आकाशमा हेरौँ ग्रहहरूको परेड

डिसी नेपाल
१५ वैशाख २०७९ ६:२८

काठमाडौं। आकाशमा हरेक दिन सूर्यको चमक र हरेक रात चन्द्रमाको उज्यालो त सबैले देखेकै हो तर अचेल हरेक बिहान झिसमिसेमा आकाशका अन्य ग्रहको विशिष्ट दृश्य पनि देख्न पाइन्छ । अघि–पछि आकाशमण्डलमा मानिसको नजरबाट धेरै पर रहेका ग्रह अहिले सहजै देख्न पाइने विज्ञहरूले बताउन्छन् । ग्रहहरू धर्तीमा झर्न उद्यत भएको यो अकल्पनीय दृश्य बारम्बार नआउने अवलोकनकर्ताको भनाई छ ।

उनीहरूका अनुसार पृथ्वीको परिक्रमा गर्ने ग्रहहरूमध्येका चार ग्रह र चन्द्रमा एकै लहरमा आकाशमा पौडी खेल्न लामबद्ध भएर बसेझैँ गरी बसेको हेर्न पाइन्छ । यो दृश्य जुनसुकै बेला हेर्न पाइने होइन । खुला आकाशमा खुला आँखाले नै यो दृश्यावलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको उक्त समितिले यस विषयमा अध्ययन अवलोकन गरेपछि आमसर्वसाधारणलाई हेर्न अपिल गरेको छ ।

समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार बिहान ३ बजेपछि सूर्य उदाउनु अघिसम्म यो अनुपम दृश्य नेपालका जुनसुकै कुनाबाट हेर्न सकिन्छ । हेर्दाको अनुभव बताउँदै शर्माले भने, “सूर्य उदाउने पूर्व दिशातिर फर्केर १० डिग्रीदेखि ४५ डिग्रीसम्म माथि फर्केर हेर्दा वृहस्पति, शुक्र, मङ्गल र शनि ग्रह एउटै लहरमा पश्चिमतर्फ लर्केर बसेका हुन्छन् । बीचमा अर्ध चन्द्रमा तिनकै लहरमा मिसिएझैँ गरेर छेउ लागेर उभिएको हुन्छ ।” यसले माथिल्लो ब्रह्माण्ड नै पृथ्वीमा सयर गर्न आएको अनुभूति दिलाएको उनले सुनाए ।

दुई दिनयता देखिन सुरु भएको ग्रहको समूह पृथ्वीको नजिक पर्न आउँदाको अवस्थामा देखिएको हो । शर्माले थपे, “शुक्र निकै चम्किलो देखिन्छ, अनि मङ्गल केही रातो देखिन्छ, शनि र वृहस्पतिको दर्शन पनि अझ मजाले हेर्न सकिन्छ ।” एउटा ग्रहभन्दा अर्को ग्रह के कम भनेजस्तै परेडमा को पहिलो हुने अनौठो प्रतिस्पर्धामा ग्रहको समूह उत्रेको मनोरम दृश्यले अध्ययनकर्ताको ध्यान तानेको छ ।

यो कुनै समयको अन्तराल, कालखण्ड वा सामान्य अवस्थामा देखिने दृश्यावलोकन होइन । पृथ्वीलाई आधार मानेर परिक्रमा गर्ने ग्रहहरू पृथ्वीको एक कोणमा कुनै समयमा आइपुग्दा पृथ्वीको सतहबाट नजिक र खुला आँखाले देख्न सकिने भएको समितिले जनाएको छ । गोरखापत्र दैनिकबाट

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *