कविता : म र मान्छे

डिसी नेपाल
२६ चैत २०७८ ६:२१

हरेक समय आफ्ना मनहरुलाई

आफैंमा मन्थन गराउँदा गराउँदै

आफैंमा आफ्नो विश्वाश बनाउँछु

आफैंमा आफ्नो निर्णय बनाउँछु

म मान्छे हुन अनेक प्रयत्न गर्छु

तिमी एक्कासी मलाई मान्छे भन्छौ

म मान्दै मान्दिन म मान्छे भनेर।

 

तिमीलाई थाहा छ मान्छे हुनुको अर्थ

मान्छे हुन मान्छे जस्तो पो हुनुपर्छ

म कहाँ मान्छे जस्तो प्रबृतिमा छु र

मान्छेकै आबृतिमा म बिरुद्ध छु आफ्नै

बिरुद्ध कृया मान्छेको अर्थमा हुनु हुदैन

तथापी एक्कासी मलाई मान्छे भन्छौ

म मान्दै मान्दिन आफैं मान्छे भनेर।

 

तिमीलाई लाग्छ होला आकारमा म

मानव आवृत्ति भित्र मान्छे देखिन्छु

तर तिमी मलाई भित्र नियालेर बुझ

ममा अनेकन मानव बिरोधी भावहरु

छरपस्ट देखिने गरि ममै ब्यप्त छन्

तिमीलाई अनुभूत छ म मनै हुँ मात्र

तथापी एक्कासी मलाई मान्छे भन्छौ

म मान्दै मान्दिन आफै मान्छे भनेर।

 

म त मान्छेको खोल ओडेर आफैंमा

मान्छे बिरुद्ध षडयन्त्र गर्ने आकार

आफैंमा बिकृत स्वरुप सृजना गर्ने

आफ्नैहरुका भावना बिरुद्ध लाग्ने

गजबको निर्लज्ज यात्रा जस्तो हुँ म

तथापी एक्कासी मलाई मान्छे भन्छौ

म मान्दै मान्दिन म मान्छे भनेर।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *