स्थलगत : कञ्चनरुप नगरपालिकामा त्रिपक्षीय भिडन्त

विजयप्रसाद मिश्र
२५ वैशाख २०७९ ११:३५

कञ्चनपुर ( सप्तरी) । मधेस प्रदेशको सप्तरी जिल्लाको महेन्द्र राजमार्गसँग जोडिएको सप्तकोशीको किनारामा रहेको कञ्चनरुप नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिने ७ जना भएपनि जनता समाजवादी पार्टी, नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको छ।

नेकपा एमालेबाट मेयरका उम्मेदवार रहेका मोहमद् कलिम मियाँले नगर क्षेत्रमा रहेको मुस्लिमको चार हजार चार सय मतलाई भोटबैंकको रुपमा हेरिरहेका छन्। वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका बसन्त मिश्रले पाँच हजार चार सय ५१ मत ल्याएर विजयी भएका थिए।

एमालेले मिश्रले प्राप्त गरेको मतमा मुश्लिमको मत थपेर जसरी पनि मेयर जित्नका लागि यसपटक मुश्लिम उम्मेदवार प्रतिस्पर्धामा ल्याएको हो भन्ने गरिएको छ। कलिम मियाँ स्वयं मुश्लिम समुदायमा केन्द्रित गैरसरकारी संस्था चलाउने र विभिन्न मुश्लिम देश भित्र र बाहिरका संघसंस्थाबाट रकम ल्याएर मुश्लिम केन्द्रित विकासका कामगर्ने व्यक्तिका रुपमा चिनिएका छन्।

उनी नेकपा एमालेमा प्रवेश गरेको भने पाँचबर्ष पुगेको छ। यस अघि संविधानसभाको निर्वाचनका बेला शरदसिंह भण्डारीले नेतृत्व गरेको राजनीतिक पार्टीबाट सांसदको उम्मेदवार बनेर पराजित व्यक्ति हुन्।

नेपाल मुश्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको आशिर्वाद तथा मुश्लिमहरुको कुनै निकायबाट निर्वाचन खर्चसमेत पाउने आशाले एमालेको नेतृत्व बर्गले पहिले जीतेका एमालेका स्थानीय रुपमा संगठन गर्न सक्षम व्यक्तित्व बसन्त मिश्रलाई उम्मेवार नबाएको देखिन्छ।

एमालेले मुश्लिम समुदायको चन्दा प्राप्तिका लागि मोहमद् कलिम मियाँलाई उम्मेदवार बनाएको सुइको पाउने एमालेकै पुराना क्याडरहरु भने भित्रभित्रै पार्टीले गरेको हस्तक्षेपबाट रुष्ट देखिएका छन्। जनता समाजवादी पार्टी र नेपाली कांग्रेसले समेत मुश्लिम समुदायका व्यक्तित्वहरुलाई वडा अध्यक्ष र अन्य सदस्यका पदहरुमा उम्मेदवार उठाएकोले सबै मुश्लिम भोट एकतर्फ जान नसक्ने आंकलन गरिएको छ।

प्रारम्भिक सर्वेक्षणमा एमालेको संगठित एकहाजर पाँच सय सदस्यहरुले ३ हजार भोट सजिलै कलिम मियाँको पक्षमा हाल्न सक्ने र मुश्लिम समुदायको ४ हजार भोट उनले प्राप्त गरेभने ७ हजारसम्म भोट ल्याउन सक्ने विश्लेषण गरिँदैछ।

उता नेपाली कांग्रेसबाट ललन गुप्ताले मेयरको टिकट पाएका छन्। उनी यसअघि पनि मेयरमा उम्मेदवार थिए। उनले पहिले पाँच हजार मत ल्याएका थिए।

ललन गुप्ताले पचवनियाँ समुदायको मत तान्ने भएकाले उनलाई नेपाली कांग्रेसले पटक पटक मेयरको उम्मेदवार बनाइरहेको छ। पचवनियाँ समुदायको कञ्चनरुप नगरपालिकामा ७ हजार भोट जोडिने गरिएको छ।

गुप्ता नेपाली कांग्रेस सप्तरी जिल्लाको संसदीय निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सभापति समेत भएकाले मेयरको टिकट उनले इच्छाएपछि पाएको भएता पनि प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका अन्य उम्मेदावरहरुले आंशिक सहयोगमात्र गरेको पाइएको छ।

कांग्रेसको एउटा पक्ष जसरी पनि गुप्तालाई हराउने पक्षमा भित्र भित्रै रणनीति बनाइरहेकाले जो जीत्ने अवस्थामा प्रतिस्पर्धामा रहन्छ त्यसलाई नेपाली कांग्रेसको पुरानो भोटबाट ५ सय भोट जाने सम्भावना रहेको छ।

यसले उनले पहिले पाएको ५ हजारमा पाँच सय मत कम हुने पक्कापक्कि जस्तै भएपनि पछिल्लो समय सप्तरीमा यादव समुदाय विरुद्ध नेपाली कांग्रेसका पचवनियाँहरु एक भएर यादव इतरलाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिको पदाधिकारीहरुमा जीताएकाले यसको प्रभाव कञ्चनरुप नगरपालिकामा समेत परिरहेको छ।

केही पचवनियाँ समुदायका मानिसहरु ललन गुप्तालाई जिताउनु पर्दछ भनेर लागि रहेका छन् भने नेपाली कांग्रेस भित्रकै वा वाहिरका यादव समुदायहरु भने पचवनियाँ समुदायका गुप्तालाई भोट नदिने रणनीतिमा छन्।

यसले पनि यादव समुदायको पहिलो निर्वाचनमा जति भोट गुप्ताले पाएका थिए त्यसमा ४ सय जति कम हुने बताइएको छ । यसरी परानो मतमा ९ सय भोट घटने देखिन्छ। पहिले पनि गुप्ताले मत ल्याएकाले दोस्रोमा परेका थिए।

यसपटक त्यही पचवनियाँको नारा लगाएर पहिलेकोमा दुई हजार मत थप्न सक्ने आशा गुप्ताले गरेका छन् । साथै यसपटक पहाडी समुदायबाट कोही पनि मेयर उम्मेदवार नभएकाले त्यताबाट थप १ हजार मत तानेर सात हजारसम्म ल्याएर जीत्ने आंकलन नेपाली कांग्रेसको मेयरको उम्मेदवार गुप्ताको छ ।

त्यसैगरी जनता समाजवादी पार्टीले शुरुदेखि नै सर्वसम्मत उम्मेदावर बनाएको भोला पासमानलाई मेयरको प्रतिस्पर्धामा उतारेको छ। जनता समाजवादी पार्टीबन्नु भन्दा अघिको उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी पार्टीले यस अघिको स्थानीय निर्वाचनमा २ हजारको हाराहारीमा मत ल्याएको थियो ।

अन्य पार्टीहरु समेत एकीकरण भएर बनेको जनता समाजवादी दलमा अहिलेको संगठनलाई हेर्दा मनग्गे प्रगती गरेको छ। उपेन्द्र यादव कञ्चनरुप नगरपलिका क्षेत्रमा आयोजित एक कार्यक्रममा आउँदा हजारभन्दा बढी मानिसहरु उनको पार्टीमा प्रवेश गर्नुले यसपटको पपुलर भोट र संगठित भोट जोडेर ९ हजार मत भोला पासमानले ल्याउन सक्ने अनुमान गरेका छन् ।

उनीहरुले यसरी दावी गर्नुको पछाडी कञ्चनरुप नगरपालिका क्षेत्रमा ११ हजार ५ सय दलित समुदायको मत छ । उनीहरुमध्ये ६ हजारले भोला पासमानलाई भोट दिने सोच बनाएका छन् ।

अन्य पार्टीको दलित भातृसंगठनहरु नगर स्तरमा बनाउन नसक्नुले पनि दलितहरु एक भएको हो की भन्ने आंकलन गरिए पनि सबै वडामा दलित महिला जनप्रतिनिधि नेपाली कांग्रेस, एमालेले प्रतिस्पर्धामा उतारेकोले ती मार्फत १२ वटावडामा ५० देखि १ सय भोटसम्म मेयरमा अन्यत्र जाने देखिएको छ ।

यसले एमाले र नेपाली कांग्रेसले दलित समुदायको एक एक हजारका दरले दुई हजार काटने देखिउको छ । अन्य मेयरका उम्मेदवारहरुले पनि स्थानीयता र छिमेकीको नाताले थप ५ सय मत काटेर वाँकी मत भोला पासमानलाई आउने देखिएकोले उनले दलित समुदायबाट मत थपेर ९ हजारसम्म ल्याउने दावी गरिरहेका छन् ।

भोला पासमान यूवा र नयाँ अनुहार भएको तथा कोरोनाको कहरको बेला पटक पटक राहत बाँडेको, जाडोमा कम्मल बाँडेकोले विपन्न समुदायमा लोकप्रिय छन् ।

गैरसरकारी संस्था मार्फत दलितहरुको पक्षमा पैरवी गरेर छात्रबृत्ति दिलाउने, दलितलाई राजनीतिक अधिकार दिलाउन र जनसंख्याको आधारमा प्रदेश सरकारको सबै क्षेत्रमा दलितको प्रतिनिधित्व गराउने कानुनहरु बनाउन बाध्य पारेको घटनाहरुले गर्दा दलित समुदायमात्र होइन गैरदलितहरु भित्र पनि उनी संघर्षशील व्यक्तिको रुपमा परिचित छन् ।

पोलिसी बनाउने तहमै प्रभावपार्ने व्यक्तिको रुपमा काठमाडौंका बौद्धिक बर्ग र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुका कर्मचारी बीच लोकप्रिय बनेकाले उनी उम्मेदवार भएदेखि नै काठमाडौंको कुनै न कुनै टोली आएर पासमानको पक्षमा माहौल बनाइराखेका छन् ।

पहाडी समुदायमा मेयरको कोही उम्मेदवार नभएको तथा माओवादीले समेत मेयरको उम्मेदवार नबनाएकोले ती समुदाय र राजनीतिक पार्टीबाट विस्तारै पासमानको पक्षमा जानेकी भन्ने चर्चा शुरु भएको देखिएकोले उनले आंकलन गरेको ९ हजार मतमा थप एकहजार आउन सक्ने कञ्चनरुपको चिया पसलहरुमा बौद्धिक बर्गहरु विश्लेषण गरिरहेका छन्। उनीहरुको तर्कमा पहिलेजस्तो दलितको भोट मासु चिउरा र पैसामा विक्रि हुने परम्परा यो बर्ष अन्त्य हुँदैछ।

कञ्चनरुप नगरपालिकाको वडा नं. ११ मा जनता समाजवादी पार्टीले रामनरायण सदा मुसहरलाई वडा अध्यक्षको उम्मेदवार बनाएकोले शनिवारको घरदैलो कार्यक्रममा एक हजार भन्दा बढी दलित समुदायको उपस्थिति देखिएको छ। यसले दलित समुदायमा एकढिक्का भएर जाने सन्देश प्रवाह भएको देखिन्छ ।

भोला पासमान उठेको जनता समाजवादी पार्टीले वडा नं. ११ मामात्र होइन वडा नं. ५, ६ र ७ मा समेत दलित समुदायलाई वडा अध्यक्षको उम्मेदवार उठाएको, वडा नं. १२ मा बमबहादुर श्रेष्ठलाई वडा अध्यक्षमा उठाएको तथा वडा नं.८, ९ र १० मा यादव समुदाय, वडा नं. ३ र ४ मा साह समुदायको, वडा नं. २ मा पण्डित र वडा नं. १ मा मुश्लिम समुदायको मानिसलाई वडा अध्यक्षमा उम्मेदावर बनाएकोले विभिन्न जाति समुदायबाट समेत भोला पासमानका लागि मत थपिने देखिएकोले यो पटक त्रीपक्षीय भिडन्त भएपनि पासमानले अरु उम्मेदवार भन्दा दुईहजार बढी मत ल्याउन सक्नेदेखिएको छ ।

कञ्चनरुप नगरपालिकामा ३५ हजार ४ सय ९ मतदाता छन् । एमालेका मेयरका दावेदार भएर समेत टिकट नपाउनेहरु माधव चौधरी, बसन्त मिश्र र भुवन केसीको निस्क्रियता जति बढेर जान्छ उतिउति सबैको आशाको केन्द्रविन्दु भएका भोला पासमानको स्थिति झन झन् मजबुत हुने देखिएको छ ।

भोला पासमानको पाँचबर्षे योजना पढ्नेहरुले समेत उनलाई मत दिनुपर्ने होकी भन्ने विश्लेषण गरिरहेका छन् । स्थानीय निर्वाचनमा राजनीतिक पार्टीको सिद्धान्त भन्दा बढी विकासप्रेमी र सेवकलाई मत बढी आउने भएकोले यसमामलामा अरु उम्मेदवारलाई भोला पासमानले उछिनेको पाइन्छ ।

नगरक्षेत्रमा भएका कोणसभाहरुमा भोला पासमानको भाषण सुनेपछि सबै सर्वसाधारण मतदाताहरुले अन्य उम्मेदवारहरुसंग यसरी सर्वसाधारणलाई सबै विषय बुझाउने कला अन्य उम्मेदवारहरुमा नभएको टिप्पणी सुनिनुले भाषणका आधारमा पाउने मतहरु समेत पासमानको पक्षमा आउने देखिएको छ ।

नेपाली कांग्रेसले मेयरको रुपमा उठाएको व्यक्तित्व ललन प्रसाद गुप्ता नेपाली कांग्रेसको महाधिवेशनका बेला शुरुमा डा. शेखर कोइरालाको खेमामा लागेका र दोस्रो चरणमा शेरबहादुर खेमामा लागेका व्यक्ति हुन् ।

नेपाली कांग्रेसको सप्तरी जिल्ला अधिवेशनमा गुप्ताले देउवाका पक्षलाई सभापतिमा साथ दिएनन् । यसले गर्दा अहिले दुबै खेमाबाट उनीप्रतिको विश्वास टुटेकोले क्षेत्रीय सभापति भएपनि उनलाई एकजुट भएर पार्टीका कार्यकर्ता र शुभचिन्तकहरुले मत नहाल्ने सम्भावना बढेको छ । नेपाली कांग्रेस भित्र अन्तर्घात पुरानो रोग हो । यसले कञ्चनरुपमा समेत काम गर्ने देखिन्छ ।

भोला पासमानले २० बर्ष पत्रकारको भूमिका निर्वाह गर्दा दलित अधिकारका लागि गाउँगाउँ गएर समाचार, लेखहरु लेख्ने गरेको र प्रदेशको दलित सम्बन्धी ऐन कानुनहरु बनाउँदा सक्रिय भूमिका निर्वाह गरेकाले दलितहरु गाउँगाउँमा स्वतः स्फुर्त रुपमा खटिरहेको देखिन्छ । शनिवार राती मुसहर बस्तीका महिलाहरुले भोला पासमान मेयरमा जीतुन भनेर दिनभद्रीसंग भाकल गरेर पुजा नै आयोजना गरेका थिए ।

चर्चामा नआएपनि कञ्चनरुप नगरपालिकामा मेयरको उम्मेदवारी दिनेहरुमा राप्रपाबाट श्रवण विष्ट, जनमत पार्टीका इन्द्रदेव यादव रहेका छन् । विष्टले नेपाली कांग्रेस छोडेर राप्रपामा गएका हुन भने यादव एमाले छोडेर जनमत पार्टीमा गएका हुन् । यी दुबैको उम्मेदवारीले एमाले र कांग्रेसकै भोट काट्ने देखिएको छ ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट पुरुस्वत्तम चौधरी उम्मेदवार भएका छन्। उनले नेकपा एमालेकै करिब ७ सय भोट काट्ने देखिएको छ । त्यसैगरी महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टीले राजकुमार चौधरीलाई मेयरको उम्मेदवार बनाएको छ ।

उपमेयरमा नेपाली कांग्रेसले मुना पोखरेललाई उम्मेदवार बनाएको छ। एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले क्रमश : कल्पना चौधरी, बंशी चौधरी ( पुरुष) र कल्पना चौधरीलाई उठाएकोले तीनबटै पार्टीले थारु समुदायको भोट प्राप्तगर्ने लक्ष्य राखेको छ ।

जनता समाजवादी पार्टीले वडा अध्यक्षको उम्मेदवार बनाएकामध्ये वडा नं. १ का रब्बान खान एमाले छोडेर आएका व्यक्ति हुन भने वडा नं. २ का छेदीलाल पण्डित नेपाली कांग्रेस छोडेर आएका व्यक्ति हुन् ।

वडा नं. ३ का नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष सत्यनारायण साह यसपटक जनता समाजवादी पार्टीबाट वडा अध्यक्षको उम्मेदवार छन्। यसरी दलबदलूको अभियानले समेत यसपटक जनता समाजवादी पार्टीलाई साथ दिएको पाइन्छ ।

भोला पासमानले दलितको भोटलाई निर्वाचनको दिनसम्ममा बचाइराख्न भने चुनौती रहेको राजनीतिका पुराना खेलाडीहरु बताउँछन् । दलित भोट किन्नै पर्दछ भनेर एमालेले मुश्लिम समुदायबाट उम्मेदवार बनाएको र यसमा मुश्लिम समुदायका माथिल्लो शक्तिको हात भएको हल्ला कञ्चनरुपमा चलिरहँदा भोला पासमानका कार्यकर्ताहरु सचेत भएका छन्।

बीरगञ्जको नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारी र नेपाल मुश्लिम आयोगका अध्यक्ष समिम अन्सारीको सहयोगमा पैसाको खोलो बगाउने हल्ला चलिरहेकोले केही मतदाताहरु उक्त पैसाको लोभमा पर्न सक्ने अवस्था सृजना भएको छ। यसलाई रोकेर कसरी जीत्न सकिन्छ भन्नेमा नयाँ रणनीति बनाउन निर्णायक भोटबैंक रहेको दलित बस्तीमा गस्ती बढाउने काम भइरहेको छ।

पैसाको चलखेल र राजनीतिक पार्टीहरुले एकअर्कामा समर्थन नगरेसम्म कञ्चनरुप नगरपालिकामा भोला पासमान प्रति समर्थन बढेको देखिए पनि दलितबस्तीहरुमा घुम्दा केही घरहरुमा जनता समाजवादी पार्टीैबाहेकका पार्टीको झण्डा थप्ने क्रम छिटफुट रुपमा देखिन थालेकोले मत परिणाम आउँदासम्म एमाले, कांग्रेस र जसपामध्ये कसले बाजी मार्दछ भन्ने अवस्था छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *