पश्चिमी देशको प्रतिबन्धको धज्जी उडाउँदै भारतले बेच्दैछ रूसी तेल ! यस्तो छ पूरा खेल

डिसी नेपाल
१५ असार २०७९ १२:४४
5.3k
Shares

काठमाडौं । रुस-युक्रेन युद्धका कारण विश्वभर तेल संकट गहिरिँदै गएको बीचमा यस महिनाको सुरुमा गुजरातको वाडिनार बन्दरगाहमा एससीएफ प्रिमोर्य तेल ट्याङ्कर आइपुग्यो । द गार्डियनको रिपोर्टका अनुसार सन् २००९ मा बनेको यो ८४ हजार टनको तेल ट्याङ्कर रूसको उस्त-लुगाबाट यहाँ आएको थियो।

रुसमाथि लगाइएको प्रतिबन्धबीच भारतले रुसी कच्चा तेलको आयात बढाएको छ । योसँगै रुसको यो तेल ट्याङ्कर वाडिनार पुगेको छ । २०१७ सम्म एस्सार आयलको वाडिनार तेल रिफाइनरीमा पूर्ण नियन्त्रण थियो, तर त्यसपछि रूसी सरकारी स्वामित्वको तेल कम्पनी रोजनेफ्ट र कमोडिटी व्यापारी ट्राफिग्राको कन्सोर्टियमले यसमा २४.५ प्रतिशत हिस्सेदारी लिएको थियो।

भारतले रुसको कच्चा तेल ३० प्रतिशतको ठूलो छुटमा खरिद गरिरहेको छ, जसले अमेरिका, बेलायत र युरोपले रुसमाथि प्रतिबन्ध लगाएर आर्थिक रूपमा नोक्सान पुर्याउने प्रयासलाई विफल बनाएको छ । पश्चिमी देशहरूको यी प्रतिबन्धका बीच रुसले मे महिनामा २० अर्ब डलरको तेल निर्यात गरेको छ। तर अहिले रुसको तेल भारत हुँदै युरोपमा ढुवानी हुने चिन्ता बढेको छ ।

युक्रेनमा युद्ध हुनुअघि भारतमा रुसी तेलको आयात उच्च ढुवानी लागतका कारण निकै कम थियो तर यी प्रतिबन्धपछि भारतमा रुसी तेलको आयात बढेको छ । वडिनार रिफाइनरीको स्वामित्वमा रहेको नायरा इनर्जी लिमिटेडले रुसी तेल निर्यातमा प्रतिबन्ध लगाउनुअघि मार्चमा रुसी तेल किनेको थियो। रोयटर्सका अनुसार नायरा इनर्जी लिमिटेडले ट्राफिगाराबाट करिब १८ लाख ब्यारेल तेल खरिद गरेको थियो ।

भारतले रुसबाट किन्ने र निकासी गरिरहेको कच्चा तेलको कतिपय हिस्सा युरोपका फिलिंग स्टेशनहरूमा जाने देखिन्छ। तर, एससीएफ प्रिमोर्य तेल ट्याङ्करले ल्याएको रुसी कच्चा तेल कहाँ प्रयोग गर्ने भन्ने अझै स्पष्ट भइसकेको छैन। वाडिनार तेल प्रशोधन केन्द्रका सञ्चालकले रुसी तेल युरोप पठाउने वा नपठाउनेबारे कुनै जानकारी दिएनन् ।

मे महिनामा भारतले रुसबाट दैनिक आठ लाख ब्यारेल कच्चा तेल आयात गरेको थियो । मूल्याङ्कन एजेन्सी फिचले अनुमान गरेको छ कि यो आयात चाँडै दैनिक एक मिलियन ब्यारेलमा पुग्न सक्छ।

भारत, चीन र युएईले रुसी कच्चा तेल आयात बढाएका छन् । यस्तो अवस्थामा युरोपियन युनियनका देशहरूमा रुसको कच्चा तेलको आयात मे महिनामा १८ प्रतिशतले घटेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साता ब्रिक्स सम्मेलनमा रुसको तेल निर्यात चीन र भारतमा तीव्र गतिमा बढेको बताए ।

अनुसन्धान र परामर्श संस्था वुड म्याकेन्जीका रिफाइनिङ, केमिकल र तेल बजारका उपाध्यक्ष एलेन गेल्डरका अनुसार भारतको १ अर्ब ४० करोड जनसंख्या हुनु रुसबाट सस्तो तेल किन्नुको कारण हो तर यो खतरनाक राजनीतिक खेल हो। भारत पातलो डोरीमा हिँडिरहेको छ ।

सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लीन एयरले गुजरातको रिलायन्स इन्डस्ट्रिजको जामनगर रिफाइनरीले मे महिनामा रुसबाट २७ प्रतिशत तेल आयात गरेको बताएको छ, जुन अप्रिलमा ५ प्रतिशतको तुलनामा धेरै बढी हो ।

जामनगरबाट करिब २० प्रतिशत कार्गो सुएज नगरका लागि प्रस्थान गरेकोले ती जहाजहरू युरोप वा अमेरिका जाँदै गरेको उनको भनाइ छ । जहाजहरू फ्रान्स, इटाली र बेलायत गए, तर यी जहाजहरू रूसी तेलले भरिएको दाबीको कुनै प्रमाण छैन।

बेलायतले यस वर्षको अन्त्यसम्ममा रुसी तेलमाथिको आफ्नो निर्भरता पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ।

भारत हुँदै युरोप जाने रुसी कच्चा तेल जहाजलाई ट्र्याक गर्न गाह्रो भएको उद्योग स्रोतहरू बताउँछन्। स्रोतका अनुसार विभिन्न देशबाट कच्चा तेलको ढुवानी बन्दरगाहमा आइपुग्दा यी जहाजहरू मिसिन्छन् । यस्तो अवस्थामा रुसी तेल बोकेका ट्याङ्करहरू पत्ता लगाउन गाह्रो छ।

रुसको तेल कुन रुटबाट आएको हो, त्यसलाई लुकाउनका लागि यस्ता थुप्रै ट्रिकहरू रहेको स्रोतले बताएको छ । रुसी जहाजबाट अन्य जहाजमा तेल लोड हुँदै आएको देखाउँदै जहाजबाट अर्को जहाजमा तेल ओसारपसार हुने घटना बढेको छ ।

युक्रेन युद्धपछि रुसी तेल ट्याङ्करहरू ट्र्याकिङ रडारबाट गायब भइरहेका रिपोर्टहरू पनि आएका छन्। रुसी तेल ट्याङ्करहरू कता जाँदैछन् भन्ने थाहा नपरोस् भनेर जानाजानी यो काम भइरहेको आशंका गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *