स्थानीय तहबाटै समाजवादको आधार तयार गर्ने रणनीतिमा माओवादी केन्द्र

डिसी नेपाल
१८ जेठ २०७९ ७:२७

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्थानीय तहबाटै समाजवादको आधार तयार गर्ने रणनीतिअनुसार अगाडि बढेको छ । स्थानीय तहमा पार्टीमा निर्वाचित जनप्रतिनिधिलाई परिचालन गरेर पार्टीको रणनीति पूरा गर्ने तयारी माओवादीले गरेको छ ।

पार्टीको रणनीति, उद्देश्य, घोषणापत्र कार्यान्वयनलगायतका विषयमा माओवादीले प्रशिक्षण दिएर आफ्ना जनप्रतिनिधिलाई पालिकामा परिचालन गर्न लागेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कार्यालय सचिव श्रीराम ढकालले पार्टीको तर्फबाट विजयी प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको बताए ।

बुधबार र बिहीबार काठमाडौंको कमलपोखरीस्थित पुरानो कुमारी हलमा प्रशिक्षण दिइँदै छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशिक्षण कार्यक्रमको उद्घाट तथा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रशिक्षणमा पालिकाका प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षका साथै केही स्वन्तत्र रूपमा निर्वाचित उम्मेदवार गरी २ सय ६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी हुनेछन् ।

प्रशिक्षणमा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् ।

यस्तै, पार्टीका शीर्ष नेता एवं संघीयताविज्ञ, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ । अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ ।

उद्घाटनसत्रमै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिनेछन् । उद्घाटन सत्रपछि पहिलो दिन ‘स्थानीय सरकारको कानुनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’ विषयमा पूर्वमहान्याधिवक्ता मुक्ति प्रधानले प्रशिक्षण दिनेछन् ।

‘स्थानीय तहमा स्वास्थ्य र शिक्षा’ विषयमा पार्टी स्कुल विभाग प्रमुख एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेल, ‘संघीयता र स्थानीय सरकार’ विषयमा स्थानीय तहका विज्ञ डा. खिमलाल देवकोटा, ‘स्थानीय तह र सामाजिक न्याय’ विषयमा पार्टीको स्थानीय तह विभागका प्रमुख उर्मिला अर्याल र ‘स्थानीय सरकार र सुशासन’ विषयमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालले प्रशिक्षण दिने कार्यक्रम छ ।

दोस्रो दिन अर्थमन्त्री जनार्दन शर्माले ‘आर्थिक वर्ष २०७९÷८० को सरकारको नीति तथा कार्यक्रम र बजेट,’ राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले ‘स्थानीय तहको नीति, योजना र कार्यक्रम,’ पूर्वमन्त्री एवं पार्टीको श्रम, अर्थ तथा योजना विभागका प्रमुख वर्षमान पुनले ‘स्थानीय अर्थतन्त्रको निर्माण र नेपाली विशेषताको समाजवाद,’ चार्टर्ड एकाउन्टेन्ट चन्द्रकान्त भण्डारीले ‘स्थानीय तहको लेखा प्रणाली’’ प्रशिक्षण दिनेछन् ।

‘स्थानीय तहको बजेट निर्माण’ विषयमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, ‘स्थानीय तहको विद्यालय शिक्षण सिकाइ’ विषयमा सुलभ बुढाथोकी, ‘स्थानीय तहमा विज्ञान प्रविधिको प्रयोग’ विषयमा पार्टीको विज्ञान तथा प्रविधि विभागका प्रमुख एवं पूर्वमन्त्री गणेश साह, ‘स्थानीय तहमा सूचना प्रविधि’ विषयमा डा. शैलेन्द्र गिरी र ‘स्थानीय तहमा वन, वातावरण र विपद् व्यवस्थापन’ सम्बन्धमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले प्रशिक्षण दिने कार्यक्रम छ ।

अघिल्लो कार्यकालमा उत्कृष्ठ काम गरेका प्रत्येक प्रदेशबाट एक÷एक स्थानीय तहका प्रमुखले अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ । प्रदेश नम्बर १ को थुलुङ दुधकोसी गाउँपालिकाका अध्यक्ष असिम राई, मधेसको बाग्मती नगरपालिकाका प्रमुख भरत थापा, बाग्मती प्रदेशको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, गण्डकीको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, लुम्बिनीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, कर्णालीको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसी र सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले आआफ्नो अनुभव प्रस्तुत गर्नेछन् ।

गत वर्ष सुशासनको क्षेत्रमा सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिका र लुम्बिनी प्रदेशको धुर्कोट गाउँपालिका शीर्ष पाँचभित्र परेका थिए । माओवादीले यसअघि २०७४ सालको निर्वाचनमा विजयी जनप्रतिनिधिलाई पनि तीन दिन पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षण गरेको थियो । यसपटक विगतभन्दा परिमार्जित ढंगबाट प्रशिक्षणको आयोजना गरिएको गरिएको छ । विज्ञ प्रशिक्षकले कार्यपत्रका साथमा प्रस्तुति दिनेछन् । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *