कर्मचारीको तलब बढाउने तयारीमा सरकार

डिसी नेपाल
९ जेठ २०७९ ९:१०

काठमाडौँ। नेपाल सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ। सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी तलब बढाउने तयारी गरेको हो।

अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ। यति बेला अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ। पछिल्लो समय महँगी निकै बढेको र यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढेका कारण मन्त्रालयले कर्मचारीको तलब बढाउन लागेको हो।

मन्त्रालयका अनुसार दुई हजार रुपियाँ नघट्ने गरी तलब बढाउने तयारी छ। निजामती कर्मचारी सम्बद्ध ट्रेड युनियनले भने अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर पाँच हजार रुपियाँसम्म तलब बढाउन आग्रह गरेका थिए। तलब बढाउने सम्बन्धमा ट्रेड युनियनको सुझावलाई स्वीकार गर्दै अर्थमन्त्रीले खर्चले धान्ने गरी तलब बढाउने प्रतिक्रिया दिएको मन्त्रालयले जनाएको थियो।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार सबै उपभोग्य वस्तुको महँगी उच्च दरमा वृद्धि भएकाले तलब बढाउनुपर्ने माग कर्मचारीको छ। भर्खर स्थानीय तहको निर्वाचन सम्पन्न गरेको सरकारले आगामी मङ्सिर वा त्यसपछि कुनै समयमा प्रदेश र सङ्घको निर्वाचन पनि हुने हुँदा तलब बढाउने सम्बन्धित क्षेत्रका जानकार बताउँछन्। यो समाचार गोरखापत्र दैनिकमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *