दिल्लीदेखि पंजाबसम्म डनहरूको ग्याङवारको रणमैदान बन्ने त्रास

डिसी नेपाल
१९ जेठ २०७९ १५:३१
12.2k
Shares

काठमाडौं । सिद्धु मुसेवालाको हत्यापछि अहिले पञ्जाब र छेउछाउका राज्यमा ठूलो गिरोह युद्धको आवाज सुनिएको छ । लरेन्स बिश्नोई गिरोह पुरानो साथीको बदलाको आगोमा जलिरहेको थियो, त्यसैले उनीहरुले मुसेवालाको निर्मम हत्या गरेका थिए ।

अब नीरज बवाना गिरोहका सदस्यहरू सिद्धुको बदला लिने मौका मात्र खोजिरहेका छैनन्, खुला धम्की पनि दिइरहेका छन् । पञ्जाबको भूमि अहिले ‘ग्याङ्ग्स अफ बदलापुर’जस्तै देखिन्छ, जहाँ बदलाको आगोले कसलाई जलाउँछ भन्ने थाहा हुँदैन।

गायक सिद्धु मुसेवालाको हत्या कसले गर्‍यो, गोली हानेको हत्यारा को थियो, कहाँबाट आए र कहाँ गए ? यी प्रश्नको जवाफ खोज्न प्रहरीले काम गरिरहेको छ । केही संदिग्धको नाम प्रहरीको अगाडि छ । कतिपय पक्राउ पनि परेका छन् तर मुख्य अपराधी अझै पक्राऊ परेका छैनन् ।

मुसेवालामाथि मे २९ मा आक्रमण भएको थियो । कालो महिन्द्रा थार गाडीमा सिद्धु मुसेवाला अचेत अवस्थामा रहेको भिजुअल सामाजिक सञ्जाल, समाचार च्यानलहरूमा भाइरल भइरहेको थियो। कारको साथसाथै सिद्धु आफैं पनि गोलीले क्षतविक्षत थिए । यसैबीच लरेन्स बिश्नोई गिरोहले फेसबुकमार्फत हत्याको जिम्मेवारी लिएको छ ।

फेसबुकमा सेयर गरिएको पोष्टमा लरेन्स बिश्नोई र उनको क्यानेडियन पार्टनर गोल्डी बरारको नाम पनि थियो । यहाँ ‘बदला’ पनि पहिलो पटक उल्लेख गरिएको थियो ।

लरेन्स बिश्नोई गिरोहले पोस्टमा विक्की मिड्डुखेडाको बदला लिन सिद्धु मुसेवालाको हत्या गरेको लेखेको छ । विक्की मिड्डुखेडाको २०२१ सालमा बम्बिहा गिरोहले हत्या गरेको खुलासा भयो । बिश्नोई गिरोहले यो हत्यामा सिद्धुले सहयोग गरेको र हत्यारालाई लुकाएको आरोप लगाएको छ ।

बम्बिहा गिरोहका लिडर मोगा जिल्लाका दविंदर सिंह सिद्धु थिए। २०१६ मा २६ वर्षीय दविन्दर बम्बिहालाई पञ्जाब पुलिसले भटिंडा जिल्लाको रामपुरा नजिकै गिल कलानमा मुठभेडमा मारेको थियो।

त्यसपछि दविन्दरको गिरोहको कमाण्ड गौरव उर्फ ​​लक्की पटियालले लिएका थिए । उनी चण्डीगढका बासिन्दा हुन् । जबरजस्ती असुली, ज्यान मार्ने प्रयास जस्ता मुद्दामा उनी जेल परे तर अर्मेनिया भागेर अहिले त्यहाँबाट गिरोह चलाइरहेका छन् ।

सिद्धुको मृत्युपछि विभिन्न कुराहरु बाहिर आइरहेका थिए कि नीरज बवाना गिरोहको बयान पनि आयो । नीरज बवाना र बम्बिहा गिरोह मिलेर काम गर्छन् । नीरज बवाना गिरोहको तर्फबाट पञ्जाबी गायक मनकिरत औलखलाई सिद्धुको हत्याको जिम्मेवार ठहर्‍याइएको छ । ‘दुई दिनमा नतिजा देखिने’ पनि भनिएको छ । अर्थात् सिद्धुको बदला दुई दिनमा लिइनेछ ।

गुण्डा नाइके भूपी राणाको पनि हत्याकाण्डमा प्रवेश भएको छ । यो गिरोह नीरज बवाना समूहसँग मिलेर सञ्चालन गरिरहेको भए पनि छुट्टै धम्की दिएको छ । मूसेवालाका हत्याराको जानकारी दिनेलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने लेखिएको छ । ग्याङ्गस्टरले सबैको लेखाजोखा हुने र सिद्धुको बदला छिट्टै लिने लेखेका छन् ।

अर्कोतर्फ प्रहरीले यो घटनालाई छिट्टै समाधान गर्ने प्रयास गरिरहेको छ । अहिले प्रहरीले हत्याकाण्डपछि भाइरल भइरहेका भिडियोको सहारा लिन थालेको छ । अहिले सम्म बाहिर आएका सबै भिडियोले प्रहरीलाई अँध्यारोमा उज्यालो देखाएर हत्यारासम्म पुग्ने अनुमान गरिएको छ जसको अनुहार हेर्न अहिले पञ्जाब पुलिस बेचैन छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *