कञ्चन र सुदर्शनको कारबाही फिर्ता गर्न विप्लवमाथि महासंघको दबाब
काठमाडौं।नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ माथिको कारबाही फिर्ता गर्न महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई दबाब दिएको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले दुई नेतामाथिको कारबाही फिर्ता लिएर पार्टीलाई एक ढिक्का बनाउनसमेत आह्वान गरेको छ ।महासंघले पार्टीमा विवाद सिर्जना हुनुको कारण संसदीय व्यवस्था नमान्ने, निर्वाचनमा भाग नलिने र देशभक्त, बुद्धिजीवी, एमसीसीविरोधी स्वतन्त्र उम्मेदवारलाई सहयोग गरी जाने निर्णयको कार्यान्वयन सन्दर्भमा उत्पन्न विवाद भनेको छ ।
विवादकै बीच कञ्चन र सुदर्शनलाई महासचिव विप्लवले गरेको कारबाहीलाई महासंघले ‘कथित कारबाही’ भन्दै टिप्पणी पनि गरेको छ।विज्ञप्तिमार्फत महासंघले संसदीय दलदलमा नफस्न, विवादित विषयलाई मिलाएर लान, कारबाही फिर्ता गरी बैठक, भेला आयोजना गर्दै समस्याको हल खोज्न पनि सुझाएको छ ।
महांसघ अध्यक्ष हरि श्रेष्ठ, उपाध्यक्षहरू कालीबहादुर शाही र कर्ण सेन, महासचिव सागर अर्याल, सचिवहरू सागर तामाङ, दावा हेम्बो र कोषाध्यक्ष दिनेश निरौलाको विज्ञप्तिमा हस्ताक्षर छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment