सिरहा जिल्लामा नेकपा एमालेले पकड बढायो

विजयप्रसाद मिश्र
१० जेठ २०७९ ७:५६

लहान। स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा सिरहा जिल्लामा नेकपा एमालेले पकड बढाएको छ। १७ बटा पालिकाहरुमध्ये ९ पालिकामा नेकपा एमालेले प्रमुख र अध्यक्षमा विजय प्राप्त गरिसकेको छ।

जनता समाजवादी पार्टीले अर्नमा, नवराजपुर र औरही गाउँपालिका तथा कल्याणपुर नगरपालिका गरी चारवटामा मेयर र अध्यक्षमा विजयी भएको छ भने लहान र कर्जन्हा नगरपालिका र विष्णुपुर गाउँपालिकाको उपमेयर हात पारेको छ।

पहिले जसपाले मेयरमा जीतेको सिरहा नगरपालिका र भगवानपुर गाउँपालिका एमालेले खोसेको छ। जसपाले पहिले नेपाली कांग्रेसले जीतेको कल्याणपुर नगरपालिका खोस्न सफल भएको छ ।

नेपाली कांग्रेसले लहान नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकामा प्रमुख र अध्यक्षमा जीत हाँसिल गरेको छ।  नेकपा माओवादी केन्द्रले मिर्चैया नगरपालिकामा मात्र मेयरमा पुनः जीत हासिल गरेको छ। तर उसले यस अघि जितेको धनगढीमाई र कर्जन्हा नगरपालिकाको मेयरको पद गुमाएको छ।

नेकपा एकीकृत समाजवादीले सखुवाननकारकट्टी गाउँपालिकामा अध्यक्ष हात पार्न सफल भएको छ। उक्त गाउँपालिकामा पहिले पनि एमालेबाट केदारनाथ यादव विजयी भएका थिए। उनी माधवकुमार नेपालको समुहमा गएर एकीकृत समाजवादीबाट उम्मेदवार भएर यसपटक पनि जीत हाँसिल गरेका हुन्।

मधेसमा चर्चामा रहेको सिके राउतको जनमत पार्टीले मेयर र अध्यक्षमा सिरहा जिल्लामा कुनै पनि पालिका हात पार्न नसके पनि तीनवटा वडाअध्यक्षमा विजयी भएको छ। यसरी हेर्दा सिरहा जिल्लामा एमाले सबैभन्दा ठूला पार्टीको रुपमा स्थापित भएको छ भने दोस्रोमा जनता समाजवादी पार्टी र तेस्रोमा नेपाली कांग्रेस, चौथोमा माओवादी, पाँचौमा नेकपा एकीकृत समाजवादी र छैठौंमा जनमत पार्टी देखिएको छ।

एमालेले जीतेको ८ पालिकाहरुमध्ये सदरमुकामको सिरहा नगरपालिका पहिले जनता समाजवादी पार्टीको जित भएको थियो। यसपटक सिरहामा जसपाका तत्कालिन मेयर भइसकेका अशेश्वर प्रसाद यादव तेस्रो नम्बरमा परेका छन्। यहाँ सुरक्षा निकायले हत्या गरेको आरोप लागेका एमालेका पूर्व सांसद हेमनारायण यादवका छोरा डाक्टर नबीन कुमार यादवले एमालेबाट ११ हजार १४३ मत ल्याएर मेयर हुने सौभाग्य पाएका छन्।

दोस्रो प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले ८ हजार ७३२ मत प्राप्त गरेर हार व्यहोर्नु परेको छ। उनको हारको मूख्य कारणका रुपमा सिरहा नगरपालिकामा पहिले नेपाली कांग्रेसबाट वडा नं. १ को वडा अध्यक्ष रहेका महेश यादवले फेरी वडा अध्यक्षको टिकट नदिएकोले उनी जसपा पार्टीबाट टिकट लिएर पुनः वडा अध्यक्षमा निर्वाचित भएका छन्।

उनलाई कांग्रेसले टिकट नदिनु र वडा नं. २२ मा नेपाली कांग्रेसमा पूर्व केन्द्रीय कोषाध्यक्ष भइसकेकी सितादेवी यादवको पक्षमा रहेको विजीत वडा अध्यक्षलाई टिकट नदिई नयाँ अनुसारलाई दिएकाले सवक सिकाइएको देखिएको छ।

उपेन्द्र यादव शेरबहादुर देउवा खेमाका उम्म्ेदवारका रुपमा चिनिएकाले सितादेवी यादव खेमाले पहिलेको जस्तो सक्रियता नदेखाएको आरोप पनि लगाउने गरेको पाइएको छ।

सिरहाको उपमेयरमा एमाले कै बबिता कुमारी साह १०१२६ मत ल्याएकी छिन भने नेपाली कांग्रेसबाट ८५७७ मत ल्याउने सरिता कुमारी यादव दोस्रो स्थानमा परेकी छिन्।
सिरहाको महेन्द्र राजमार्गमा पर्ने धनगढीमाई नगरपालिकामा यस अघि नेकपा माओावदीका हरिनारायण चौधरी मेयर भएपनि यसपटक उनी तेस्रो नम्बरमा परेका छन्।

धनगढीमाईमा एमालेका शिवशंकर महतोले ७०५६ मत ल्याएर मेयर भएका छन् । दोस्रो स्थान ल्याउने नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका रामचन्द्र यादव ६९०१ मत प्राप्त गरेका छन् । १५५ मतको अन्तरले नेपाली कांग्रेसले मेयर पद गुमाउनु परेपनि उपमेयरमा भने नेपाली कांग्रेसले जीत हासिल गरेको छ।

माओवादी केन्द्रबाट पहिले मेयर रहेका हरिनारायण चौधरीले ४३६९ मत मात्र प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीले एमालेको भोट काट्ने र नेपाली कांग्रेस सहजै जीत्ने भनिएपनि एकीकृत समाजवादीका उम्मेदवार उत्तर बहादुर मगरले ९३८ मत मात्र ल्याउन सकेका छन् ।

त्यहाँ जनमत पार्टीका पवन कुमार यादव ८६२ मत ल्याएका छन् । यादव र महतो समुदायका मतदाताहरु प्राय ः जातिय आधारमा मत हालेको स्थानीय मतदाताले बताएका छन् । यादवमा नेपाली कांग्रेस र जनमत दुबै पार्टीबाट मेयरको उम्मेदवार भएकाले रामचन्द्र यादवले हार व्यहोर्नु परेको र महतोमा एकजना मात्र मेयरको उम्मेदवार भएकोले शिबशंकर महतोलाई सहज भएको स्थानीय मतदाताहरुको विश्लेषण रहेको छ।

नेपाली कांग्रेसको केही महतो समुदायको मत पनि एमालेमा परेको वडागत मत विवरणबाट देखिएको छ । जनमत पार्टीले वा नेकपा एकीकृत समाजवादी मध्ये कसैले महतो उम्मेदवार उठाएको भए एमालेले जीत्न सक्ने थिएन भन्ने देखिएको छ।

नेपाली कांग्रेसको जिल्ला अधिवेशन भर्खरै भएकोले दुई खेमाबीच अधिवेशनमा भएको रिसिइवीलाई धनगढीमाई, सिरहा र कल्याणपुर नगरपालिकामा भित्र भित्रै प्रयोग गरिएकोले पनि तीने नगरपालिका कांग्रेसले हारेको शेरवहादुर पक्षीय कांग्रेसका नेताहरुले विश्लेषण गरिरहेका छन्।

जवकी लहान नगरपालिकाको हकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पद्म नारायण चौधरीले त्यस्तो हुन दिएनन् । उनको अथक प्रयास र सबै रुष्ट नेता र कार्यकर्ताहरुलाई सँगै निर्वाचन अभियानमा हिडाएर महेश चौधरीलाई लहानको मेयरमा विजयी बनाउन सफल भएका थिए।

लहान नगरपालिकाका मेयरका उम्मेदवार प्रतिनिधिसभा क्षेत्र १ कांग्रेस सभापति महेश प्रसाद चौधरीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मुनी साहभन्दा ८१३९ मत बढी ल्याएर विजयी भएका छन्। चौधरीले २० हजार १०५ मत पाउँदा मुनी साहले ११ हजार ९६६ मत पाएका छन्।

लहानमा उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामचलितर महतो विजयी भएका छन्। महतोले १२ हजार ५६९ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सरियार चौधरीले ११ हजार ७९० मत ल्याइन । एमालेका मेयर पदका उम्मेदवार मुनी साह र उपमेयर पदका उम्मेदवार सरियार चौधरी ०७४ को स्थानीय तह निर्वाचनमा विजयी भएका थिए ।

लहानमा नेपाली कांग्रेसका महेश चौधरीको जीतले पद्म नारायण चौधरीलाई आगामी दिनमा हुने संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. १ बाट कांग्रेसको एकमात्र सर्वसम्मत उम्मेदवार हुने देखिएको छ । यसले उनको जीत समेत सुनिश्चित गर्छ भन्ने क्षेत्रबासीहरुले अनुमान लगाइरहेका छन् ।

कर्जन्हा नगरपालिका जुन पहिले माओवादीको हातमा थियो अहिले एमालेको पकडमा पुगेको छ। दलितको जनसंख्या बढी भएको उक्त क्षेत्रमा पहिले माओवादीबाट गंगा पासमान मेयर भएका थिए तर अहिले भोला प्रसाद पोखरेलले ३८३९ मत ल्याएर मेयर भएका छन्।

दोस्रोमा जनता समाजवादी पार्टीका केशबप्रसाद साहले ३२२३ मत प्राप्त गरेका छन् । जबकी उपमेयरमा भने जनता समाजवादी पार्टीका लक्ष्मीकुमारी श्रेष्ठले ३४८७ मत ल्याएर विजयी भएकी छिन् ।

लक्ष्मीपुरपतारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका चतुरानन्द ठाकुर र उपाध्यक्षमा अमरकला यादव निर्वाचित भएका छन्। ठाकुरले ३८४५ मत र यादवले ३८४८ मत ल्याएका छन्। अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवनारायण साहले ३५८५ मत ल्याएका छन्।

सुखीपुर नगरपालिकामा नेकपा एमालेका रामऔतार यादवले ४ हजार ४ सय ३४ मत ल्याएर पुनः विजयी भएका छन्। उपमेयरमा विजयी भएकी एमालेकै रेणुदेवी साहले ४ हजार ६ सय १४ मत प्राप्त गरेकी छिन् ।

मिर्चैया नगरपालिकामा पुरानै मेयर श्रवण कुमार यादवले ५२३३ मत ल्याएर माओवादीबाट विजय हासिल गरेका छन् । दोस्रोमा नेपाली कांग्रेसका सिताराम यादवले ४७१० मत प्राप्त गरेका थिए। उपमेयरमा माओवादी केन्द्रकी जीवचीदेवीले ५०७० मत प्राप्त गरेकी छिन भने नेपाली कांग्रेसकी अनिता साहले ५०५६ मत प्राप्त गरेकी छिन् । १४ मतले नेपाली कांग्रेस उपमेयरमा हारेको देखिन्छ।

कल्याणपुर नगरपालिकामा एमालेका रामपुकार साह तेलीले ५८८३ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम दोस्रोमा नेपाली कांग्रेसका धर्मनाथ साहले ५३५३ मत ल्याएका छन्। सखुवानन्कारकट्टी गाउँ पालिकामा नेकपा एकीकृत समाजवादीका केदारथान यादव पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रेसका शत्रुधन प्रसाद साह २६ मत अन्तरले पछि पारेका हुन्।

अर्नमा गाउँ पालिका अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेद्वार अशोक कुमार यादव विजयी भएका छन्। नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका चन्देश्वर मण्डललाई ४ सय २३ मतले पछि पार्दै जसपाका जिल्ला अध्यक्ष समेत रहेका यादव निर्वाचत भएका हुन्।

विष्णुपुर गाउँ पालिकाको प्रमुख भने नेकपा एमालेले हात पारेको छ । निवर्तमान गापा अध्यक्ष जागरेश्वर यादवलाई ४१ मतले पछि पार्दै नेकपा एमालेका सत्य नारायण यादव गाउँ पालिका अध्यक्ष निर्वाचित भएका छन् । यहाँ पहिले जसपाका जागेश्वर यादवले जीतेका थिए।

उता नेपाली कांग्रेसका नेता चित्रलेखा यादवको भाइ विश्वमोहन प्रसाद यादव यस अघि नेपाली कांग्रेसबाट नवराजपुर गाउँपालिकाको अध्यक्षमा जीतेको भएपनि यसपटक हारेका छन् । गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएका छन्।

बरियारपट्टी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी नेपालवाट सन्तोष कुमार महतो पुनः निर्वाचित भएका छन्। उनी ३ सय १० मत अन्तरले विजयी भएका छन् । औरही गाउँपालिकामा अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका शिवजी यादव र उपाध्यक्षमा रेणुकुमारी यादव निर्वाचित भएका छन् । २०७४ को निर्वाचनमा यहाँ माओवादी केन्द्रबाट सिदार्थ यादव निर्वाचित भएका थिए।

भगवानपुर गाउँपालिकामा उग्रनारायण यादव नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका छन्। उनले ४३०२ मत प्राप्त गरेका छन् भने दोस्रोमा जनता समाजवादी पार्टीका जीवछ प्रसाद यादवले ३२३९ मत प्राप्त गरेका छन्।

गोलबजार नगरपालिकामा एमालेका श्यामकुमार श्रेष्ठ ७९०८मत ल्याएका विजयी भएका छन्।  माओवादी केन्द्रको देबनाथ साह ५७०१ मत पाए।

मधेस प्रति एमालेका केन्द्रीय नेताहरुले नरम नीति अवलम्बन गर्नु र पूर्वमन्त्री लिलानाथ श्रेष्ठले संगठन विस्तारका लागि गरेका अथक प्रयासका कारणले एमाले सिरहा जिल्लामा पहिलो पार्टी हुन सफल भएको हो ।

यो पटक सिरहामा सबैभन्दा बढी घाटा नेकपा माओवादी केन्द्रलाई लागेको छ। उसले महेन्द्र राजमार्गमा रहेको धनगढीमाई र कर्जन्हा नगरपालिका गुमाउनु परेको छ । सिरहाको राजनीतिमा विशेष गरेर लहान नगरपालिकाको जीतलाई नेपाली कांग्रेसले ऐतिहासिक जीतको रुपमा लिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *