तेलको मूल्य आकासिएको छ, उत्पादक राष्ट्रले किन घटाउँदैनन्?

डिसी नेपाल
२२ वैशाख २०७९ १३:५३

काठमाडौं । तेलको मूल्य आठ वर्षकै उच्च विन्दुमा पुगेको छ र आयातकर्ता देशहरूले तेल उत्पादक समूह ओपेक प्लसका राष्ट्रलाई आपूर्ति बढाउन भनिरहेका छन्।

तर ओपेक प्लसमा रहेका देशहरू सहयोग गर्न हतारिएको देखिएका छैनन्।

कच्चा तेलको मूल्य घटाउनुपर्ने विश्वव्यापी मागका माझ प्रमुख तेल निर्यातकर्ताहरूको बैठक मे ५ मा बस्दैछ।

ओपेक प्लस के हो?

ओपेक प्लस विश्व बजारमा कति कच्चा तेल पठाउने भनेर निर्णय गर्न हरेक महिना भियनामा बैठक गर्ने २३ वटा तेल निर्यातकर्ता देशहरूको समूह हो।

यसको केन्द्रमा तेल निर्यात गर्ने देशहरूको संस्था ओपेकका १३ वटा सदस्यहरू छन् जुन मुख्य गरी मध्यपूर्व र अफ्रिकी देशहरू हुन्।

सन् १९६० मा सामूहिक रूपमा विश्वव्यापी रूपमा तेलको आपूर्ति निर्धारण गर्न र त्यसमार्फत मूल्यमा नियन्त्रण कायम गर्न यो संस्था बनेको थियो।

हिजोआज ओपेक देशहरू विश्वको कच्चा तेलको ३० प्रतिशत परिमाण उत्पादन गर्छन्।

त्यो भनेको दुई करोड ८० लाख ब्यारल हो।

ओपेकमा आबद्ध देशहरूमध्ये सबैभन्दा बढी कच्चा तेल उत्पादन गर्ने साउदी अरबले दिनकै एक करोड ब्यारलभन्दा बढी कच्चा तेल उत्पादन गर्छ।

सन् २०१६ मा कच्चा तेलको मूल्य घटेको समयमा ओपेकका देशहरूले १० वटा गैरओपेक तेल उत्पादकहरूसँग मिलेर ओपेक प्लस गठन गरेका थिए।

उक्त समूहको सबैभन्दा ठूलो उत्पादक रुस हो जसले प्रतिदिन एक करोड ब्यारलभन्दा बढी तेल उत्पादन गर्छ।

संयुक्त रूपमा यी देशहरूले विश्वको कच्चा तेलको ४० प्रतिशतभन्दा बढी उत्पादन गर्छन्।

“ओपेक प्लसले बजारमा आपूर्ति र मागका बीच सन्तुलन कायम गर्ने गर्छ,” ईनर्जी इन्स्टिच्युटकी फेलो केट डरिअन भन्छिन्।

“उनीहरूले तेलको माग घटेको समयमा आपूर्ति कम गरेर उच्च मूल्य कायम राख्छन्।”

त्यस विपरीत ओपेक प्लससँग बजारमा थप तेल पठाएर मूल्य कम गर्ने अधिकार पनि छ।

प्रमुख आयातकर्ताहरू अमेरिका र ब्रिटेनले त्यसो गर्न भनिरहेका छन्।

तेलको मूल्य कसरी उच्च भयो?

सन् २०२० को वसन्त याममा विश्वभर कोभिड महामारी फैलिएका कारण विभिन्न देशहरूले लकडाउन लगाएको अवस्थामा खरिदकर्ताको अभावमा कच्चा तेलको मूल्य घट्यो।

डरिअन थप्छिन्, “उत्पादकहरूले मानिसहरूलाई उक्त तेललाई आफ्नो जिम्मेवारीबाट मुक्त गर्न पैसा समेत तिर्नुपरेको थियो किनभने उनीहरूसँग तेल भण्डारण गर्ने ठाउँ थिएन।”

त्यसपछि ओपेक प्लस आबद्ध सबै देशहरूले मूल्यलाई कायम राखिराख्न संयुक्त रूपमा एक करोड ब्यारल प्रतिदिनका हिसाबले उत्पादनलाई कटौती गर्ने निर्णय गरे।

सन् २०२१ को जुनमा कच्चा तेलको माग पुरानै अवस्थामा फर्कन थालेपछि ओपेकले बिस्तारै उत्पादन बढाउन थाले।

त्यसक्रममा उनीहरूले प्रतिदिन थप चार लाख ब्यारल तेल विश्व बजारमा पठाएका थिए।

अहिले उनीहरूले अघिल्लो वर्षको वसन्त यामभन्दा करिब २५ लाख ब्यारल कम तेल आपूर्ति गरिरहेका छन्।

तर जब रुसले युक्रेनमाथि अतिक्रमण गर्‍यो कच्चा तेलको मूल्य प्रति ब्यारल १०० डलरभन्दा माथि पुग्यो।

यसले पेट्रोल पम्पहरूमा तेलको मूल्य उल्लेख्य रुपले बढाएको छ।

“जब ओपेक प्लसले मे २०२० मा प्रतिदिन एक करोड ब्यारल आपूर्ति कटौती गरे, उनीहरूले निक्कै ठूलो कटौती गरे,” आर्गस मिडियाका प्रमुख अर्थशास्त्री डेभिड फाइफ भन्छन्।

“अहिले उनीहरूले कम गतिमा आपूर्ति वृद्धि गरिरहेका छन् जसले रुस-युक्रेन सङ्कटको प्रभावलाई ध्यान दिइरहेको छैन।”

तेल खरिदकर्ताहरूमाझ पनि युरोपेली सङ्घले अमेरिकाको नीतिलाई पछ्याउँदै रुसबाट हुने आपूर्तिमाथि प्रतिबन्ध लगाउने भय रहेको फाइफ बताउँछन्।

युरोपले अहिले रुसबाट प्रत्येक दिन २५ लाख ब्यारल कच्चा तेल आयात गर्छ।

“रुसी तेलमाथि प्रतिबन्ध लगाउने चेतावनीले बजारलाई त्रसित बनाइदिएको छ,” उनी भन्छन्।

“किनभने यसले गम्भीर आपूर्ति सङ्कुचनको अवस्था निम्त्याउन सक्छ।”

ओपेक प्लसले किन उत्पादन बढाउँदैन?

अमेरिकी राष्ट्रपति जो बाइडनले बारम्बार साउदी अरबलाई उसको तेल उत्पादन वृद्धि गर्न अनुरोध गरेका छन्।

तर त्यसबाट केही उपलब्धि हासिल भएको छैन।

यूकेका प्रधानमन्त्री बोरिस जोनसनले साउदी अरब र यूएईको भ्रमणका क्रममा दुवै देशलाई उत्पादन वृद्धि गर्न भनेपनि उनको अनुरोधलाई पनि अस्वीकार गरिएको थियो।

“साउदी र यूएईको थप क्षमता छ तर उनीहरू स्वयंले निर्णय लिएर आफ्नो उत्पादन बढाउन अस्वीकार गरिरहका छन्,” केट डरिअन भन्छिन्।

“उनीहरू पश्चिमा आदेशबाट त्यस्तो गर्न चाहँदैनन्।”

“उनीहरूले आपूर्ति र मागबीचको दूरी साँघुरो भइरहेको बताइरहेका छन् र अहिलेको उच्च मूल्यले तेल खरिदकर्ताहरूको त्रासमात्रै झल्काइरहेको बताइरहेका छन्।”

आर्गस मिडियाका फाइफ भन्छन्, “नाइजीरिया र अङ्गोला जस्ता उत्पादक पछिल्ला वर्षमा आफ्नो कोटाबाट संयुक्त रूपमा दैनिक १० लाख ब्यारलसम्म उत्पादन गर्न विफल भइरहेका छन्।

उनले थपे, “महामारीको समयमा लगानी घट्यो र कतिपय अवस्थामा तेल केन्द्रहरूको राम्रोसँग मर्मत सम्हार गरिएन।”

“अहिले उनीहरूले उत्पादन पूर्ण क्षमतामा बढाइयो भने आफूहरूले परिणाम दिन नसक्ने थाहा पाइरहेका छन्।”

रुसको अडान के छ

ओपेक प्लसले रुसको आंकाक्षाहरूको पनि सम्मान गर्छ किनभने गठबन्धनको दुई वटा प्रमुख साझेदारमध्ये मस्को एउटा हो।

“अहिलेको विन्दुमा मूल्यबारे रुसीहरू खुसी छन्,” क्रिस्टोल इनर्जीका प्रमुख कार्यकारी क्यारोल नाख्ले भन्छन्।

“यो घट्दा उनीहरूले पाउने केही छैन।”

“ओपेकले रुससँग राम्रो सम्बन्ध राख्न चाहन्छ। त्यही भएर अघिल्लो वर्ष सबैले बसेर गरेको सहमतिलाई उनीहरूले निरन्तरता दिने सम्भावना बढी छ।”

“त्यसको अर्थ अहिलेदेखि सेप्टेम्बरसम्म बिस्तारै कच्चा तेलको आपूर्ति बढाउने हो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *