आफ्ना कार्यकर्ताले नै रोक्नुपर्छ गठबन्धनको अराजकता 

जगदीश दाहाल
५ वैशाख २०७९ १३:५७

अहिलेको सत्ताधारी गठबन्धन अब निर्वाचनमा पनि गठबन्धनकै रुपमा जानको लागि लगभग तयार छ। गठबन्धन दलका नेताहरुले आफूहरुको यो गठबन्धन प्रतिगमन विरुद्ध गठबन्धन भनेर थाकेका छैनन्।

जहाँ पुगेर मञ्च प्रयोग गरेर भाषण गरेपनि शेरबहादुर, प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव लगायतले भन्ने भनाइ भनेको प्रतिगमन विरुद्धको कदम गठबन्धन हो। तर आम सर्वसाधारणको बुझाइ भने अर्कै छ। र, यी दलका नेताहरुको व्यवहारले पनि यो गठबन्धनको उद्देश्य उनीहरुले भनेजस्तो होइन भनेर देखाइरहेको छ।

पहिलो कुरा त यो गठबन्धन नै अप्राकृतिक छ। विश्वमै दलीय र वैचारिक राजनीति सुरु भएयता प्रजातन्त्रवादी शक्ति र साम्यवादी शक्तिबीच विचारमा भिन्नता छ। यी दुई विचारधाराहरु विपरित छन् र यी दुई विचारका राजनीतिकर्मीहरु मिल्दैनन्। तर, नेपालमा भने त्यस्तो छैन।

पञ्चायतकालमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरु दुवै पञ्चायतविरुद्ध लडिरहेका थिए। त्यतिबेला दुवै विचारधाराका राजनीतिक दलको संघर्ष एउटै शक्तिसँग थियो। तैपनि वीपीले कम्युनिस्टसँग साझेदारी गरेनन्। तर, अहिले उनै वीपीले जन्माएको कांग्रेसका सभापति शेरबहादुर देउवा कम्युनिस्टसँग गठबन्धन गर्न मरिहत्ते गरेर लागेका छन्।

उनी यसरी मरिहत्ते गरेर लाग्नुको कारण पनि प्रस्ट हुँदै गएको छ। उनलाई न पार्टीको माया छ न देशको माया छ। उनलाई केवल सत्ता चाहिएको छ र यसका लागि जतिसम्म गिर्न पनि तयार छन्।

पञ्चायतकालमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरु दुवै पञ्चायतविरुद्ध लडिरहेका थिए। त्यतिबेला दुवै विचारधाराका राजनीतिक दलको संघर्ष एउटै शक्तिसँग थियो। तैपनि वीपीले कम्युनिस्टसँग साझेदारी गरेनन्। तर, अहिले उनै वीपीले जन्माएको कांग्रेसका सभापति शेरबहादुर देउवा कम्युनिस्टसँग गठबन्धन गर्न मरिहत्ते गरेर लागेका छन्।

वीपी कांग्रेसको नेतृत्वमा हुँदा देश र जनताको बारेमा सोच्थे, पार्टीको हित सोच्थे त्यसैले उनले विपरित विचारसँग सहकार्य गर्न सकेनन्। अहिलेको नेतृत्वलाई जसरी पनि सत्ता र शक्ति चाहिएको छ त्यसैले विचार सबै बेचेर खाइसकेका छन्।

कांग्रेस मात्रै होइन गठबन्धनका सबै दललाई चाहिएको सत्ता र शक्ति हो। त्यसैले कुनै पनि दलले आफूले गठबन्धन गरेको अर्को दलसँग आफ्नो विचार र सिद्धान्त मिल्दैन भन्ने कुरालाई कुनै महत्व दिएका छैनन्।

बाहिर प्रतिगमन विरुद्ध गठबन्धन भन्ने र भित्र गठबन्धनका नामबाट सत्ताप्राप्तिको उद्देश्य लिएर बनेको यो गठबन्धनको एउटै मात्र उद्देश्य भनेको कसरी कमाउने ? उनीहरु जे बिक्छ त्यही बेच्न तयार छन्।

जुन पद बिक्छ त्यही बेचिरहेका छन्। हालै सरकारले केही देशका लागि राजदूत नियुक्त गरेको थियो। त्यो नियुक्तिका लागि रेट नै तोकेर पैसा मागिएको कुरा बाहिरिएको छ। सरकारी पद योग्य व्यक्तिलाई दिइनुपर्ने हो तर पैसा तिर्न सक्ने व्यक्तिले पैसा तिरेर पद लिइरहेको कुरा बाहिरिँदै गर्दा यो गठबन्धनले देश बेचिरहेको बुझ्न गाह्रो छैन।

जहाँबाट पैसा आउँछ त्यसलाई नछोड्ने नीति लिएका यी सत्ताधारी दलहरुले सरकारले नियुक्त गर्ने पद पैसा लिएर बेचिरहेका छन्। यसबाहेक निर्वाचित भएर आउने पदमा आफन्तहरु भर्न पनि मरिहत्ते गरेर लागेका छन्।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा महानगरका मेयरदेखि गाउँपालिकासम्मका पदमा नेताका आफ्नौ श्रीमती, छोरा, बुहारी भए उम्मेद्वार उठाउने नीति लिएका यी दलले कुनै स्थानीय तहमा आफन्त उम्मेदवार हुने सम्भावना नभए अर्को कसैलाई उम्मेदवार बनाउँदा समेत पैसा मागेको कुरा समेत बाहिरिएको छ।

यी नेताले अहिले जसरी स्वार्थका लागि सत्ता र शक्तिको प्रयोग गर्दैछन् त्यसले राज्य व्यवस्था र राष्ट्रलाई नै संटकतिर धकेल्दै छ। अहिले जसरी गठबन्धनको गाँठो कस्ने कुरा यी नेताहरुले गरिरहेका छन् त्यसले आम सर्वसाधारण जनता मात्रै होइन उनीहरुकै समर्थन गरेर हिँड्ने कार्यकर्ता पनि असन्तुष्ट छन्। यसैको परिणामस्वरुप दलका तल्लो तहका कार्यकर्ता गठबन्धनको विरुद्ध विद्रोहमा उत्रिएका छन्।

केन्द्रमा शीर्ष नेताहरुले विचार नै नमिल्ने दलसँग गठबन्धन गर्न मरिहत्ते गरिरहँदा कार्यकर्ता भने त्यसको ठिक उल्टो विद्रोह गर्न सुरु गरेका छन्। पछिल्लो समय जसरी संखुवासभामा कार्यकर्ताहरुले आफ्नो नेतृत्वविरुद्ध विद्रोह गरेको देखियो, मनाङमा पनि त्यो देखियो, चितवनमा पनि देखियो। यो विद्रोहको लहर देशैभरी फैलिँदै गएको छ।

असन्तुष्टि देशैभरी भएको र खुलेर विद्रोह गर्न नसक्दा दबिएर रहेकोमा केही ठाउँबाट असन्तुष्टि विष्फोट भएर विद्रोहको रुपमा निस्किएपछि अन्य ठाउँका असन्तुष्टठहरुमा पनि हिम्मत आएको छ।

अब देशभरी विद्रोहको लहर चल्नेवाला छ। तर गठबन्धनले संवैधानिक संरचनाको गलत प्रयोग गर्ने, साँठगाँठ र मोलमोलैजा बढाउने, संवैधानिक, न्यायिक निकाय लगायत सबै ठाउँमा गठबन्धनले प्रभाव बढाउने प्रयास गरिरहेको छ।

गठबन्धनले जसरी देशका विभिन्न निकायबाट आफ्नो अनुकूल काम गराउने, त्रास, धाक, धम्की देखाएर काम गराउने गरिरहेको छ, गठबन्धनको यो चरित्र समाज र राष्ट्र विरोधी बन्दै गइरहेको छ।

संविधान कानुन र समाजको विरुद्धमा जसरी गठबन्धनको प्रहार बढिरहेको छ त्यसको विरुद्धमा पार्टीका निष्ठावान कार्यकर्ता नै उत्रिनुपर्ने बेला आएको छ। यसलाई रोक्नको लागि मुलुकका व्यासायिक, वुद्धिजिवीका संस्थाहरुले स्वयं अनुगमन गर्ने र त्यसको वास्तविकता र सत्यता जनसमक्ष ल्याउने काम गर्नुपर्छ।

पापड लगायतका प्राध्यापक संघ, नेपाल बार, पत्रकार महासंघ, शिक्षक, मजदुर संघ जतिपनि संगठन छन् ती सबैले गठबन्धनले भन्ने एउटा र गर्ने अर्कै कुराको निरुपणका लागि सडकमा उत्रिन तयार हुनुपर्ने दिन आइसकेको छ। सबै सचेत नागरिक सचेत हुन आवश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *