विकिलिक्सका संस्थापक असान्जलाई अमेरिकालाई सुम्पिइने, १७५ वर्षको जेल सजाय हुनसक्छ

डिसी नेपाल
८ वैशाख २०७९ १३:५५
212
Shares

काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गरिने भएको छ । यसका लागि बेलायतको अदालतले औपचारिक रुपमा आदेश जारी गरेको छ । असान्जले २०१०-११ मा हजारौं गोप्य कागजातहरू सार्वजनिक गरेका थिए । वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतका न्यायाधीशले छोटो सुनुवाइमा सुपुर्दगीको आदेश दिएका हुन्।

अब बेलायती गृहमन्त्री प्रिती पटेलले सुपुर्दगीलाई स्वीकृति दिने वा नगर्ने निर्णय गर्नेछन्। यद्यपि असान्जका वकिलहरूले उच्च अदालतमा पुनरावेदन गर्न सक्छन्। प्रतिपक्षलाई पुनरावेदन गर्न मे १८ सम्मको समय छ ।

अस्ट्रेलियाका नागरिक असान्ज सन् २०१९ देखि लण्डनको बेलमार्श जेलमा बन्दी छन् । उनी पक्राउ परेपछि अमेरिकाको तर्फबाट अदालतमा सुपुर्दगीका लागि दायर गरेको निवेदन सार्वजनिक भएको थियो । अप्रिल २०१९ मा अमेरिकाले उनलाई ह्याक गर्ने षड्यन्त्र गरेको आरोप लगाएको थियो । २३ मे २०१९ मा, यूएस ग्रान्ड जुरीले असान्ज विरुद्ध जासुसीको १७ मुद्दा दर्ता गर्यो। असान्ज विरुद्ध लगाइएको सबै आरोपमा दोषी पाइएमा उनले १७५ वर्ष जेल सजाय भोग्न सक्नेछन्। जसका कारण असान्ज अमेरिका सुपुर्दगी गर्न राजी थिएनन् ।

असान्जले विकिलिक्स वेबसाइटमा सैन्य र कूटनीतिक कागजातहरू सार्वजनिक गरेका थिए । यसमार्फत उनले इराकमा अमेरिका, इङ्ल्यान्ड र नेटोका सेनामाथि युद्ध अपराध गरेको आरोप लगाए । असान्जमाथि अमेरिकी राष्ट्रपति चुनावका बेला रुसी खुफिया एजेन्सीहरूले हिलारी क्लिन्टनको अभियानसँग सम्बन्धित इमेल ह्याक गरेर विकिलिक्सलाई दिएको पनि आरोप छ।

असान्जले २०१२ मा इक्वेडरबाट शरण मागेका थिए, त्यसपछि उनलाई लन्डनस्थित इक्वेडरको दूतावासमा राजनीतिक संरक्षण दिइएको थियो। उनी २०१२ देखि २०१९ सम्म यहाँ बसे । ११ अप्रिल २०१९ मा उनी अदालतमा उपस्थित भएनन्, त्यसपछि उनलाई पक्राउ गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *