बाराका मतगणना सकियो, कसले कहाँ जिते ?

डिसी नेपाल
१० जेठ २०७९ १६:१८

बारा।बाराका सबै १६ वटै स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले पाँच, कांग्रेसले चार, लोसपाले तीन, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ ।

बाराको कलैया उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विनोद प्रसाद साह २४ हजार १ ७४ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् भने निजगढ नगरपालिकामा एमालेका सुरथ पुरीले ९ हजार ४७५ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् ।

बाराको सबैभन्दा कान्छो नगरपालिका पचरौतामा नेकपा एमालेको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका जलन्धर सिंह ४ हजार ७३२ मत ल्याएर विजयी भएका छन् । यस्तै परवानीपुर गाउँपालिकामा एमालेका रामक्षत्रीप्रसाद कुर्मीले २ हजार ९१७ र प्रसौनी गाउँपालिका एमालेकै विनोदप्रसाद जैसवालले ४ हजार ४८८ मत प्राप्त गरी गाउँपालिकाको प्रमुखमा विजयी भएका हुन ।

२०७४ मा संघीय समाजवादी फोरम, नेपालले पचरौतामा जित हासिल गरेको थियो । यस्तै २०७४ को निर्वाचनमा दुई पालिकामा मात्रै जित हासिल गरेको एमालेले बारामा यो पटक पाँच पालिकामा जित हासिल गरेको हो । यसअघि एमालेले जित हासिल गरेको कोल्हवी र जीतपुरसिमरा उपमहानगरपालिका दुबै पालिका भने गुमाएको छ ।

कोल्हवी नगरपालिकामा नेपाली कांग्रेसका रामप्रसाद चौधरीले ९ हजार १०५ मत प्राप्त गरी विजयी भएका छन् भने कांग्रसकै राजेशप्रसाद यादवले ५ हजार ३५१ मत ल्याई सुवर्ण गाउँपालिकामा विजयी भएका छन् । महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) दोहोरिएका छन् । निवर्तमान मेयरसमेत रहेका यादवले ८ हजार ६७० मत ल्याएर विजयी भएका छन ।

आदर्श कोत्वाल गाउँपालिकाकमा समेत कांग्रेसले जित हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जवाहर साह विजयी भएका छन् । उनले ४ हजार ८७ मत प्राप्त गरी विजयी भएका हुन । २०७४ को निर्वाचनमा ६ पालिकामा जित हासिल गरेको कांग्रेसले यो पटक चार पालिकामा जित हासिल गरेको हो । यसअघि का‌ंग्रेसले जित हासिल गरेको कलैया उपमहानगरपालिसहित निजगढ, सिम्रौनगढ, बारागढी र करैयामाई भने गुमाएको छ ।

जनता समाजवादी पार्टी, नेपालले दुई गाउँपालिकामा जित हात पारेको छ । जसपाले देवताल गाउँपालिकाको अध्यक्षमा उदयप्रसाद यादवले ४ हजार १७६ मत र करैयामाई गाउँपालिकामा शम्भुप्रसाद यादवले ५ हजार ५९८ मतले विजयी हासिल गरेका छन् । यसअघि करैयामाईमा नेपाली का‌ंग्रेसले र देवतालमा राष्टिय जनता पार्टी, नेपालले जित हासिल गरेको थियो ।

विश्रामपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका जुल्फकार अलि भुटोले ४ हजार ३१७ मत र सिम्रौनगढ नगरपालिकामा किशोरीप्रसाद कलवारले ११ हजार १३७ मत सहित विजयी भएका छन् ।

बारागढी गाउँपालिकामा समेत लोसपाले चुनाव जितेको छ । पालिका अध्यक्षमा लोसपाका अशोककुमार जयसवालले ५ हजार ४२६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका छन् । यसअघि २०७४ को निर्वाचनमा सिम्रौनगढ र बारागढीमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो ।

जितपुरसिमरा उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का राजन पौडेलले १८ हजार ७४३ मतसहित जित हात पारेका छन् । उनको जितसँगै बारामा माओवादी केन्द्रले खाता खोलेको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्रले कुनै पनि पालिकाको प्रमुखमा जित हासिल गर्न सकेको थिएन ।

बारामा विवेकशील साझा पार्टीले खाता खोलेको छ । फेटा गाउँपालिकामा विवेकशीलका रुस्तम अन्सारीले ४ हजार ४८५ प्राप्तगरी विजयी भएका हुन् । अन्सारीलाई नेपाली कांग्रेसले टिकट नदिएपछि उनी विवेकशील प्रवेश गरी निर्वाचनमा होमिएका थिए । यसअघि फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम, नेपालले जित हात पारेको थियो । जिल्लाको १६ स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *