जो बाइडेनको यो कदमले घट्ला त पेट्रोलियम पदार्थको मूल्य ?
काठमाडौं । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले देशको पेट्रोलियम भण्डारबाट ठूलो मात्रामा कच्चा तेल निकाल्ने बताएका छन् । यसले कच्चा तेलको बढ्दो मूल्यलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।
ब्लूमबर्गको समाचार अनुसार जो बाइडेनको सरकारले अमेरिकाको रणनीतिक पेट्रोलियम रिजर्भबाट प्रतिदिन १० लाख ब्यारेल कच्चा तेल निकाल्ने योजना बनाएको छ । ह्वाइट हाउसले बिहीबार यसबारे अन्तिम निर्णय लिन सक्छ। युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिका र उसका सहयोगीहरूले रुसमाथि धेरै किसिमका आर्थिक प्रतिबन्ध लगाएका थिए । यसको परिणामस्वरुप विश्वभर कच्चा तेल र प्राकृतिक ग्यासको मूल्य बढ्न थाल्यो, किनभने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निर्धारणमा रुसको ठूलो भूमिका छ ।
जो बाइडेन सरकारले पेट्रोलको बढ्दो मूल्यलाई नियन्त्रण गर्न बिहीबार आफ्नो पूर्ण योजना जारी गर्न सक्छ। रणनीतिक भण्डारबाट दैनिक १० लाख ब्यारेल कच्चा तेल निकासी गर्ने यो योजना कहिलेसम्म चल्ने भन्नेस्पष्ट छैन । तर यो अझै केही महिनासम्म जारी रहने स्रोतले जानकारी दिएको छ ।
कोरोना महामारी र त्यसपछि बढेको पेट्रोल र डिजेलको मूल्यले अमेरिकामा महंगी ४० वर्षकै उच्च विन्दुमा पु¥याएको छ । यसलाई सम्बोधन गर्नु राष्ट्रपति जो बाइडेनको सरकारसामु ठूलो चुनौती हो। बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब १०५ डलर थियो । जबकि एक वर्ष अघि यो प्रति ब्यारेल करिब ६० डलर थियो ।







डिसी नेपाल







Facebook Comment