उद्योग वाणिज्य संघ निर्वाचन : ‘४० वर्षपछि खोलो फर्कियो’

डिसी नेपाल
७ वैशाख २०७९ ६:२६

पाँचथर।नेपालीमा एक उखान छ, ‘१२ वर्षपछि खोलो फर्कन्छ’। तर यो उखानको करिव साढे ३ गुणा बढी समयपछि यहाँ यस्तै खोलो फर्किएको छ, जुन जिल्लाको एकमात्र उद्योग वाणिज्य संघ (उवासंघ) हो।

५ दलीय गठबन्धनलाई परास्त गर्दै पाँचथर उद्योग वाणिज्य संघको १२ औं जिल्ला अधिवेशनमा ४ दशकपछि कांग्रेसको एकल नेतृत्व परिवर्तन भएको हो। जसको मुख्य व्यक्ति हुन् नवराज घिमिरे। उनले ५ दलीय गठबन्धनका उमेद्वार नरेन्द्र अधिकारीलाई ७९ मतान्तरले पराजीत गरे।

अर्थात २०३८ सालदेखि निरन्तर नेतृत्व गरिरहेको उवासंघ निर्वाचनमा पहिलो पटक कांग्रेसका उमेद्वारलाई पराजीत गरेर अध्यक्षमा निर्वाचित घिमिरे पूर्वमै चर्चा बटुलिरहेका छन्। उनी एमालेका लोकप्रिय युवा नेता पनि हुन्।

रमाइलो के छ भने, घिमिरेले झण्डै डेढ दशकदेखि उवासंघकै कर्मचारी भएर काम गरे। २०५७ मा सहायक कर्मचारीको रुपमा प्रवेश गरेका घिमिरेले संघको कार्यकारी अधिकृतसम्मको कार्यभार पूरा गरेका थिए। त्यसअघि उनी जागिर छोडेर अघिल्लो अधिवेशनमा महासचिवमा निर्वाचन जिते।

यो पटक एमालेबाहेक ५ दलले गठबन्धन बनाएर निर्वाचनमा होमियो। घिमिरेले राप्रपा र राप्रपा नेपालसित सहकार्य गरे। १ हजार ५ सय ३० मतदाता रहेको संघमा ५ दलको गठबन्धनबाट १४ जना निर्वाचित भए भने घिमिरेको टिमबाट अध्यक्ष, उपाध्यक्षमा सोम थापा र निलम गिरी र ३ जना सदस्य विजयी बने।

२०३८ मा स्थापना भएको संघमा नेपाली कांग्रेसका व्यवसायीको एकल बहुमत छ । स्थापनादेखि इश्वरीप्रसाद तिमल्सेना, भक्तबहादुर थापा, कूलराज संग्रौला, मित्रप्रसाद काफ्ले, सुबराज थापाले ११ औं अधिवेशनसम्म नेतृत्व गरेका थिए। यसपटक ५ दलको सहकार्य भएकोले गठबन्धन दलका व्यवसायीले निर्वाचन सहजै जित्ने आंकलन गरिएको थियो।

तर, त्यस्तो भएन। बहुमत ५ दलीय गठबन्धनको भए पनि अध्यक्ष र २ जना उपाध्यक्षसहित ६ जना गठबन्धनबाहिरबाट निर्वाचित हुन सफल भए।
यो निर्वाचनले स्थानीय तहको आसन्न निर्वाचनलाई प्रभाव पार्ने आंकलन गर्न थालिएको छ ।

५ दलको गठबन्धन बनाएर निर्वाचनमा जाने तयारीमा सत्ताधारी दल गृहकार्यमा जुटेका छन्। यसरी सहकार्य गर्दा पनि एमालेले पाँचथरका ८ मध्ये अधिकांस पालिकामा जित निकाल्ने अनुमान गर्न थालिएको छ।

संघमा करिव ४ सय मत बढी भएको गठबन्धनको टिमबाट अन्तरघात भएर जुन नतीजा आयो, त्यस्तै स्थानीय तहमा पनि हुने कांग्रेस, माओवादीकै नेता तथा कार्यकर्ता बताउन थालेका छन् ।

यहाँका पालिकामध्ये ४ वटामा एमालेको बहुमत ३ वटामा कांग्रेसको बहुमत र एक पालिका प्रमुख माओवादी केन्द्रले जितेको थियो । अब ५ दलीय गठबन्धन भए पनि नतीजा यस्तै आउने विश्लेषण हुन थालेको छ ।

‘संघको निर्वाचनले स्थानीय तहको निर्वाचनमा सकारात्मक संदेश दिएको छ, पालिकाहरुमा एमालेलाई विजयी बन्न यो उदाहरण बन्छ ।’ संघका अध्यक्ष घिमिरेले भने ।
संघको निर्वाचनमा झण्डै ४ सय मत नै चोर्न सफल भएको घिमिरेको टिमले जस्तै स्थानीय निर्वाचनमा पनि घात, अन्तरघात हुने धेरैको बुझाइ छ ।

अनि, नेपाली कांग्रेसले माओवादी केन्द्र, नेकपा एस र जनमोर्चाजस्ता विपरीत ध्रुवका दलसित गठबन्धन गरेको कारण पनि इमान्दार र प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने मतदाताले अन्तरघात नगर्लान भन्न सकिन्न ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *