स्थलगत : कञ्चनरुप नगरपालिकामा ‘मिनी’ गठबन्धनको सम्भावना

विजयप्रसाद मिश्र
२६ चैत २०७८ ७:०५

सप्तरी। मधेस प्रदेशको सप्तरी जिल्लाको महेन्द्र राजमार्गसँग जोडिएको सप्तकोशीको किनारामा रहेको कञ्चनरुप नगरपालिकामा स्थानीय निर्वाचनका लागि त्रीपक्षीय भीडन्त हुने देखिएको छ।

नेपाली कांग्रेस, एमाले र जनता समाजवादी पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेस र एमालेमा मेयरका दावेदारहरु चारचार जना छन् भने जनता समाजवादी पार्टीबाट एकजनाको नाममा सहमति भइसकेको छ।

नेपाली कांग्रेस र एमालेका टिकट नपाउनेहरुले रुष्ट भएर अन्तरघात गर्ने वा आफू निस्क्रिय हुने अवस्थामा आफूलाई फाइन हुन सक्नेमा जनता समाजवादी पार्टी आशावादी देखिएको छ।। कञ्चनरुप नगरपालिकामा ३५ हजार ४ सय ९ मतदाता छन्। जसमा दलितहरुमात्र ११ हजार छन्।

वि.सं. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कञ्चनरुप नगरपालिकामा एमालेका बसन्त मिश्रले ५ हजार ४१ मत ल्याएर मेयर पदमा जीतेका थिए भने उपमेयरमा नेपाली कांग्रेसकी निरु पोखरेलले जीतेकी थिइन्। अहिले विजयी मेयर बसन्त मिश्र नै मेयरमा टिकट लिन कसरत गरिरहेका छन्।

एमाले भित्र मेयरका दावेदारहरुमा माधव चौधरी र मोहम्मद सलिम समेत छन्। माधव चौधरी यस अघिको स्थानीय तहको निर्वाचनमा राजपा पार्टीबाट उठेर २ हजार ६ सय मत ल्याएका थिए।

एमालेले त्यो मतसमेत जोडिरहेको छ। सप्तरीका एमालेका नेता भनेर चिनिएका दिवाकर देवकोटाले समेत बसाई सराई गराएर कञ्चनरुप नगरपालिकामा ल्याएपछि एमाले भित्रै नयाँ बहस शुरु भएको छ।

यदि नेपाली कांग्रेसले पहाडी समुदायको कसैलाई मेयरको उम्मेदवार बनायो भने देवकोटालाई मेयरमै प्रतिस्पर्धा गराउने रणनीति एमालेको रहेको कञ्चनपुर बजारको चिया पसलको गफमा सुनिन थालेको छ। दिवाकार देवकोटा तिनै व्यक्ति हुन् जसलाई दोस्रो स्थानीय तहको निर्वाचनका बेला सप्तरीबाट एमालेले सभापतिमा उठाएको थियो।

एमालेको जिल्लाभरी ७० प्रतिशत भन्दा बढी मत भएपनि उनी पहाडेमूलका भएकाले नेपाली कांग्रेसका दिनेश यादवसंग हारेका थिए। देवकोटाभन्दा सिनियर जयकृष्ण गोइतलाई एमालेले सभापतिको टिकट नदिएर उपसभापतिमा उम्मेदवारी दिन भनेकोले आफूलाई अपमानित गरेको भनेर उनले विद्रोह गरी विपक्षी पार्टीलाई निर्वाचनमा जीताएका थिए।

गोइतलाई एमाले छोडेर माओवादी र माओवादी छोडेर जनतान्त्रिक तराई मुक्ति मोर्चा खोल्न बाध्य बनाइएको थियो। बैशाख ३० को निर्वाचनमा फेरि त्यस्तै कुनै तानावाना बुनिदैछकी भनेर एमालेका स्थानीय रैथाने नेता र कार्यकर्ताहरु शसंकित भएका छन्।

एमालेले थारुको भोट जोगाउनका लागि माधव चौधरीलाई उम्मेदवार बनाउने होकी मुस्लिमको ४ हजार भोटको लोभ गरेर मोहम्मद सलिमलाई मेयरको उम्मेदवार बनाउने हो कि भनेर स्थानीय विश्लेषकहरुले चौक चौराहामा भन्ने गरेका छन्।

नगरपालिकामा लगातार पछिल्लो २ बर्ष १७ करोडका दरले बेरुजू आएको र विकासको बजेट कम खर्च गरेको आरोप लागेका अहिलेका मेयरलाई एमालेले दोहोराउने सम्भावना पनि उत्तिकै रहेको छ।

तर यसले एमालेलाई घाटा हुने आंकलन गरिँदैछ। मतदाताहरुले नयाँ स्वाद खोजिरहेकोले एमालेले समेत नयाँ स्वाद ल्याओस भन्ने चाहना एमाले कै कार्यकर्ताहरुको रहेको छ। यसले एमालेकै भुवन केसी समेत मेयरको दावा गरिरहेका छन्।

उता नेपाली कांग्रेसमा स्थानीय धनाढ्य भनेर चिनिएका र संविधानसभा सदस्य भइसकेका तथा श्रमती अहिले कांग्रेसका तर्फबाट उपमेयर समेत रहेका डा. सुबोध पोखरेलले मेयरको टिकटका लागि तलदेखि माथीसम्मको सोर्स लगाएकाले उनले नै पाउने स्थिति देखिएको छ।

पोरखेल शेरबहादुर देउवा समूहका भनेर चिनिन्छन्। उनले आफू मेयर बन्ने श्रीमती निरु पोखरेल जो अहिले उपमेयर छिन्, उनलाई समानुपातिकमा सांसद बनाउने भन्ने रणनीतिमा गएकाले कांग्रेसका सक्रिय व्यक्तित्वहरु चुनावका बेला निस्क्रिय हुने सम्भावनाहरु देखिँदैछ।

कांग्रेसमा क्षेत्र नं.को क्षेत्रीय अध्यक्ष रहेका ललन प्रसाद गुप्ता पनि मेयरको दावेदार रहेका छन्। उनी नेपाली कांग्रेसको महाधिवेशनका बेला शुरुमा डा. शेखर कोइरालाको खेमामा लागेका र दोस्रो चरणमा शेरबहादुर खेमामा लागेका व्यक्ति हुन्।

भर्खरै सम्पन्न नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा गुप्ताले देउवाका पक्षलाई सभापतिमा साथ दिएनन्। यसले गर्दा अहिले दुबै खेमाबाट उनीप्रतिको विश्वास टुटेकोले क्षेत्रीय सभापति भएपनि उनलाई टिकट नदिने अवस्था देखिएको छ।

कांग्रेसका अन्य मेयरका दावेदारहरुमा विनोट कुमार दत्त र भरतराज शर्मा रहेका छन्। दत्त सप्तरी सहकारी संघको अध्यक्ष समेत रहेकाले उनको नेटवर्क समेत बलियो रहेको छ। भरतराज शर्मालाई मेयर बनाउनु पर्दछ भनेर एउटा वडाबाट मात्र सिफारिस गएकोले उनी सबैभन्दा योग्य भएपनि आफू टिकट माग्न भने घरघर धाउने काम गर्न चाहिरहेका छैनन्।

यस अघि मेयरमा उनलाई टिकट दिएको पनि रातारात विमलेन्द्र निधिले धोका दिएर उनलाई उम्मेदवार हुनबाटै रोकेकाले आफ्नो अपमान गरेको महशुस गरेर लगभग सामाजिक काममा व्यस्त रहने तर पार्टीको खेमाको राजनीतिमा ध्यान नदिने गरेको उनका निकटहरुले बताएका छन्।

जसपाले आवश्यकताको आधारमा गठबन्धन गर्ने भनेकोले कञ्चनरुपमा जसपालाई गठबन्धन गर्न आवश्यक छैन भन्ने बुझाई केन्द्रीय नेताहरुमा रहेको देखिएको छ।
जनता समाजवादी पार्टीले एकसाता अघि नै पत्रकार भोला पासमानलाई मेयरको उम्मेदवार बनाउने घोषणा गरिसकेको छ।

पासमानले कोरोनाका बेला मधेस प्रदेशभरी दलित र गरिबहरुलाई पटक पटक राहत बाँडेको र जाडोमा कम्मल बाँडने तथा स्वास्थ्य शिविरहरु विभिन्न स्थानमा राख्ने काम नियमित रुपमा गरिरहेकाले कञ्चनरुपका दलितहरु यसपाली भोला पासमानलाई जीताउने रणनीतिमा गएका छन्।

यस अघिको विजयी मेयरका उम्मेदवारले ५ हजार ४१ मत ल्याएकोले भोला पासमान कञ्चनरुप नगरपालिकामा रहेको दलितको ११ हजार भोटमा ८ हजार आफ्नो पक्षमा आउने र जनता समाजवादी पार्टीले यस अघिको निर्वाचनमा ल्याएको ३ हजारको हाराहारीको मतले थप फाइदा हुने अनुमान गरिरहेका छन्।

पासमानले दलित अधिकारका लागि गाउँगाउँ गएर समाचार, लेखहरु लेख्ने गरेको र प्रदेशको दलित सम्बन्धी ऐन कानुनहरु बनाउँदा सक्रिय भूमिका निर्वाह गरेकाले दलितहरु उनको उम्मेदावारीलाई सफल पार्ने प्रयासमा दिनहुँजसो बैठक गर्ने गरिहेका छन्। दलितको मत विक्रि हुन्छ भन्ने आरोपलाई यसपटक दलित समुदायले किरिया खाएर कसैले पैसा दिन आउँछ भने उसको पैसा नलिने भन्ने रणनीति अपनाएका छन् ।

दलित अधिकारको कुरा गर्नेहरु एमाले वा अन्य कुनै पार्टीमा भएपनि भोला पासमानलाई जीताउनु पर्दछ भनेर लागेका छन्। केही बामपन्थी दलित मत झिनो रुपमा बामपन्थीहरुमै जानसक्ने भएपनि सो मत एक हजार देखि १५ सयसम्म केही मेयरका उम्मेदवारहरुले लिन सक्ने भएपनि सबै मत एकै उम्मेदवारमा जानसक्ने अवस्था छैन।

नेपाली कांग्रेसको कञ्चनरुप नगरपालिकामा दलित भातृसंगठन समेत छैन। जसले गर्दा दलितको समर्थन यो पटक भोला पासमानले पाउन सक्ने सम्भावना बढेर गएको छ। दलित महिलाहरुको मत धेरै बदर हुने गरेकोले जति कम मत बदर हुन्छ उती जनता समाजवादी पार्टीका तर्फबाट मेयरमा उम्मेदवारी दिने पक्कापक्कि भएका भोला पासमानको जीत सुनिश्चित हुने देखिएको छ।

स्थानीय नेपाली कांग्रेस समर्थक विजय यादवका अनुसार नेपाली कांग्रेस र एमालेको संगठनको भोट रहेको र भोला पासमानको संगठनको भोट कमजोर रहेको छ। संगठन भन्दा भोला पासमानको पपुलर भोट रहेको यादवले बताए। पहिले पहिले दलितहरुको मत विक्रिभएजस्तै यो बर्ष पनि हुन्छ भन्ने आशंका उनको रहेको छ।

स्वयं भोला पासमान भने नागरिकहरुले परिवर्तन चाहेको र परम्परागत प्रणालीका आधारमा चल्ने प्रबृत्तिका भएकाले कांग्रेस र एमालेको विकल्पमा नागरिकले जनता समाजवादी पार्टीको सिंगो टीमलाई सहयोग गर्ने बताए। उनले स्थानीय सरकार भनेको विकास गर्नका लागि भएकोले विकासका विभिन्न उपायहरु बुझेको र नागरिकको सेवामा नियमित रुपमा लागेकालाई नै यो पटक मतदाताले विश्वास गर्ने उनको तर्क रहेको छ।

एमालेबाट फुटेका नेकपा एकीकृत समाजवादी पार्टीको मेयरको चर्चा नसुनिए पनि अस्तित्वका लागि एमाले हराऊ अभियानमा उनीहरु लाग्न सक्ने देखिएकोले यसले एमालेको उम्मेदवारलाई नै असर गर्ने देखिएको छ।

नेपाली कांग्रेसमा अन्तरघात हुने वा सहयोग नगर्ने रोग पुरानै हो । यो रोग कञ्चनरुप तर्फ सल्किने हो भने उनीहरुको स्थिति त्यसैपनि कमजोर हुन सक्दछ । निर्वाचनमा कसले कुन रणनीति अंगिकार गर्दछन् ? कसकसले उम्मेदवारी दिन पाउँछन् त्यस अनुसार पनि कसको जीत हुन्छ भन्ने सकिन्छ । भोट काट्नका लागि थारु समुदाय र मुश्लिम समुदायको अन्त्यमा जसतर्फ झुकाब हुन्छ उसको जीत सुनिश्चित हुन्न भन्ने देखिएको छ ।

सप्तरी जिल्ला उपेन्द्र यादव र रेणु यादवको कर्मभूमी भएकोले प्रतिनिधिसभाको चार निर्वाचन क्षेत्र मध्ये १ र २ नं. क्षेत्रलाई उनीहरुले बढी केन्द्रविन्दुमा राख्ने देखिएकोले अन्य केही पालिकाहरुमा गठबन्धन हुने भएपनि आवश्यकताका आधारमा आफू जीत्ने निश्चित नभएकोमा मात्र जसपाले गठबन्धन गर्ने देखिएकोले कञ्चनरुपमा अस्ती भन्दा हिजो, हिजो भन्दा आज गठबन्धनको सम्भावनाहरु क्षीण भइरहेको छ । जनता समाजवादी पार्टीले मेयर पाएमात्र गठबन्धनमा जानसकिने सर्त अघिसारेकोले मिनी गठबन्धनका सम्भावनाहरु अगाडी आएका छन् ।

अर्थात एमालेले कमल थापासंग गठबन्धन गरेजस्तै नेपाली कांग्रेसले माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीसंग र जनता समाजवादी पार्टीले अन्य दलित केन्द्रित पार्टीहरुसंग सहकार्य गरेर अघि बढ्ने देखिएको छ ।

सीके राउतको जनमत पार्टीको जो सुकै उम्मेदवार भएपनि जमानत बचाउन समेत धौधौ पर्ने भनिरहेका छन्। नेकपा माओवादी केन्द्रले सत्यनारायण चौधरीलाई उठाउन सक्दछ । नेपाली कांग्रेसले गठबन्धन नभएमा माओवादीलाई साथमा लिएर भएपनि जसपा बाहेककोगठबन्धन गर्ने विकल्प सोचेको देखिन्छ । यो स्थिति आयो भने दलित र मुश्लिमको भोटको आधारमा भोला पासमान र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा नेपाली कांग्रेसका डा. सुबोध पोखरेलको प्रतिस्पर्धा हुने देखिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *