माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी

डिसी नेपाल
५ वैशाख २०७९ ७:१६

काठमाडौं। सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन्।

स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसाल र उपमहासचिव डा विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी तालमेल छलफल गर्न नसकिने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

गठबन्धनको बैठक सकेर महासचिव भुसाल र उपमहासचिव पौडेल पार्टी सचिवालय बैठकमा आइतबार सहभागी भएका थिए । सचिवालय बैठकमा संयन्त्रको बैठकमा भएको छलफलमा जानकारी गराउँदै महानगरपालिकाको नेतृत्व नदिने गरी गठबन्धनका नेताले षड्यन्त्र गरिरहेको नेपाललाई बताएका थिए ।

एकीकृत समाजवादीलाई सम्मानजनक सिट नदिने संकेत पाएका अध्यक्ष नेपालले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिको अवमूल्यन नगर्न गठबन्धनकै अन्य दललाई चेतावनी दिएका थिए । अध्यक्ष नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्ने गरेको समेत गुनासो गर्दै आएका छन् ।

नेपालले गठबन्धनभित्र सहमति हुन नसकेमा एक्लै लड्नुपर्नेगरी तयारी गर्न कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । गठबन्धन दलकै बीचमा सहमति हुन नसकेको अवस्थामा एक्लै चुनावमा होमिनुपर्ने बताउँदै उनले सोहीअनुसार तयारीमा जुट्न निर्देशन दिएका छन् ।

अध्यक्ष नेपाल चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको विभाजन हुनुपर्ने अडानमा छन् । उनले पोखरा महानगरमा ८ हजार पार्टी सदस्य रहेको र जनवर्गीय संगठनको संख्या जोड्ने हो भने १२ हजार पुग्ने भन्दै आफ्नो शक्तिका आधारमा दाबी गरेको बताए । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *