अमेरिकाद्वारा विवाह समारोहमा आक्रमणपछि चार जनाको मृत्यु: इरानद्वारा जवाफी कारबाही
बीबीसी। अमेरिकी सेनाले मंगलबार इरानविरुद्ध पुनः आक्रमण सुरु गरेको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले जनाएको छ।
सेन्टकमका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कल्प्स (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजरानीमाथि हालै गर्न खोजेको आक्रमणको जवाफ स्वरूप अमेरिकाले यो कारबाही गरेको हो।
दक्षिण इरानको सिरिकमा विवाह समारोह भइरहेको एक घरमा अमेरिकी क्षेप्यास्त्रको छर्रा लाग्दा एक सानो बच्चासहित चार जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको इरानी रेड क्रिसेन्टले जनाएको छ।
यसको जवाफमा इरानले इराक र जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा आक्रमण गरेको त्यहाँका स्थानीय सरकारी सञ्चारमाध्यम तथा जोर्डनी सशस्त्र बलले जनाएका छन्। यसबाहेक कुवेत र बहराइनमा पनि आक्रमण भएको खबर प्राप्त भएको छ।
आईआरजीसीले अमेरिकालाई यो आक्रमणप्रति ‘पछुतो’ हुने चेतावनी दिएको छ। इरानको अर्ध-सरकारी तस्निम समाचार संस्थाका अनुसार सिरिक आक्रमणको बदला स्वरूप बुधबार बिहानै इरानले जोर्डनको अकाबामा रहेको अमेरिकी म्यारिन बेस (नौसेना आधार) मा ब्यालिस्टिक क्षेप्यास्त्रहरूको वर्षा गराएको थियो।
जोर्डनी सशस्त्र बलले १३ वटा ब्यालिस्टिक क्षेप्यास्त्रहरूलाई आकाशमै रोकेको (इन्टरसेप्ट गरेको) र जसमध्ये १० वटालाई नष्ट गरिएको तथा तीन वटा दुर्गम क्षेत्रमा खसेको जनाएको छ। इरानको यस आक्रमणबाट कुनै मानवीय क्षति वा चोटपटक नभएको बताइएको छ।
उक्त सञ्चार माध्यमका अनुसार त्यहाँको राष्ट्रिय सुरक्षा केन्द्रले अकाबा र मफ्राक क्षेत्रका बासिन्दाहरूलाई आकाशबाट खस्न सक्ने भग्नावशेषहरूबाट जोगिन चेतावनी जारी गरेको थियो, जसलाई पछि हटाइएको छ।
यसैबिच, कुवेती सेनाले पनि बुधबार बिहानै इरानी क्षेप्यास्त्र आक्रमणको जवाफमा आफ्ना हवाई रक्षा प्रणालीहरू सक्रिय पारिएको जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानको आक्रमणपछि बहराइनमा पनि धेरै ठुला विस्फोटका आवाजहरू सुनिएका थिए।
मङ्गलबार दिउँसो अमेरिकी आक्रमणको घोषणा गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि इरानले जवाफी कारबाही गरेमा त्योभन्दा “अझ कडा र उच्च स्तरको” प्रहार गरिने चेतावनी दिएका थिए।
यो आक्रमण यसै हप्ताको सुरुमा लारक द्विपस्थित दुई वटा रकेट लन्चरमा अमेरिकाले गरेको आक्रमणपछिको नयाँ शृङ्खला हो, जुन गत जुलाईको अन्त्यपछि इरानमाथि भएको पहिलो ज्ञात अमेरिकी प्रहार थियो। इरानले त्यसको जवाफमा जोर्डनका हवाई अखडामा क्षेप्यास्त्र र युएईमा ड्रोन आक्रमण गरेको थियो।
सेन्टकमका अनुसार अमेरिकी सेनाले १२:०० इटी (१६:०० जिएमटी) मा आईआरजीसीका लक्ष्यहरूमा प्रहार सुरु गरी बुधबार बिहानसम्ममा आक्रमण सम्पन्न गरेको थियो।
इरानी सरकारी सञ्चारमाध्यमले सिरिक आक्रमणमा ज्यान गुमाउने चार जनामा एक चार वर्षका बालक पनि रहेको जनाएका छन्। अन्य समाचारहरूका अनुसार चाबहार, कोनारक र जिरोफ्टको एउटा विमानस्थलमा प्रक्षेपास्त्रहरू खसेका थिए भने कस्मे द्विप र बन्दर अब्बासमा विस्फोटको आवाज सुनिएको थियो।
सेन्टकमका प्रवक्ता नौसेना क्याप्टेन टिम हकिन्सले बीबीसीसँग कुरा गर्दै सिरिकमा भएको आक्रमणबारे इरानी सञ्चारमाध्यममा आएका खबरहरूबारे आफूहरू जानकार रहेको बताए।
उनले थपे, “आईआरजीसीको विपरीत अमेरिकी सेनाले सर्वसाधारणलाई कहिल्यै निशाना बनाउँदैन।”
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेका थिए, जसको जवाफमा इरानले इजरायल, अमेरिकी बेसहरू र खाडीका सहयोगी राष्ट्रहरूमाथि आक्रमण गर्दै हर्मुज जलडमरूमध्यमा समुद्री यातायात पूर्ण रूपमा बन्द गराएको थियो।
दुई देशबिच युद्धविराम लम्ब्याउन गत जुन महिनामा ‘सहमति पत्र’ (मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ) नामक अमेरिकी-इरान सम्झौतामा हस्ताक्षर भएको थियो।
तथापि, उक्त सम्झौताको अवधि समाप्त भएपछि पुनः शत्रुता र द्वन्द्व बढेको छ। दुवै अमेरिका र इरानले जहाजरानीमाथि गोलीबारी गरेका छन्, जहाँ तेहरानले आफ्नो अनुमतिबिना जलडमरूमध्य पार गर्न खोज्ने जहाजहरूलाई निशाना बनाएको छ भने अमेरिकाले इरानी बन्दरगाहहरूमा जलसेनाद्वारा नाकाबन्दी गरिरहेको छ।
वासिङ्टनले अगस्ट २४ मा तेहरानलाई थप अलगथ्याग पार्ने र उसका सहयोगीहरूमाथि दोस्रो तहको प्रतिबन्ध विस्तार गर्ने उद्देश्यले नयाँ प्रतिबन्ध अभियानको घोषणा समेत गरेको थियो।
जि२० अर्थमन्त्रीहरूको बैठकमा बोल्दै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथिको प्रतिबन्धका विषयमा धेरै अमेरिकी सहयोगीहरूले “जे आवश्यक पर्छ त्यो गर्न तयार रहेको” बताएको जानकारी दिए।
इरानी अधिकारीहरू र सरकारी सञ्चारमाध्यमले भने यस अभियानलाई पुराना अमेरिकी आर्थिक कदमहरूकै निरन्तरता भन्दै खारेज गरेका छन्, जुन उनीहरूका अनुसार भर्खरैको सैन्य असफलतापछि आएको हो।
तथापि, मङ्गलबार इरानी राष्ट्रपति मसउद पेजेस्कियानलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले यदि अमेरिका सम्झौता पालनामा फर्किएमा इरानले पनि सोही अनुरूप गर्ने बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment