चिहान खनेर निकालिनेछ पाकिस्तानी सांसद आमिर लियाकतको शव, देशैभरी मच्चियो ठूलो बबाल

डिसी नेपाल
६ असार २०७९ १३:३३

काठमाडौं । पाकिस्तानका चर्चित टिभी होस्ट तथा सांसद अमिर लियाकतको जीवन जति विवादमा परेको थियो, उनको मृत्युको पनि त्यति नै चर्चामा छ । लियाकतको मृत्युलाई लिएर लगातार विभिन्न किसिमका अड्कलबाजी भइरहेको छ । अब पाकिस्तानी अदालतले आमिर लियाकतको शवको पोस्टमार्टम गर्न आदेश दिएको छ । यसका लागि लियाकतको शवलाई चिहानबाट निकालिनेछ ।

अब्दुल अहद नामका व्यक्तिको निवेदनमा गत साता न्यायिक मजिस्ट्रेट (पूर्व)ले यस्तो आदेश दिएको हो । मृत्युको कारण पत्ता लगाउन आमिर लियाकतको शवको पोस्टमार्टम गरिनुपर्ने निवेदनमा भनिएको छ । यसपछि अदालतले आमिर लियाकतको पोस्टमार्टमको आदेश दिएको थियो । अदालतको यो फैसलाको चौतर्फी आलोचना भइरहेको छ । धेरै पाकिस्तानी सेलिब्रेटीहरूले यसको विरोध गरिरहेका छन्।

पाकिस्तानी अभिनेत्री उषाना शाह पनि आमिर लियाकतको शवको पोस्टमार्टमको विरोध गर्नेमा परेकी छन् । उषानाले ट्वीट गर्दै भनिन् कि मृत शरीरलाई चिहानबाट बाहिर निकाल्दा उनका बच्चाहरूलाई थप पीडा हुनेछ। उनीहरुले पहिले नै धेरै दुःख भोगिसकेका छन् ।

पाकिस्तानकी वरिष्ठ अभिनेत्री बुशरा अन्सारीले पनि अदालतको आदेशको विरोध गरेकी छिन् । उनले एक भिडियो पोस्ट गर्दै लियाकतको मृत्युको लागि सोशल मिडिया ट्रोलिङलाई दोष दिएकी छिन् ।

अन्सारीले ट्वीट गर्दै भनेकी छिन्, ‘सोशल मिडिया सबैभन्दा ठूलो शक्ति हो।’ अदालतको आदेशको बारेमा बताउँदै उनले संसार छाडेर गएकालाई थप अपमानित गर्न नहुने बताइन् । उनले भनिन् ‘अमिर लियाकतका छोराछोरी धेरै मोर्चामा लडिरहेका छन् र उनीहरूलाई थप यातना दिनु हुँदैन।’

पाकिस्तानका टिभी होस्ट वासिम बादामीले पनि आमिर लियाकतको पोस्टमार्टम गर्न अदालतको आदेशप्रति चिन्ता व्यक्त गरेका छन् । मजिस्ट्रेटको आदेशपछि लियाकतको पोस्टमार्टम बिना नै गाडिएको बदामीले ट्वीट गरेका छन् । उनका छोराछोरीहरूलाई थप पीडा नदिन उनले अनुरोध गरेका छन् ।

आमिर लियाकतकी पहिलो पत्नी सैयदा बुशरा इकबाल सुरुदेखि नै उनको पोस्टमार्टमको विरोधमा थिइन् तर अहिले अदालतको फैसलापछि उनी अन्योलमा छिन् । बुशरा इकबालले ट्वीट गर्दै दिवंगत नेता लियाकतको पोस्टमार्टमबारे आफ्ना फ्यानसँग राय मागेकी छिन् । उनीहरुले एकसाथ ट्विट गर्दै लियाकतको शवलाई पोस्टमार्टमका लागि चिहानबाट निकाल्ने विषयमा प्रश्न उठाएका छन् ।

उनले लियाकतको पोस्टमार्टमको माग गरिरहेका मानिसहरूलाई पनि सोधेकी छिन्, ‘आमिर कठिन अवस्थाबाट गुज्रिरहेको बेला उनीहरू कहाँ थिए?’ बुशरा इकबालले भनिन् कि शरिया कानूनले शवको विच्छेदन गर्न अनुमति दिँदैन।

आमिर लियाकतको ९ जुनमा निधन भएको हो । उनको मृत्युको कारण कार्डियक अरेस्ट भएको बताइएको छ । उनको निधनमा सिने जगतदेखि राजनीतिज्ञसम्म शोक व्यक्त गरेका छन् । प्रहरीले उनको शङ्कास्पद मृत्यु भएको भन्दै पोस्टमार्टम गराउने कुरा गरेको भए पनि परिवारले मानेन ।

लियाकत आफ्नो तीन असफल विवाह र सम्बन्धविच्छेदका कारण लगातार चर्चामा रहे। ४९ वर्षीय लियाकतकी तेस्रो श्रीमती दानिया शाह (१८)ले यही वर्ष उनीमाथि गम्भीर आरोप लगाएर सम्बन्धविच्छेद मागेकी थिइन् । यो मुद्दा अदालतमा छ। दुवैले एकअर्कालाई निरन्तर आरोप-प्रत्यारोप गरिरहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *