भागबन्डामा कांग्रेसको हात माथि

डिसी नेपाल
८ वैशाख २०७९ ७:२९

काठमाडौं। सत्तारूढ पाँच दलले स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयर पद भागबन्डा गरेका छन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरतर्फको मेयर र उपमेयरको सिटमा भागबन्डा गरेका हुन्।

गठबन्धनका तर्फबाट साझा उम्मेवार उठाउनेगरी ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयरमा भागबन्डाको लिखित सहमति भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

जसअनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद पाएको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर भाग पाएको छ भने नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पाएको छ । यसैगरी, जनता समाजवादी पार्टीले वीरगन्जको मेयर र विराटनगरको उपमेयर पाएको छ ।

यसैगरी, ११ उपमहानगरपालिकाको भागबन्डा गर्दा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज, धनगढी गरी सात उपमहानगरको मेयर पद पाएको छ भने जितपुर सिमरा, घोराही र हेटौंडा गरी तीन उपमहानगरको उपमेयर कांग्रेसको भागमा परेको छ ।

माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद भाग पाउँदा धरान र धनगढीको उपमेयर पाएको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पद पउँदा इटहरी, बुटवल र तुलसीपुरको उपमेयर उसको भागमा परेको छ । यसैगरी, जसपाको भागमा जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगन्जको उपमेयर परेको छ ।

सत्तारूढ गठबन्धनको आइतबारदेखि भागबन्डाको बैठक नेपालगन्ज उपमहानगरपालिकाको मेयरको भागबन्डा नमिल्दा मंगलबार राति २ बजेसम्म बसेको बैठकमा सहमति भएको थिएन ।

बुधबार बसेको सत्तारूढ दलको शीर्ष नेताको बैठकले नेपालगन्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउनेगरी सहमति जुटाएको हो । जनकपुरमा जसपालाई दिएपछि गठबन्धनमा उपमहानगरतर्फको भागबन्डा मिलेको आजको राजधानी दैनिकमा खवर छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *