श्रीलंकाले ५१ अर्ब डलर विदेशी ऋण तिर्न नसक्ने घोषणा गर्‍यो

डिसी नेपाल
२९ चैत २०७८ १३:४०

काठमाडौं । आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाले मंगलबार ५१ अर्ब डलरको वैदेशिक ऋण तिर्न नसक्ने घोषणा गर्दै आफुलाई ‘डिफल्ट’ गराएको छ । समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार श्रीलंकाले अहिलेको अवस्थामा अत्यावश्यक वस्तुको आयातका लागि विदेशी मुद्रा सकिएपछि यो ‘अन्तिम उपाय’ भएको बताएको छ ।

श्रीलंकाले स्वतन्त्रता यताकै सबैभन्दा खराब आर्थिक अवस्थाको सामना गरिरहेको छ। खाद्यान्नदेखि इन्धनसम्म सबै सकिएको छ । श्रीलंकाको अर्थ मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ‘विदेशी सरकारहरू सहित ऋणदाताहरूले मङ्गलबारदेखि मूल सावाँ रकममा ब्याज रकमलाई जोड्न वा श्रीलंकाली मुद्रामा भुक्तानी लिन स्वतन्त्र छन्।’

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले देशको आर्थिक अवस्था थप खस्किन नदिन आपतकालीन उपायका रूपमा यो अन्तिम कदम चालेको छ ।’ अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय मुद्रा कोषको राहत प्याकेज कार्यान्वयन गर्नुअघि सबै ऋणदाताको रकम भुक्तानीमा ‘डिफल्ट’ गरिएको र यसमा कुनै भेदभाव नगरिएको पनि बताएको छ ।

श्रीलंकाको आर्थिक संकटले देशका दुई करोड जनताको पीडा बढाएको छ, जहाँ सरकार विरोधी प्रदर्शनहरू हप्तौंदेखि चलिरहेको छ। गत वर्ष अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरूले श्रीलंकाको रेटिङ यसरी घटाएका थिए कि श्रीलंकाका लागि विदेशी पुँजी बजारबाट ऋण लिन लगभग असम्भव थियो।

श्रीलंकाले भारत र चीनसँग आर्थिक सहायता मागेको थियो तर बदलामा दुवै देशले आवश्यक सामग्री सापटी दिने प्रस्ताव राखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *