टुप्पो बिनाको बाँस पाईने ‘बुढा सुब्बा’ मन्दिर, मनोकामना हुन्छ पुरा {भिडियो}

डिसी नेपाल
३१ जेठ २०७९ १२:४१

काठमाडौं । पूर्वी नेपालमा अवस्थित बुढा सुब्वा मन्दिर पूर्वका स्थानियहरुका लागि निकै लोकप्रिय मन्दिर हो । बुढा सुब्बा मन्दिर सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको बिजयपुरमा रहेको छ। धरान बिजयपुरको बूढासुब्बा मन्दिर सेउती खोलाको डिल रहेको छ ।

नेपालका विभिन्न स्थानमा बसोबास गर्ने मानिसहरु आफ्नो मनोकामना माग्ने गर्दछन् । बुढा सुब्बाले मागेको मनोकामना पुरा गरिदिने जनविश्वास रहेको छ । मनोकामना प्राप्त भएमा पशुबलि चढाउने चलन छ । विशेष गरी शनिवारका दिन कुखुरा, सुँगुर आदि बली दिएर पूजा अर्चना गर्न देश विदेशका भक्तजनहरूको घुईंचो लाग्ने गर्दछ।

उक्त मन्दिरको अर्को विशेषता भनेको यहाँ टुप्पो नभएका बाँसहरू पाइन्छन् । जसलाई बूढासुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता रहेको छ । यस बूढा सुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्काहरु छन् । जसलाई बूढासुब्बाको रूपमा पूजा अर्चना गर्ने चलन छ। त्यी ढिस्का नै बुढासुब्बाको समाधीस्थल हो।

यो मन्दिरको उत्पत्तिका बारेमा विभिन्न किम्बदन्तिहरु सुन्न पाइन्छ । बुढा सुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले सिकार खल्ने गर्थे । एकदिन भूलवश उनीहरूले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लाग्यो । त्यस दिनदेखि बाँसको टुप्पो बढेन र त्यसपछि विजयपुरमा कहिल्यै काग आएनन् । त्यसका कारण बुढासुब्बाले सिकार खेल्न छोडे र आफ्नो गुलेलीलाई माटोमा पुरिदिए । त्यसपछि बुढा सुब्बाले त्यहीँ ध्यान गरे । जहाँ अहिले बुढा सुब्बाको मन्दिर छ । उनकी बहिनी सुब्बिनीको मन्दिर छेउ मै बनाइएको छ ।

बुढा सुब्बालाई हिन्दुहरुले किराँतेश्वरको रूपमा पनि पुज्ने गरेका छन्। भगवान शिव र देवी पार्वतीलाई हाङ्साम र युमामाङको भेषमा किराँत राजा र रानी भइ शिकार गर्ने क्रममा विजयपुर आइपुगेका थिए । जहाँ उनीहरूले आफ्ना धनुहरू रखेर तपस्या गरे। त्यस बेला कलियुगको आरम्भ भएको उनीहरूले बुझे र अन्तरध्यान भए । धनुबाट टुप्पा बिनाका बाँस अंकुरित भए भन्ने किम्बदन्तिहरु पनि सुन्न पाइन्छ ।

मन्दिर आसपासमा भएका बाँसमा पहिला–पहिला नाम लेख्ने चलन थियो । बाँसमा नाम लेख्दा प्रेमी प्रेमिकाको माया प्रेम सफल हुन्छ भन्ने किम्बदन्ति रहेकाले मन्दिरमा दर्शन गर्न आउने युवायुवतीले बाँसमा नाम लेखेर मात्र फर्कन्थे ।
तर, बाँसमा नाम लेख्ने क्रम बढेसँगै बाँस मर्न थालेपछि बाँसलाई संक्षरण गर्न नाम लेख्न मन्दिर समितिले रोक लगाएको छ । अहिले बुढा सुब्बा मन्दिरमा पुजा गरी बाँसमा धागो बाँध्रने चलन छ । यसरी धागो बाध्दा प्रेमी प्रेमिकाहरूको प्रेम सफल हुन्छ भन्ने चलन छ ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *