प्रशासकीय अधिकृतविरुद्ध एक करोड ६६ लाखको भ्रष्टाचार मुद्दा

डिसी नेपाल
१० असार २०७९ १६:४१
100
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जितपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत शिवराज सेढाईविरुद्ध एक करोड ६६ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सेढाईले न्यू पाथिभरा सप्लायर्स, हेटौडासँगको सम्झौताका शर्त पूरा नहुँदासमेत उपमहानगरपालिकाका कर्मचारीको संलग्नतामा बालगङ्गा खोलाको गिट्टी, बालुवा उत्खनन एवम् बिक्री वितरण कार्य गर्न दिएको आरोप लागेको हो।

आर्थिक वर्ष २०७६\७७ मा ठेकेदारको तर्फबाट कबोल बमोजिम अभिवृद्धि कर रकम ४६ लाख ४४ हजार ५१० रुपियाँ दाखिला गरेको नदेखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ। यसैगरी, उपमहानगरपालिका-१६ मा अवस्थित पसाहा खोलाको गिट्टी, बालुवा उत्खननका लागि ओम सप्लायर्सलाई ठेक्का दिएर गैरकानुनी कार्य गरेको आरोप सेढाईमाथि लागेको छ।

सोही आर्थिक वर्षमा सम्झौता अनुरुपको बाँकी दुई किस्ताको रकम ९९ लाख ९९ हजार ९९९ रुपियाँ हालसम्म दाखिला हुन नसक्दा उपमहानगरको राजस्व चुहावट भएको देखिएको आयोगको ठहर छ।

सम्झौता रकमको मूल्य अभिवृद्धि कर ३८ लाख ९९ हजार ९९९ रकमसहित सो खोलामा एक करोड ३८ लाख ९९ हजार ९९८ रुपियाँ पसाह खोला सम्झौतामा भ्रष्टाचार भएको आयोगले जनाएको छ।

आरोपित सेढाईविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (४) बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *