भारतमा बल्न थाल्यो नेपालको बिजुली

डिसी नेपाल
२७ जेठ २०७९ ६:४६

काठमाडौं। गत शनिबारबाट भारतलाई बिजुली निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाको बिजुली पनि निर्यात गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर श्रेष्ठले बिहीबार रातिबाट ५२.४ मेगावाट उत्पादन क्षमताको लिखु–४ जलविद्युत् आयोजनाको बिजुली भारत बेच्न थालिएको बताए । ग्रिन भेन्चर्स लिमिटेडको लगानी रहेको लिखु–४ आयोजनाको बत्ती आजबाट भारतीय जनताले उपभोग गरिसकेको हुने जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले वर्षा मौसममा भारतसँग सम्झौता भए अनुरूप ३ सय ६४ मेगावाट बिजुली निर्यात गर्ने भएको छ । यसअघि गत शनिबार नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ‘ए’ विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात गर्न थालिएको थियो ।

प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)मा गत बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको थियो । कालीगण्डकी र लिखुको पनि सुरु भएसँगै प्राधिकरणले ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात हुनेछ । प्राधिकरणका अनुसार शुक्रबारसम्ममा कालीगण्डकी ‘ए’को १ सय ४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट, देवीघाटको १४.५ र लिखु ४ को ५२ मेगावाट विद्युत् भारत निर्यात हुनेछ ।

वर्षातसँगै नदीनालामा पानीको वहाव बढेर विद्युतगृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई भारत निर्यात गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार निर्यात भएका विद्युत्को औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको छ । ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) रहेको छ ।

नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३ सय ६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ । भारतले ६ वटा आयोजना गरी ३ सय ६४ मेगावाट निर्यात गर्न अनुमति दिएको थियो । प्राधिकरणले शुक्रबार ३ सय १२ मेगावाट बिजुली निर्यात गरेपछि दैनिक करिब ७ करोड रुपैयाँ आम्दानी हुनेछ ।

दैनिक रूपमा औसतमा ७ करोड रुपैयाँको बिजुली निर्यात भइरहेको जानकारी कार्यकारी निर्देशक घिसिङले ट्वीटरबाटसमेत गराएका छन् ।

प्राधिकरणका प्रवक्ता भट्टराईका अनुसार प्राधिकरणले बिहान र बेलुकी अत्यधिक खपत हुने पिक समयमा कम र पिक बेगरका समयमा धेरै परिमाण निर्यात गर्दै आएको भट्टराईले बताए ।

अहिले नेपालको पिकआवरमा १ हजार ५ सय ५० मेगावाट बिजुली खपत हुने गरेको छ । यसबाहेकका बिजुली भारततर्फ निर्यात थालिएको हो । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *