फिल्म प्रमोसनमा कलाकारको स्टण्ट

डिसी नेपाल
८ असार २०७९ ९:३०

मुम्बई। फिल्म निर्माण भएपछि त्यसको प्रमोसन गर्नु कलाकारको धर्म नै हो। तर, त्यसको कसरी प्रमोसन गर्ने भन्ने कुरा कलाकारको शैलीमा भरपर्छ। बलिउडमा यस्ता केही कलाकार छन्, जसले आफू अभिनित फिल्मको प्रमोसन गर्न ‘स्टण्ट’को सहारा लिए।

अभिनेता वरुण धवन र कियारा आडवाणी नयाँ फिल्म ‘जुग—जुग जियो’को प्रमोसनमा व्यस्त छन्। हालैमात्र यो जोडीले एक होटलमा कसैको विवाहको ‘प्री—वेडिङ’ कार्यक्रममा फिल्मको गीत ‘नच पन्जाबन’मा नृत्य नै गरे। यो एक फिल्म प्रमोसनको एक शैली नै थियो । वरुण र कियारा एक उदाहरण मात्र हुन्। बलिउडका अन्य केही कलाकार छन्, जसले फिल्म प्रमोसनका लागि अनेक ‘स्टण्ट’ गर्न पछि परेनन्।

अभिनेत्री आलिया भट्टले फिल्म ‘टू स्टेट्स’को रिलिज अघि नै आफ्नो इन्गेजमेन्ट हुने घोषणा गरिन्। यो घोषणाले उनका कैयौं फ्यान दुःखी भए। तर, जब उनीहरुले आलियाको यो निर्णय केवल फिल्म प्रमोसनका लागि मात्र भएको थाहा पाएपछि उनीहरुले राहतको महशुस गरे।

अभिननेता शाहरुख खानले फिल्म ‘जब हेरी मेट सेजल’का लागि यस्तै अनौठो तरिका अपनाए। उनले अहमदाबादमा रहेका सेजल नामका कैयौं युवतीसँग भेटघाट गरे। जुन बेला उनलाई भेट्न करिब ७ हजार सेजल नामका युवती नै आएका थिए।

रणवीर सिंहका हरेक काम अन्तरंगी शैलीको हुन्छ। त्यसकारण पनि उनको प्रमोसन तरिका विशेष हुन्छ। केही वर्षअघि रिलिज फिल्म ‘सिम्बा’मा उनले यस्तै शैली अपनाए। उनले फिल्म हलको छतमा चढेर फिल्मको गीतमा नृत्य नै गरे।

अभिनेत्री विद्या वालनको फिल्म ‘कहानी’ निकै लोकप्रिय भयो । यो फिल्मको प्रमोसनका लागि विद्याले अपनाएको प्रमोसन शैली निकै रोचक थियो। फिल्ममा उनी एक गर्भवती महिला छिन् र आफ्नो पतिलाई खोज्नका लागि उनी निस्कन्छिन्। फिल्मको प्रमोसनका लागि उनी हरेक स्थानमा नक्कली गर्भवती भएर देखिइन्। संयोग नै मान्नुपर्छ, उनको यो तरिकाले काम गर्यो र फिल्म हिट साबित भयो।

आमिर खानको फिल्म ‘गजनी’बाट उनको हेयरस्टाइल निकै लोकप्रिय भयो। फिल्मको रिलिजअघि अभिनेताले नाई बनेर मानिसहरुको कपाल नै काटे। आफ्नो लुकबाट प्रभावित भएर उनले कैयौं फ्यानलाई गजनी लुक नै बनाइदिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *