खोटाङमा ठूला दलले पहिलो दिन उम्मेदवारी दर्ता गराउन सकेनन्

डिसी नेपाल
११ वैशाख २०७९ २१:२२

खोटाङ । मनोनयन दर्ताको पहिलो दिन खोटाङका कुनै पनि ठूला दलले उम्मेदवारी दर्ता गराउन सकेनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेद्वार टुंग्याउन नसकेका कारण मनोनयन दर्ताको पहिलो दिन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धन र एमालेले उम्मेद्वारी दर्ता गराउन नसकेका हुन् । ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धन र एमालेले रातभरमा उम्मेद्वार टुंग्याएर सोमबार साँझ ५ बजेसम्ममा उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।

पहिलो दिन राप्रपा, खम्बुवान राष्ट्रिय मोर्चा र मंगोल नेशनल अर्गनाइजेसनले केही स्थानीय तहमा प्रमुख, उपप्रमुख सहित वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । केही वडामा एमाले र माओवादी केन्द्रका उम्मेद्वारले पनि वडाध्यक्ष र वडासदस्यमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । वडाध्यक्षमा तीन जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

जिल्लाकै ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा खम्बुवान राष्ट्रिय मोर्चाको उम्मेद्वारी दर्ता भएको छ । हलेसी तुवाचुङ नगरपालिकामा मंगोल नेशनल अर्गनाइजेसनले प्रमुखमा मनोनयन दर्ता गराएको छ । मंगोल नेशनल अर्गनाइजेसनले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा वडाध्यक्षको उम्मेदवारी दिएका छन् । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, ऐसेलुखर्क गाउँपालिकामा राप्रपाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा माओवादी केन्द्रले वडाध्यक्ष सहित चार सदस्यमा उम्मद्वारी दर्ता गराएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी र ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा राप्रपाले वडाध्यक्ष सहितमा मनोनयन दर्ता गराएको कार्यालयले जनाएको छ ।

यस्तै, केपिलासगढी गाउँपालिका–१ फेदी, केपिलासगढी गाउँपालिका–३ बासपानी र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमा एमालेले वडाध्यक्ष सहित सबै पदमा उम्मेद्वारी दर्ता गराएको छ ।

बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी परेको छ । फाक्टाङमै राप्रपाले एक वडा सदस्य र एक महिला सदस्यमा उम्मेदवारी दर्ता गराएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा जसपाले वडाध्यक्ष र एक सदस्यमा उम्मेद्वारी दर्ता गराएको छ ।

यस्तै, साकेला गाउँपालिका–२ रतन्छा र साकेला गाउँपालिका–५ मात्तिममा राप्रपाको वडाध्यक्षमा उम्मेदवारी परेको छ । मात्तिममा राप्रपाको दुई वडा सदस्यको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *