मंगलबार करिब १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा लगियो

डिसी नेपाल
२४ जेठ २०७९ २२:१४

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकाबाट १५७ ट्रक अर्थात करिब १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा लगिएको छ । जेठ १० र ११ गते बञ्चरे डाँडास्थित साइटमा फोहोर व्यवस्थापन गरिएको थियो । जेठको १२, १३ र १४ गतेसम्म सिसडोलमा अन्तिम विसर्जन गरिएको थियो । त्यसपछि स्थानीय अवरोधकाकारण फोहोर ढुवानी रोकिएको थियो ।

फोहोर ढुवानी रोकिएपछि महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले सहरी विकास मन्त्री, बागमती प्रदेशका मुख्य मन्त्रीसहित क्षेत्रगत अधिकारी तथा सरोकारवालासँग भेट गरेर समस्या समाधानका लागि छलफल गरेका थिए ।

यसै क्रममा जेठ २३ गते सहरी विकास मन्त्रालयमा बसेको बैठकले त्रिपक्षीय प्रतिबद्धता गरेर फोहोर व्यवस्थापन खोल्ने निर्णय गरेको थियो । सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोलको रोहबरमा त्रिपक्षीय प्रतिबद्धतामा हस्ताक्षर भएको थियो ।

हस्ताक्षरमा बञ्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाका तर्फबाट निर्देशक रविन्द्र वोहोरा, काठमाडौँ महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र धुनिबेँसी नगरपालिकाकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले हस्ताक्षर गरेका छन् ।

यसैका आधारमा आजदेखि फोहोर ढुवानी थालिएको हो । ढुवानीका क्रममा स्थानीयहरुले अवरोध कायमै राखेपछि १४ जना व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर साँझ ५ बजे छोडेको थियो । आफूले उठाएका मागहरु सम्बोधन नभएको जनाउँदै उनीहरुले सडक अवरोध गर्न खोजेका थिए ।

हामीले मध्यान्न १२ बजेदेखि फोहोर ढुवानी सुरु गरेका थियौँ । ल्याण्डफिल साइट इन्जार्च ईञ्जिनियर सरकारदीप श्रेष्ठ भन्छन्, ‘साँझ ५ बजेसम्म पनि ढुवानी कार्य जारी नै थियो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *