नेपालले अमेरिकाको एसपीपी साझेदारी अस्वीकार गरेपछि चीनले के भन्यो ?

डिसी नेपाल
११ असार २०७९ १४:०५

काठमाडौं । नेपालले अमेरिकाको सैन्य तथा सुरक्षा सम्बन्धी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहकार्य गर्न अस्वीकार गरेको छ । अमेरिकालाई साथ नदिने नेपालको निर्णयबाट चीन निकै खुसी भएको छ र नेपाल सरकारको निर्णयलाई स्वागत गरेको बताएको छ । चीनले नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई समर्थन गर्ने क्रमलाई निरन्तरता दिने बताएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबारको दैनिक ब्रिफिङमा मित्रवत र नजिकको छिमेकी तथा रणनीतिक सहयोगी साझेदारका रूपमा चीनले नेपाल सरकारको एसपीपीलाई अगाडि नबढाउने निर्णयको कदर गरेको बताए ।

उनले एसपीपी नेपालको राष्ट्रिय हित, लामो समयदेखि चल्दै आएको असंलग्नता र सन्तुलित परराष्ट्र नीति विरोधी भएको बताए । ‘नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डता कायम राख्न चीनले सहयोग गरिरहने छ’ उनले भने ‘हाम्रो देशले पनि स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रति नेपालको प्रतिबद्धतालाई समर्थन गर्नेछ। क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धिको रक्षाका लागि नेपालसँग मिलेर काम गर्न चीन तयार छ ।’

अमेरिकासँगको एसपीपी साझेदारीको देशभित्रै चौतर्फी विरोध भएकाले नेपालले अमेरिकासँग अघि बढ्न नसक्ने जनाएको छ । चीनको बढ्दो प्रभावलाई रोक्न अमेरिकाले इन्डो–प्यासिफिकका देशहरूमा आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेको छ । उसले यी देशहरूसँग सुरक्षा सम्झौता गरेर यस क्षेत्रमा आफ्नो सैन्य पकड बलियो बनाउन चाहन्छ। नेपालसँगको एसपीपी सहयोग त्यसैको एउटा हिस्सा थियो। नेपालले अमेरिकासँग यो साझेदारी गर्न अस्वीकार गरेको छ, जुन अमेरिकाका लागि ठूलो धक्का हो ।

एसपीपी अमेरिकी नेशनल गार्ड ब्यूरोको प्रशासन अन्तर्गत पर्छ। यो १९९० मा पूर्व सोभियत समूहका देशहरूलाई अमेरिकी राज्यहरूमा नेशनल गार्डसँग जोड्न स्थापना गरिएको थियो। अमेरिकाले यो साझेदारीमा ९३ देशलाई समावेश गरेको छ । अमेरिकी दूतावासका अनुसार एसपीपी अन्तर्गत अमेरिकाको नेशनल गार्ड र अन्य देशका संस्थाहरूले एकअर्कालाई सहयोग गर्छन्। नेशनल गार्डले विपद् आइपर्दा राहत र उद्धार कार्य गर्दछ। तर, एसपीपीका बारेमा यो पनि भनिएको छ कि यसमा सैन्य सहयोग पनि समावेश छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *