श्रीलंकामा न बिजुली छ, न डिजेल न मैनबत्ती, सिटामोलको मूल्य ४५० रुपैयाँ

डिसी नेपाल
१७ चैत २०७८ १६:५७
6.1k
Shares

काठमाडौं। श्रीलंकामा अहिलेसम्मकै ठूलो विद्युत कटौती सुरु भएको छ । स्वतन्त्रता यताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती सुरु गरेको छ । मुलुकमा पेट्रोलियम इन्धनको चरम अभाव हुँदा विद्युत् उत्पादनमा उल्लेख्य कमी आएको छ । मुलुकमा खाद्यान्न तथा पेय पदार्थको चरम अभाव हुँदा आक्रोशित जनताले गोटाबाया राजापाक्षे सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

औषधि पसल र अस्पतालको अवस्था पनि उस्तै छ । देशमा औषधिको अभावका कारण शल्यक्रिया ठप्प भएकाले धेरै बिरामीको ज्यान जाने जोखिम पनि बढेको छ । श्रीलंकाको विद्युत बोर्डले विद्युत उत्पादनका लागि इन्धन नहुँदा यो महिनाको सुरुदेखि गरिएको सात घण्टाको विद्युत कटौती अहिले १० घण्टामा पुगेको जनाएको छ ।

श्रीलंकाको ४० प्रतिशतभन्दा बढी विद्युत जलविद्युतबाट उत्पादन हुने अधिकारीहरूले बताएका छन् । इन्धनको अभाव हुनुका साथै वर्षा नहुँदा अधिकांश खोला र जलाशयमा पानी छैन र विद्युत् उत्पादन गर्न कठिन बन्दै गएको छ । श्रीलंकामा धेरैजसो बिजुली उत्पादन कोइला र तेलबाट हुन्छ। श्रीलंका यी दुवै कुराका लागि आयातमा निर्भर छ। तर देशको विदेशी मुद्रा सञ्चिती खाली भएकाले अत्यावश्यक सबै वस्तु आयात हुन सकेको छैन ।

यसैबीच, सरकारी स्वामित्वको खुद्रा इन्धन विक्रेता कम्पनी सिलोन पेट्रोलियम कर्पोरेशन (सीपीसी) ले कम्तिमा दुई दिनसम्म देशमा डिजेल नपाइने बताएको छ। सीपीसीले पेट्रोल पम्पहरूमा लामो लाइनमा तेलको लागि पर्खिरहेका चालकहरूलाई घर फर्कन र इन्धन आपूर्ति भएपछि यहाँ आउन आग्रह गरेको छ। यो वर्षको सुरुदेखि नै पेट्रोल र डिजेलको मूल्य पनि ह्वात्तै बढेको छ । हालसम्म पेट्रोलको मूल्य ९२ प्रतिशत र डिजेलको ७६ प्रतिशतले बढेको छ ।

खाना पकाउने ग्यास र मट्टितेल किन्न सरकारलाई रकम जुटाउन १२ दिन लागेको अधिकारीहरुले बताएका छन् । सरकारले कुनै न कुनै रूपमा ४४ मिलियन डलर जुटायो, त्यसपछि यी वस्तु आयात गर्न सकियो । श्रीलंकामाथि ठूलो विदेशी ऋण छ । त्यसैले मार्च २०२० मा उसले आवश्यक वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो। त्यतिबेला श्रीलंकाले ५१ अर्ब डलरको वैदेशिक ऋण तिर्नुपर्ने थियो । त्यसपछि श्रीलंकामा सबै अत्यावश्यक वस्तुको चर्को अभाव भयो र मूल्यमा तीव्र उछाल आएको थियो ।

श्रीलंकामा चामल, चिनी, दूध जस्ता अत्यावश्यक वस्तुको अभाव छ । पसलमा पाइने सामानको मूल्य हेरेर सर्वसाधारणले किन्न सकेका छैनन् । यस्तो अवस्थामा श्रीलंकामा पनि पलायन सुरु भएको छ । मानिसहरु आफ्नो देश छाडेर छिमेकी भारततिर पलायन हुन थालेका छन् । श्रीलंकामा अत्यावश्यक औषधि र स्वास्थ्य सुविधा नहुँदा धेरै अस्पतालमा शल्यक्रिया रोकिएको छ ।

श्रीलंकाको आर्थिक अवस्थाको बारेमा कुरा गर्दै ३१ वर्षीया शिक्षिका वाणी सुजाईले द इन्डियन एक्सप्रेससँग आफ्ना श्रीमान् खाडी देशमा बस्ने र यदि आफूले जाने मौका पाए आफूले पनि श्रीलंका छोड्ने बताइन्। तीन सदस्य भएको आफ्नो परिवारले पहिले एक महिनामा ३० हजार श्रीलंकाली रुपैयाँ खर्च गर्ने गरेको उनी बताउँछिन् तर अहिले अवस्था पूरै बदलिएको छ ।

उनी रिसाउँदै भन्छिन्, ‘यो महिना ८३ हजार रुपैयाँ खर्च गरिसकेकी छु । दुधको अभाव छ, चामल र दालका लागि लड्नुपरेको छ । अधिकांश समय बिजुली छैन । यस्तो अवस्थामा मैनबत्ती पनि उपलब्ध छैन। पारासिटामोलको १० देखि १२ ट्याब्लेटका लागि ४२० देखि ४५० रुपैयाँ तिर्नु परेको छ र धेरै औषधि पाइँदैन । मेरो तलब ५५ हजार छ र श्रीमानले पठाएको पैसाले खर्च चलाउन सक्छौँ । तर सामान उपलब्ध छैन । के हामी पैसा खाएर बाँच्न सक्छौं ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *