले जर्मनीको ढाड भाँचियो

डिसी नेपाल
१७ चैत २०७८ १६:०५
32.5k
Shares

काठमाडौं। रुस–युक्रेन युद्धले युरोपको सबैभन्दा धनी देश जर्मनीको ढाड भाँचिएको छ । जर्मनीमा मुद्रास्फीतिले पछिल्लो ४० वर्षको रेकर्ड तोडेको छ । रुस–युक्रेन युद्धका कारण जर्मनीमा प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ। धनी देश दशकौंको सबैभन्दा खराब महंगीको संकटबाट गुज्रिरहेको छ।

जर्मनीको संघीय तथ्यांक कार्यालयले यस वर्ष उपभोक्ता मूल्य मुद्रास्फीति ७.६ प्रतिशत रहेको बताएको छ । यो फेब्रुअरीमा ५.५ प्रतिशत थियो तर युद्ध सुरु भएदेखि नै द्रुुत उछाल देखिएको छ । कम्पनीहरूले ऊर्जाको मूल्यमा भारी वृद्धि गरेपछि मुास्फीतिमा यो उछाल आएको हो ।

समाचार एजेन्सी रोयटर्सले जर्मनीको मुद्रास्फीतिमा एक सर्वेक्षण गरेको थियो जसमा विश्लेषकहरूले सीपीआई दर (राष्ट्रिय उपभोक्ता मूल्य सूचकां) ६.३ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेका थिए। तर यो आँकडा अहिले पछाडि परेको छ ।

ल्यान्ड्सबैंक बाडेन–वुर्टेम्बर्ग बैंकका जेन्स–ओलिभर निकलासले मुद्रास्फीतिले १९७० को दशकको सम्झना गराएको बताए। उनले रोयटर्सलाई भने, ‘१९७० को दशकमा स्वागत छ । जहाँसम्म खाद्यान्न, अत्यावश्यक वस्तु र ऊर्जाको मूल्यवृद्धिको सवाल छ, हामी त्यो दशकमा पुगेका छौं ।’

जर्मनीको केजीडब्लु बैंकका प्रमुख अर्थशास्त्री फ्रिट्जी कोहलर–गेबले भने कि युरोपेली संघसँग नियमहरूलाई अझ कडा पार्नुको विकल्प छैन। भीपी बैंकका थोमस गिट्जेलले भने, ‘यदि युरोपका मुद्रा नियामकहरूले अहिले कुनै कदम चालेनन् भने, यो ठूलो जोखिम लिनु बराबर हुनेछ। पछि उनीहरूले अचानक थप कठोर कदम चाल्नुपर्ने हुन सक्छ । अमेरिकाको केन्द्रीय बैंकले सन् १९८० को दशकमा यो दर्दनाक अनुभवबाट गुज्रनुपरेको थियो ।’

जर्मनीको तथ्यांक कार्यालयले जर्मनीमा पछिल्लो पटक ४० वर्षअघि सन् १९८१ मा यस्तै उच्च मुद्रास्फीति दर रेकर्ड गरिएको बताएको छ। त्यतिबेला इरान–इराक युद्धका कारण तेलको मूल्य आकाशिएको थियो र सबै अत्यावश्यक वस्तुहरू पनि महँगो भएका थिए ।

उच्च मुद्रास्फीति दरको यो समस्या जर्मनीको मात्र नभई अन्य धेरै युरोपेली देशहरूले पनि मुास्फीतिको असर भोगिरहेको अर्थशास्त्रीहरूले बताएका छन् । बुधबार, स्पेनले रिपोर्ट गरेको छ कि उसको मुद्रास्फीति दर मार्चमा लगभग १० प्रतिशत पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *