स्थानीय तह निर्वाचन : लहानमा राेचक भिडन्त

विजयप्रसाद मिश्र
१ वैशाख २०७९ १०:५८

सिरहा। लहान नगरपालिकामा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमाले र नेपाली कांग्रेसबीच भीडन्त हुने देखिएको छ। यस अघि एमालेबाट मुनि साहले ११ हजार ३०१ मत ल्याएर नगर प्रमुख पद हात पारेका थिए। उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अच्मितलाल चौधरीले ९ हजार १३१ मत ल्याएका थिए।

कोरोनाको कहरका बेला दलित, विपन्न, सुकुम्बासीबस्तीमा गएर पटक पटक राहत वितरण गरेर समाजसेवीका रुपमा चिनिएका महेश चौधरी र संगीता कर्मचार्यको जोडी विपन्न समुदायका लागि प्यारो भएका थिए। राहत वितरण गर्दा गर्दै कोरोना लागेर संगीता कर्मभार्यको मृत्यु भएपछि उनलाई लहानबासीले समाजिक शहिदको दर्जा दिएका छन्।

उनै सामाजिक शहिद कर्मचार्यका श्रीमान् महेश चौधरी नेपाली कांग्रेसबाट मेयरका दावेदार भएकाले पपुलर भोट पाउने कांग्रेसले आश गरेको छ। लहान नगरपालिकामा दलित समुदायको १८ हजार मत भएको र प्रायः सबै परिवारलाई महेश चौधरीले कोरोनाका बेला राहत र जाडोका बेला कम्मल वितरण गरेकाले दलित गरिबको मुखमुखमा महेश चौधरीको सुन्ने गरिएको छ ।

महेश चौधरी २०४९ सालमा विद्यार्थी राजनीति गरेर नेविसंघबाट स्थानीय लहान क्याम्पसमा स्ववियू सभापति भएका थिए । उनी नेपाली कांग्रेस लहान नगरसमितिको सभापतिमा दुईपटक र यसपटक सिरहा जिल्लाको संघीय क्षेत्र नं. १ को क्षेत्रीय सभापति समेत भएकाले आफूले मेयरको टिकट पाउनेमा विश्वस्त छन् ।

लहानमै नेपाली कांग्रेसबाट मेयर उठी सकेका रामसुन्दर चौधरी जसले अहिले सिरहा जिल्लाको नेपाली कांग्रेसको समानान्तर समितिको नेतृत्व गरिरहेका छन् उनीहरु महेश चौधरीको सट्टा संघीय सांसद तथा पूर्व राज्यमन्त्री पद्म नारायण चौधरीका छोरा सन्तोष चौधरीलाई मेयरको टिकट दिलाउन दौडधुप गरिरहेका छन् ।

सन्तोष चौधरी यस अघि प्रदेश सभामा एमालेका लगन लाल चौधरीसंग पराजीत भएका व्यक्ति हुन्। माथिको आशिर्वाद पाएका उनले टिकट उछिन्न सक्छन् भन्ने कांग्रेसको पुरानो परम्परा बुझेकाहरुको विश्लेषण छ ।

नेपाली कांग्रेसमा सुनिल महतो, अच्मितलाल चौधरी, अरुण केसी, फूलेश्वर महतो लगायतको समेत चर्चा छ । अरुण केसी प्रकाशमान् सिंहको खेमाबाट नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवार समेत भएका थिए।

अच्मितलाल चौधरी माथिल्लो तहमा खासै सम्पर्क नगर्ने तर स्थानीय तहमा कांग्रेसका लागि जिलोज्यान दिएर खट्ने व्यक्तिको रुपमा परिचित छन् । पद्मनारायण चौधरीका छोरा सन्तोष चौधरीको नाम चर्चाले गर्दा अच्मितलाल चौधरीको चर्चा ओझेलमा परेको छ ।

अर्को तर्फ एमालेबाट फुटेर गएको नेकपा एकीकृत समाजवादीको उपस्थिति लहानमा प्रभावकारी भएकोले पहिले विजयी गराउनेहरु नै अहिले फुटेर गएकोले मुनि साहलाई अप्ठेरो परेको एकीकृत समाजवादीका नेता कार्यकर्ताले दावी गरिरहेका छन्। उनीहरु जसरी भएपनि एमालेलाई हराउने रणनीतिमा रहेकाले भोट काट्न उम्मेदवारी दिनुपर्दछ भन्दैछन्।

एकीकृत समाजवादी निर्वाचनमा नउठदा पुराना एमाले समर्थक भोटहरु भनेरउनका कार्यर्काहरुले एमालेमै मत हाल्न सक्ने भएकोले गठबन्धन भन्दा पनि एमाले हराउन उठ्नै पर्ने विष्लेशन एकीकृत समाजवादीको छ । त्यसैले उनीहरुले यसपटक बिष्णु साहलाई मेयरको उम्मेदवार बनाउने चर्चा चलेको छ।

बिष्णु साह साविक तरेगाना गोविन्दपुर गाविसको अध्यक्षमा विजयी भइसकेका व्यक्ति भएकोले लहानको उत्तरी भेगमा उनको बर्चश्व रहेको स्थानीयहरुले बताएका छन्। लहान बजारको भोट बजारकै उम्मेदवारलाई पर्ने गरेको पुरानो परम्पराले मुनि साहले निर्वाचन जीत्न सजिलो भएको थियो।

अहिले बामपन्थी व्यापारीका रुपमा चिनिएका र कम्यूनिष्ट खेमाबाट लहान व्यापार संघको अध्यक्षमा उम्मेदवार बनेका भावना एण्ड दौलत नामको होलसेल हार्डवेयर पसलका सञ्चालक विनोद साह समेत मेयर मुनि साहको विरोधमा नेकपा एकीकृत समाजवादीबाटै मेयरको उम्मेदवारी दिन तम्सिएकाले एमाले धर्मसंकटमा परेको लहान बजारको चिया पसलमा गफ चल्ने गरेको छ ।

एमालेबाट अहिले विजित मुनि साहको विरोधमा एकीकृत समाजवादीबाट दुई दुई जना साह थरकै हस्तीहरुले उम्मेदवारी दिने निधो गरेपछि नगरपालिकामा रहेको साह समुदायको ४ हजार ५ सय मतमा भागबण्डा हुने भएको छ ।

मधेसमा जातिय समिकरणले समेत महत्व राख्ने भएकोले एकीकृत समाजवादीबाट बिष्णु साह र विनोद साहमध्ये एकले उम्मेदवारी दिएभने एमालेले जीत्ने रणनीति अवलम्बन गर्न लगनलाल चौधरीलाई मेयरका लागि अघि सार्न सक्ने आंकलन गरिदैछ । लगनलाल चौधरी अहिले लहान नगर क्षेत्र पर्ने प्रदेश सभा सदस्यका रुपमा छन् ।

उनी पञ्चायतकालदेखि बहुदलीय व्यवस्थामा समेत पटक पटक लहानको मेयरमा निर्वाचित भइरहेका व्यक्ति हुन । लहानमा थारु समुदायको १२ हजार मत भएकोले यहाँ एकजना मात्र थारु समुदायबाट उम्मेदवार भएमा स्वतः जीत्न सक्छन् भन्ने विश्लेषण गर्ने गरिन्छ ।

हुन त पहिले राप्रपाबाट लहान नगरपालिकाको उपमेयर र मेयर समेत भइसकेका प्रकाश केसी योबर्ष केपी ओली लहान आउँदा एमाले प्रवेश गरेकाले एमालेको पक्ष भारी भएको देखिएपनि नेकपा एकीकृत समाजवादीमा जनमत भएका व्यक्तित्वहरु गएका कारण अन्य नगरपालिका भन्दा लहानमा एमालेलाई अप्ठेरो पर्ने देखिँदैछ।

गठबन्धन भएर नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी मिल्ने अवस्था भएपनि जनता समाजवादी पार्टीले लहानमा गठबन्धनलाई स्वीकार नगर्ने सम्भावना बढेर गएको छ ।

लहानको मेयरका लागि नेकपा माओवादी केन्द्रबाट यस अघि खड्क नारायण चौधरीले मेयरमा दुई हजारभन्दा बढी मत ल्याएका थिए । यस पटक माओवादीले आफूले पहिले वडा अध्यक्षमा जीतेको वडा नं. २० र २१ मा गठबन्धनले उनीहरुकै लागि छोडेमा मेयरमा कांग्रेसलाई समर्थन गर्ने भएका छन् ।

उता मधेसमा राम्रो दखल राख्ने जनता समाजवादी पार्टीले भने यस पटक समेत आफ्नै मेयरको उम्मेदवार उठाउने तरखर गरेको देखिन्छ । जसपाबाट बैद्यनाथ साह यस अघिको निर्वाचनमा समेत मेयरमा उठेर ५ हजार ७ सय मत ल्याएर पराजित भएका थिए ।

उनी र अर्का व्यापारी चन्द्र नारायण महतोले जसपाबाट मेयरको दावी गरिरहेका छन् । केन्द्रमा जस्तो सुकै गठबन्धन भएपनि लहानको बजार क्षेत्रका दुई वडाहरु जहाँ अहिले पनि जनता समाजवादी पार्टीकाले वडा अध्यक्षमा जीतेका छन्, उनीहरु भित्र भित्रै एमालेसंग वडामा सहकार्य गरेर जाने रणनीतिमा भित्री छलफलमा जुटेका छन् ।

बजारको मटियर्वा डेउडी विरुद्धको पुरानो मतहाल्ने परम्परालाई यसपटक पनि निरन्तरता गराउने प्रयासमा केही व्यक्तिहरु लागेका छन् । मेयरमा मटिअर्वा डेउडी बाहेकबाट उम्मेदवार बनाउनु पर्ने तर्क कांग्रेस भित्र पनि उठीरहेको छ ।

पद्मनारायण चौधरी नेपाली कांग्रेसबाट पटक पटक सांसदमा विजयी हुने नाम हो। २०७४ सालमा प्रदीप गिरी प्रत्यक्षमा निर्वाचन लडेर पद्म नारायण चौधरीलाई समानुपातिक सांसदमा जान सहमत गराएका थिए।

अहिले पद्म नारायण चौधरी समानुपातिक सांसद रहेको र एमाले दुई गुट भएपछि पद्म नारायण चौधरीले सिरहा क्षेत्र नं. १ बाट प्रत्यक्षमा जीत्ने सम्भावना भएकोले दुबै पद् बुबा छोरालाई दिंदा परिवारवाद हुने भएकोले कार्यकर्ताहरुबाटै विद्रोह हुने डर शेरबहादुर देउवा खेमाको लाई छ ।

पहिले लहान नगरपालिकामा जम्मा मत ४५ हजारमा थियो भने अहिले बढेर ५७ हजार पुगेको छ । जसमध्ये पहाडी समुदायको ३ हजार, थारु समुदायको १२ हजार, दलित समुदायको १८ हजार, साह समुदायको ४ हजार ५ सय, महतो समुदायको ६ हजारको हाराहारीमा मत रहेको तथा यादव समुदायको मत समेतले महत्वपूर्ण भुमिका खेल्ने भएकोले सबै समुदायको उम्मेदवारलाई दलित समुदायको भोटको आश छ।

नेपाली कांग्रेसको देउवा पक्षका भनेर चिनिएका महेश चौधरीले उपमेयरका रुपमा दलित समुदायको रमिता कुमारी सदाको नाम प्रस्ताव गरेकाले दलितको सेम्प्याथिक भोट चोधरी पक्षमा बढ्ने आंकलन गरिदैछ । दलितको मत विक्नेगरेको आरोप लगाई रहँदा यो बर्षमा पनि भोट विक्ने नविक्नेमा नै निर्वाचनको परिणाम भरपर्दछ ।

दलित नविकेर उनीहरुलाई नै विपद् पर्दा राहतको पोको बोकेर घर घर टोलटोल गएकै कारण कोरोना संक्रमित भएर मृत्यु बरण गरेकी सामाजिक सहिदका श्रीमान् महेश चौधरीले बाजी मार्लान की भनेर एमालेले दलितकै मतका लागि नयाँ रणनीति बनाउन चाहेको छ। दलितको भोट दुबैतर्फ बाँडिदा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *