महानगरमा भागबण्डा, उपमहानगरमा अड्को

डिसी नेपाल
७ वैशाख २०७९ ६:३७

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्तारूढ गठबन्धन आबद्ध चार दलबीच ६ महानगरपालिकामा तालमेल सहमति भए पनि उपमहानगरमा किचलो बढेको छ । पोखरा महानगरमा नेपाली कांग्रेसले अडान छाडेपछि सत्ताधारी दलबीच ६ महानगरको मेयर पदमा भने मंगलबार दिउँसै भागबण्डा मिलेको थियो ।

ती महानगरमा उपमेयरमासमेत भागबण्डा भइसकेको छ । तर, ११ उपमहानगर मेयर र उपमेयरमा सहमति जुट्न नसकेपछि सत्तारूढ दलले भागबण्डालाई अन्तिम रूप भने दिन सकेनन् । मंगलबार राति १० बजेबाट आज बुधबार बिहान २ बजेसम्म बसेको बैठकमा सहमति हुन नसकेको हो ।

सत्तारूढ दलले बनाएको निर्वाचन अनुगमन तथा परिचालन समिति संयोजक कांग्रेस नेता रामचन्द्र पौडेलले महानगर विषयमा सहमति भए पनि उपमहानगरमा बन्न नसकेको जानकारी दिए । ‘आज बुधबार ११ बजे पुनः बस्ने गरी बैठक सकियो, महानगरका विषयमा सहमति भए पनि उपमहानगरमा कुरा मिलेन,’ समिति संयोजक पौडेलले राजधानीसँग भने ।

६ वटै महानगर र ११ उपमहानगरमा गठबन्धन दलबीच तालमेल सहमतिलाई अन्तिम रूप दिन भन्दै रातारात बैठक बसिएको थियो । मंगलबार राति १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको चार घण्टा लामो छलफल बुधबार बिहान २ बजे बिनानिश्कर्ष सकिएको हो ।

गठबन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालबीच ६ महानगरमा भने मेयर पदमा भागबण्डा भइसकेको छ । जसअनुसार ६ मध्ये तीन महानगर काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले लिने, माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जसपालाई वीरगन्ज महानगर भाग परेको छ ।

स्रोतका अनुसार काठमाडौं महानगरमा मेयर कांग्रेसले लिँदा उपमेयर नेकपा एसलाई दिने सहमति भएको छ । ललितपुरमा उपमेयर माओवादी केन्द्रको भागमा परेको छ । यसैगरी, विराटनगरमा मेयर कांग्रेसले लिने भएपछि उपमेयर जसपाको भागमा परेको छ ।

भरतपुरमा मेयर माओवादीले लिने र उपमेयरसहित सबै वडाअध्यक्ष कांग्रेसले निलेगरी सहमति गरिएको दाबी गरिएको छ । त्यस्तै, पोखरामा नेकपा एसलाई मेयर दिएर सहमति गरिएपछि कांग्रेसलाई उपमेयर दिइएको छ ।

वीरगन्ज महानगरमा मेयर जसपालाई दिएर उपमेयर कांग्रेसले लिनेगरी सहमति भएको छ । पोखरा महानगर विषयमा कांग्रेसको अडान कायम रहँदा सोमबार गठबन्धनबीच सहमति जुटेको थिएन । तर, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पोखरा कांग्रेसका नेतालाई मनाएपछि सहमति बनेको हो।

पोखरा महानगरका कारण गठबन्धन नै टुट्ने अवस्था आएपछि देउवाले मंगलबार दिउँसो पोखराका कांग्रेस नेताहरूलाई काठमाडौं बालुवाटार बोलाएरै गठबन्धनको बाध्यता बुझिदिन आग्रह गरेका थिए । देउवाले बोलाएपछि कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका कांग्रेस सभापति शुक्रराज शर्मा र नेता यज्ञबहादुर थापासहितको टोली काठमाडौं आएको थियो ।

गठबन्धनमा आबद्ध दल शनिबारदेखि नै महानगर र उपमहानगर मेयर तथा उपमेयर पदको भागबण्डामा थिए । आइतबार र सोमबार दलबीच प्रमुख पद भागबण्डा’bout घनीभूत छलफल भएको थियो । सोमबार राति नै ६ महानगर विषयमा गठबन्धनमा आबद्ध दल सहमतिनजिक थिए । तर, पोखरा महानगरमा प्रमुख पदमा कांग्रेस र नेकपा एसको अडान जारी रहेपछि सहमति बनेको थिएन ।

मंगलबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले कास्की कांग्रेस नेताहरूलाई बालुवाटारमै बोलाएर मनाएपछि गठबन्धन आबद्ध दलबीच महानगर भागबण्डामा सहमति भएको हो । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले विराटनगर र ललितपुर महानगरपालिकामा जित हात पारेको थियो ।

वीरगन्ज महानगरमा जसपा, पोखरामा नेकपा एमाले तथा भरतपुरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।  राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *